यी मापदण्ड पालना गरेर बस्न सकिन्छ घरकै आइसोलेसनमा
काठमाडौं । कोरोनाको सङ्क्रमण दिनदिनै बढ्दै गएको छ । कोरोनाको उपचारका लागि तोकिएका अस्पतालमा श्यया पाउनसमेत मुस्किल भइसकेको छ । सङ्क्रमणको मात्रा अझै कति बढ्ने हो, त्यसको कुनै ठेगान छैन । सरकारले आफ्नोतर्फबाट सकेसम्म सङ्क्रमण फैलन नपाओस् भनेर केही सावधानीका उपाय भने अपनाएको छ । नागरिकले नै स्वास्थ्य मापदण्ड पूरा नगर्दा तथा व्यक्तिगत दूरी कायम नराख्दा सङ्क्रमणको जोखिम बढेर गएको छ । भीडभाड नगर्न, मास्क प्रयोग गर्न तथा काम नभएका व्यक्तिलाई घर बाहिर ननिस्कन आग्रह गरिए पनि नागरिकले बढी मात्रामा हेलचेक्रयाइँ गरिरहेका छन् । यसले जोखिम बढाएको छ । सङ्क्रमणको मात्रा बढ्दै जाने, अस्पतालमा श्ययासमेत नपाउने अवस्थालाई ध्यानमा दिएर सरकारले घरमै आइसोलेसनमा बस्न चाहनेलाई केही मापदण्ड तयार पारेको छ । सरकारले विश्व स्वास्थ्य सङ्गठन, अन्तर्राष्ट्रिय मापदण्डका आधारमा तयार पारेको मापदण्डलाई व्यवहारिकरूपमा कार्यान्वयन गरेको खण्डमा कोरोना सङ्क्रमित भएका व्यक्ति अस्पतालमा नै जानुपर्छ भन्ने अवस्था पनि नआउन सक्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार कुनै सङ्क्रमित व्यक्ति आफू घरमै आइसोलेसनमा बस्न चाहेको खण्डमा उसले र सम्बन्धित परिवारका सदस्यले समेत पालन गर्नुपर्ने मापदण्ड तयार पारिएको हो । शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा गौतमले भने, “सामान्यभन्दा सामान्य सावधानी अपनाउँदासमेत सङ्क्रमति व्यक्ति छिट्टै निको हुन सक्छ, तर सरकारले तय गरेको मापदण्डलाई अक्षरशः कार्यान्वयन भने गर्नुपर्छ ।” उनका अनुसार होम–आइसोलेसनमा रहँदा सङ्क्रमितले पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्ने, उपचार अवधिभरि आवश्यक पर्ने सामानहरु परिवारका सदस्यसँग मगाउने, पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलो खानेकुरा खानु पर्नेछ । सङ्क्रमित व्यक्तिले प्रयोग गरेका भाँडावर्तन सुरक्षितरूपमा सफा गरेर राम्रोसँग सुकेपछि मात्रै पुनः प्रयोग गर्नु पर्नेछ । यस्तै स्नान घर वा शौचालयको छुट्टै व्यवस्था मिलाउनु पर्नेछ । राजधानी तथा शहरी क्षेत्रमा बस्नेहरुको एउटै स्नान घर वा शौचालय हुने तथा सामूहिक रुपमा प्रयोग गर्नुपर्ने अवस्था रहेकाले सङ्क्रमित भएका व्यक्तिले प्रयोग गरेपछि राम्रोसँग निसङ्क्रमति गरेर मात्रै अरुले प्रयोग गर्नुपर्ने छ । सरकारले तय गरेको मापदण्डअनुसार दाँत माझ्ने ब्रसलगायतका सामान बेसिनबाहेक अन्य स्थानमा छुट्टै राखेर प्रयोग गर्नुपर्नेछ । किनकि त्यस्ता स्थानमा सङ्क्रमण फैलने जोखिम बढी रहन्छ । यस्तै घरका ढोका, टेबललगायत धेरै व्यक्तिले चलाउने सम्भावना रहेका सामानमा समेत सङ्क्रमणको जोखिम बढी रहने गर्दछ । त्यस्ता सामान चलाउँदा वा छोइसकेपछि राम्रोसँग हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नुपर्ने मन्त्रालयले तयार पारेको मापदण्डमा उल्लेख छ । सरकारले तय गरेको मापदण्डअनुसार भाँडा र कपडा धुँदा पञ्जा लगाएर धुने र राम्रोसँग सुकाएर मात्र प्रयोग गर्नु पर्नेछ । कोरोना सङ्क्रमित भएका व्यक्तिको हेरचाहमा रहने व्यक्तिले अनिवार्य मेडिकल मास्क प्रयोग गर्नु पर्नेछ । यस्तै दीर्घरोगी, ६० वर्षमाथिका ज्येष्ठ नागरिक, सुत्केरी तथा बालबालिका सङ्क्रमणको बढी जोखिममा रहन्छन् । उनीहरुलाई सङ्क्रमित व्यक्तिभन्दा टाढा राख्नुपर्ने विषयलाई मापदण्डले समेटेको छ । सङ्क्रमित व्यक्तिको दैनिक तीनपटक ज्वरो जाँच गरी रेकर्ड राख्नुपर्नेछ । रेकर्ड गरिएको ज्वरोको जानकारी भने सम्बन्धित