लक्षण नभएका काेराेना संक्रमित अस्पताल भर्ना हुन नपाउने
काठमाडाैं । अब लक्षण नभएका काेराेना संक्रमितहरु अस्पताल भर्ना हुन नपाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएकाे काेराेनाका बिरामीहरु अस्पतालमा नभई अथवा आईसाेलेसन सेन्टरमा बस्नुपर्ने बताएकाे छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले लक्षण नभएका काेराेना संक्रमित अस्पताल भर्ना हुँदा लक्षण भएकाहरुले बेड नपाउने भएकाले यस्ताे निर्णय गरिएकाे बताए । मन्त्रालयले काेभिड १९ का बिरामीहरुलाई राख्ने ३ स्थान छुटाएकाे छ । यस अनुसार लक्षण भएका व्यक्तिहरु अस्पताल र लक्षण नभएका व्यक्तिहरु घरमा छुटै काेठा र शाैचालय भए हाेम आईसाेलेसनमा र त्याे संम्भव नभएकाे अवस्थामा सरकारद्धारा ताेकिएकाे आईसाेलेसन सेन्टरमा राखिने छन् । हाेम आईसाेलेसनमा बसेकाहरुलाई टेलिफाेनकाे साथसाथै चिकित्सकले घरमै आएर सेवा दिनेछन् । आज मात्र नेपालमा ८१८ जनामा काेराेना पुष्टि भएकाे छ भने कुल संक्रमितकाे संख्या ३१ हजार ९ सय ३५ पुगेकाेछ जसमा १८ हजार ६ सय ३१ जना निकाे भईसकेका छन् ।
काठमाडाैं उपत्यकामा थप १६६ जनामा देखियाे कोरोना
काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ६६ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् । संक्रमितहरु काठमाडौंको १२६, ललितपुरको १२ र भक्तपुरको २८ जना रहेको गौतमले बताए । योसँगै काठमाडौंमा २६१२, ललितपुरमा ४१० र भक्तपुरमा २७३ संक्रमित पुष्टि भएका छन् । यो सँगै काठमाडौं उपत्यकाको कुल संक्रमितको संख्या ३२६३ पुगेको छ। आज देशभर ८ सय १८ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ ।
आज नेपालभर ८१८ जना कोरोना संक्रमित थपिए, ३ जनाकाे मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ८ सय १८ जनामा कोराेना भाइरस देखिएको बताए । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ३१ हजार ९ सय ३५ जना पुगेकाे छ । हाल क्वारेन्टिनमा ११ हजार ६ सय ५८ जना रहेका छन् भने आजसम्म ६ लाख ४ सय ४४ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आजसम्म कोरोना मुक्त हुनेको संख्या १८ हजार ६ सय ३१ पुगेको छ भने आज थप ३ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या १४९ पुगेकाे छ ।