उपत्यकाका अस्पतालले कोराेनाका बिरामीलाई राख्नुअघि स्वास्थ्य मन्त्रालयसँग अनुमति लिनुपर्ने

काठमाडाैं । उपत्यकाका अस्पतालहरुले कोरोनाभाइरस (कोभिड-१९) का बिरामीलाई राख्नुअघि स्वास्थ्य मन्त्रालयसँग अनुमति लिनुपर्ने भएको छ। मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै उपत्यकाका अस्पतालले कोभिड-१९ का बिरामीहरुलाई राख्नुअघि अनुमति लिनपर्ने बताएकाे छ । अस्पतालहरुले मन्त्रालय अन्तर्गतकाे स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईको क्लिनिकल मेनेजमेन्ट टिमबाट अनुमति लिनुपर्ने छ । ‘अस्पतालमा कोभिड- १९ को लागि छुट्याइएका  आइसोलेसन तथा आइसयू बेडमा बिरामी भर्ना गर्नुपर्दा यस मन्त्रालयको एचओसीको क्लिनिकल मेनेजमेन्ट टिमको तपशिल बमोजिमका सम्पर्क नम्बरहरूबाट हुने सिफारिस र समन्वयमा मात्र भर्न गर्नु हुन निर्देशन गरिन्छ’, स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।  

काठमाडाैं उपत्यकामा थप २१६ जनामा कोरोना पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा थप २ सय १६ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा २ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् । संक्रमितहरु काठमाडौंको १६०, ललितपुरको ६ र भक्तपुरको ५० जना रहेको गौतमले बताए । योसँगै काठमाडौंमा २४८६, ललितपुरमा ३९८ र भक्तपुरमा २४५ संक्रमित पुष्टि भएका छन् । यो सँगै काठमाडौं उपत्यकाको कुल संक्रमितको संख्या ३०९७ पुगेको छ। आज देशभर ६ सय ३४ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ ।

शनिबार नेपालभर ६३४ जना कोरोना संक्रमित थपिए, ९ जनाकाे मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ६ सय ३४ जनामा कोराेना भाइरस देखिएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ३१ हजार १ सय १७ जना पुगेकाे छ । हाल क्वारेन्टिनमा ११ हजार ६ सय ५८ जना रहेका छन् भने आजसम्म ५ लाख ९२ हजार ४ सय १८ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आजसम्म कोरोना मुक्त हुनेको संख्या १८ हजार ३ सय ५० पुगेको छ भने आज थप ९ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या १४६ पुगेकाे छ ।