बिहिबार उपत्यकामा थप २०० जनामा कोरोना पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा थप २ सय जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् । संक्रमितहरु काठमाडौंको १७४, ललितपुरको १८ र भक्तपुरको ८ जना रहेको गौतमले बताए । योसँगै काठमाडौंमा २१८४, ललितपुरमा ३६७ र भक्तपुरमा १८० संक्रमित पुष्टि भएका छन् । यो सँगै काठमाडौं उपत्यकाको कुल संक्रमितको संख्या २६९९ पुगेको छ। आज देशभर ७ सय ७ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ ।

आज नेपालमा ७०७ जना कोरोना संक्रमित थपिए, ६ जनाकाे मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ७ सय ७ जनामा कोराेना भाइरस देखिएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २९ हजार ६ सय ४५ जना पुगेकाे छ । हाल क्वारेन्टिनमा ११ हजार ७ सय ६८ जना रहेका छन् भने आजसम्म ५ लाख ६६ हजार २ सय २० जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आजसम्म कोरोना मुक्त हुनेको संख्या १७ हजार ९ सय ६४ पुगेको छ भने आज थप ६ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या १२६ पुगेकाे छ ।

प्रयोग भएको मास्क जथाभावी फाल्दा संक्रमणकाे जोखिम बढ्दो

चितवन । कोरोना भाइरस सङ्क्रमण बढेसँगै चितवनमा मास्क लगाउनेको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ । मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृतिले सङ्क्रमणको जोखिम पनि त्यतिकै बढाएको छ । यहाँका सडक, सडकपेटी र गल्लीमा प्रयोग भएको मास्क जथाभावी फालिएको देखिन्छ । यसरी मास्कको उचित प्रयोग र बिसर्जन हुन नसक्दा सङ्क्रमण फैलिन सक्ने विज्ञहरू बताउँछन् । मास्कको भित्रि भागमा थुक, ¥याल, सिगान र वाहिरी भागमा अरुको थुकको छिटा परेको हुन सक्छ । कोरोना सङ्क्रमणसंगै अनिवार्य मास्क लगाउन सरकारले सबैमा अनुरोध गरेको छ । आफू र अरुलाई रोग सर्न र लाग्न रोक्नका लागि मास्क अनिवार्य गरिएको हो । आम नागरिकले मास्कको उचित प्रयोग र बिसर्जन नगर्दा यसको जोखिम बढ्न सक्ने देखिएको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले मास्क प्रयोग र बिसर्जन राम्रो नभएको बताए । मास्क प्रयोगको बानी परिनसकेकाले नाकदेखि चिउँडोसम्म टपक्क ढाकेर मास्क लगाउनुपर्नेमा त्यस्तो कम देखिने गरेको उनको भनाइ छ । उनले भने “कतिपयले बोल्दा मास्क खोल्ने गर्दछन् । त्यो झन खतरा हो ।” बोल्दा मुखवाट निस्किएको थुकको छिटा अरुलाई परेमा रोग सर्न सक्छ । अप्ठ्यारो शव्द उच्चारण गर्दा मानिसको मुखबाट थुकको छिटा निस्कन सक्ने प्रमुख तिवारीको भनाइ छ । मास्कको डोरी कानमा अड्याएपछि हातले नछुन बिज्ञहरुको सुझाव छ । मास्कको वाहिरी भाग अझ बढि सङ्क्रमित हुन सक्ने विज्ञहरु बताउँछन् । अन्य सङ्क्रमित मानिससंग कुराकानी भएमा ती व्यक्तिको थुक आफ्नो मास्कको वाहिरी भागमा आएर बसेको हुन सक्ने प्रमुख तिवारीले बताए । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. महेन्द्र अग्रहरीले मास्क जति बढी प्रयोग ग¥यो, त्यतिनै सङ्क्रमण हुने सम्भावना बढी हुन्छ भने । यसको उचित व्यवस्थापन हुन नसकेमा सङ्क्रमण फैलन सक्ने उनको भनाइ छ । “मास्क खोल्दा र लगाउनुअघि हात पूर्ण रुपमा सेनिटाइज (निर्मलीकरण) वा साबुनपानीले धुनुपर्दछ”, डा अग्रहरीले भने, “मास्क खोल्दा कान पछाडीको डोरी समातेर कानबाट निकालेर वाहिरको भागलाई भित्र पारेर गोलो बनाएर विर्को लगाएको डष्टविनमा हाल्नुपर्दछ ।” डष्टविन नभएमा प्लाष्टिकमा राम्रो गरी पोको पारेर घरबाट डष्टविन भएको ठाउँमा विसर्जन गर्न उनले सुझाब दिए । मास्कमा किटाणु ३/४ दिन सम्म रहने उनको भनाइ छ । नेपाल चिकित्सक सङ्घ चितवनका सह सचिब समेत रहेका डा अग्रहरी मास्क जथाभावी फाल्दा सङ्क्रमण फैलन सक्ने सम्भावना बढी हुन्छ भने । खुल्ला ठाउँमा फालेको मास्क कुकुर, बिरालो लगायतले एक ठाउँबाट अर्को ठाउँमा पु¥याउने, पानीमा वगेर सङ्क्रमण फैलन सक्ने र यसबाट जलचरहरु प्रभावित हुन सक्ने उनको भनाइ छ । मास्कमा धातु र प्लाष्टिक हुने हुँदा ती बस्तुमा किटाणु लामो समयसम्म बस्छ । उनका अनुसार ४/५ दिन सम्म किटाणु बस्न सक्ने भएकाले माटोमा पुर्ने वा जलाउने गर्नु उपयुक्त हुन्छ । माटोमा २/४ घण्टामा किटाणु नष्ट हुन्छ भने जलेर तत्काल नष्ट हुन सक्छ । अहिले मानिसले दैनिक रुपमा सर्जीकल र एन—९५ मास्क प्रयोग गर्ने गरेको पाइन्छ । सर्जीकल एक पटक प्रयोग गर्न उनको सुझाब छ । एन— ९५ मास्क भने चार वटा किनेर चार दिन विराएर प्रयोग गर्न सकिने डा अग्रहरीले बताए । उनका अनुसार यो मास्क तीनदेखि पाँच पटक लगाउन सकिन्छ । उनले आम नागरिकले मास्कको उचित प्रयोग र बिर्सजनका वारेमा गम्भीर हुन सकेमा सङ्क्रमण न्यूनीकरणमा ठूलो सहयोग पुग्ने बताए । मास्कको प्रयोग र बिसर्जनबारे व्यापक रुपमा जनचेतना फैलाउनुपर्ने आवश्यकतामाथि उनले जोड दिए ।