स्वास्थ्यकर्मीलाई गराउनुपर्ने प्रवक्ता डा गौतमले उल्लेख गरे । त्यस्तै सङ्क्रमितलाई स्वास–प्रस्वासमा कठिनाइ भएमा, छाती दुखेमा, ओठ अनुहार निलो भएमा, होस हराएमा तथा अन्य कुनै जटिल अवस्था देखिएमा तत्काल स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने प्रवक्ता डा गौमतको भनाइ छ । मन्त्रालयले सङ्क्रमितलाई मात्रै नभई स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले समेत पालन गर्नुपर्ने केही मापदण्ड तय गरेको छ । स्वास्थ्यकर्मीले हरेक दिन कम्तीमा दुईपटक सङ्क्रमितको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने र आवश्यक परामर्श गर्नु पर्नेछ । हरेक स्थानीय तहले ५० सङ्क्रमितका लागि एक स्वास्थ्यकर्मीको व्यवस्था गर्नैपर्ने अनिवार्य व्यवस्था गरेको छ । स्वास्थ्यकर्मीले एक बिरामी हेरेवापत दिनको रु २०० का दरले पारिश्रमिक पाउने व्यवस्था गरिएको छ । ती मापदण्डलाई पूर्णरूपमा पालना गरिएको अवस्थामा सङ्क्रमितलाई घरैमा सुरक्षितरूपमा उपचार गर्न सकिने र कोरोनाको नियन्त्रण गर्न सकिने सरकारको विश्वास छ । जटिल स्वास्थ्य समस्या देखिएको खण्डमा भने नजिकको अस्पतालमा लैजान सकिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
विदेशमा कोरोनाबाट १ सय ९१ नेपालीको निधन
काठमाडाैं । कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म विदेशमा १९१ जना नेपालीको अकालमा निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप दुई जना नेपालीकोे निधन भएको थियो । शनिबार साँझसम्म नेपालसहित विभिन्न देशमा २६४ नेपालीको कोरोनाकै कारणले निधन भैसकेको छ । सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेबियामा रहेका नेपालीमा थप सङ्क्रमण देखिएको छ । गत साताको तुलनामा मध्यपूर्वका देशहरु कतार, युएई, साउदी अरबलगायतमा कोरोना सङ्क्रमणको दरमा कमी आएको छ । यस साता अष्ट्रेलिया रहेका १४६ नेपालीमा नयाँ सङ्क्रमण थपिएको समितिले जनाएको छ । समितिका अनुसार गत साता लग्जेम्वर्गमा रहेका नेपाली सङ्क्रमितहरु सङ्क्रमणमुक्त हुँदै गएका छन् । विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये १६ देशमा रहेका नेपालीको कोरोनाका कारणले निधन भएको छ । कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, भारत, नेपाल, साउथअफ्रिकालगायतका देशमा रहेका नेपालीको निधन थियो । हालसम्म नेपालसहित विदेशमा रहेका ५५ हजार ९२५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । ती मध्ये ४७ हजार ४३७ कोरोना सङ्क्रमणबाट मुक्त भएका जनाइएको छ ।
सरकारी चिकित्सक संघको अध्यक्षमा डा. रविन खड्का विजयी
काठमाडौं । सरकारी चिकित्सक संघमा डा. रविन खड्का विजयी भएका छन्। डा. खड्का संघको शनिबार भएको विधुतिय मतदानमा ४८० मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी डा. समाज गौतमले भने २३७ मत ल्याएका छन्। संघको वरिष्ठ उपाध्यक्षमा ४३९ मत सहित डा. विजय थापा विजयी भएका छन् भने संघकाे उपाध्यक्षमा ४६६ मत सहित डा. सुशील मोहन भट्टराई विजयी भएका छन् । यस्तै महासचिवमा डा. किर्तिपाल सुवेदी ४०९ मत ल्याएर विजयी भएका छन् भने सचिवमा ४२८ मत सहित डा. रोशन भगत चौरासिया विजयी भएका छन् । कोषाध्यक्षमा सबैभन्दा बढी ५०३ मत प्राप्त गर्दै डा. सुधा साही विजयी भएकी छिन् । यस्तै संघको सदस्यमा डा. गौरव शाह, डा. हेमा जोशी, डा. कपिल गौतम, डा. कुशल खनाल, डा. प्रकाश भट्टराई, डा. विजय कुमार मेहता, डा. अर्चना केसी, डा. विजय गुरुङ र डा. सुशन भट्टराई निर्वाचित भएका छन्। उनीहरुको कार्यकाल दुई वर्षको हुनेछ।