बिहिबार नेपालमा थप ५ सय २५ जनामा काेराेना पुष्टि, ४ जनाकाे मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ५ सय २५ जनामा कोराेना भाइरस देखिएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २४ हजार ९ सय ५७ जना पुगेकाे छ । हाल क्वारेन्टिनमा १४ हजार ७ सय ६९ जना रहेका छन् । आजसम्म कोरोना मुक्त हुनेको संख्या १६ हजार ८ सय ३७ पुगेको छ भने थप ४ जनाकाे मृत्यु पुष्टि भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।
स्क्रब टाइफसबाट बैतडीमा एक बालिकाको मुत्यु
बैतडी । स्क्रब टाइफस रोगबाट बैतडीकी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकी १४ वर्षीया पुजा जोशी रहेकी छन् । पूजाको बुधबार उपचारका लागि कोहलपुर मेडिकल कलेज लग्दैगर्दा बाटोमै मृत्यु भएको हो । स्क्रब टाइफसबाट सङ्क्रमित बालिकालाई बैतडीबाट डडेल्धुरा अस्पताल हुँदै मङ्गलबार धनगढीको सारथी अस्पताल पु¥याइएको थियो । त्यहाँ पनि उपचार हुन नसकेपछि थप उपचारका लागि कोहलपुर लग्दैगर्दा बुधबार अपराह्न चिसापानीमा बालिकाको मृत्यु भएको पूजाका फुपाजु शङ्करदत्त भट्टले बताए । मृतक पूजाका बुबा रोजगारीको सिलसिलामा विदेश रहेका छन् । उनलाई उपचारका लागि आमा र हजुरबुबाले धनगढी पु¥याएका थिए । रासस
राष्ट्र बैंकका कर्मचारीमा काेराेना देखिएपछि मुद्रा व्यवस्थापन विभाग सिल
काठमाडाैं । नेपाल राष्ट्र बैंकका एक कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ । राष्ट्र बैंकको प्रमुख कार्यालय बालुवाटारमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुषटि भएकाे हाे । उनी मुद्रा व्यवस्थापन विभागमा कार्यरत कर्मचारी हुन् । कर्मचारीमा कोरोना देखिएपछि बालुवाटारस्थित उनको विभागमा सिल गरिएको छ ।