इलाममा ४ करोडको लगानीमा एपोलो ट्रमा सेन्टरको संचालनमा
मङ्गलबारे । लामो समयको प्रतीक्षापछि इलाममा एपोलो ट्रमा सेन्टर सञ्चालनमा आएको छ । इलाम नगरपालिका—६ स्थित पुराना मेघबहादुर सामुदायिक अस्पताल भएको स्थानमा सो ट्रमा सेन्टर सञ्चालनमा आएको हो । करिब रु चार करोडको लगानीमा सञ्चालन आएको सो सेन्टरमा चार जना विशेषज्ञ चिकित्सकसहित ३३ जना चिकित्सक र कर्मचारी कार्यरत छन् । अत्याधुनिक सेवा सुविधासहित सञ्चालित सो सेन्टरको आज सञ्चालक डा सञ्जय शाहले एक कार्यक्रमका बीच शुभारम्भ गरे । निजी क्षेत्रबाट शुुरु भएको सो सेन्टरमा हार्डजोर्नी, स्त्री तथा प्रसूति रोग, रेडियोलोजी एवम् फिजिसियनको सेवा सञ्चालनमा आएको छ । छिट्टै नै सघन उपचार कक्ष (आइसीयु) सहितको सेवा सञ्चालन गरिने बताइएको छ । एक मात्र सरकारी अस्पताल भएको इलाममा निजी क्षेत्रबाट अत्याधुनिक सेवा सुविधासहित अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासी हर्षित भएका छन् । अस्पताल सञ्चालनमा आएपछि सामान्य ज्वरो आउँदा समेत थप उपचारका लागि जिल्ला बाहिर जानुपर्ने वाध्यताको अब अन्त्य भएको स्थानीयवासीको भनाइ छ । सामान्य उपचारका लागि पनि जिल्लावासीलाई झापा, मोरङ र सुनसरीलगायत जिल्लामा जानुपर्ने समस्याको अन्त्यका लागि यो सेन्टर सञ्चालनमा ल्याइएको अर्का सञ्चालक प्रकाश चापागाईले बताए । पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर ताप्लेजुङ र तेह्रथुमवासीलाई लक्षित गरेर अस्पताल सञ्चालनमा ल्याइएको उनले बताए । सो अवसरमा इलाम नगरपालिका— ७ का वडाध्यक्ष नरेश श्रेष्ठ, वडा नं ४ का अध्यक्ष नुतनदेव दुलाल, नेपाल रेडक्रस सोसाइटी इलामका अध्यक्ष शिव गौतम, समाजसेवी धर्म गौतम, इलाम उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष मदन श्रेष्ठ (दुर्गा)ले व्यापारभन्दा पनि सेवाको रुपमा अस्पताल सञ्चालन गर्न आग्रह गर्दै यसको निरन्तरताको शुभकामना व्यक्त गरे ।
स्याङ्जा जिल्ला अस्पताल पुनः सञ्चालनमा
वालिङ । गत मङ्गलबारदेखि सिल गरिएको स्याङ्जा जिल्ला अस्पतालको सेवा आजबाट पुनः सञ्चालन भएको छ । अस्पतालमा उपचार गरिएका जिल्ला कारागारका एक कैदीबन्दीमा कोरोना पुष्टि भएसँगै एक साताका लागि सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालको सेवा आजबाट पुनः सञ्चालन भएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट सुशील मरासिनीले बताए । “यहाँ अस्पतालमा उपचार गरिएका ६० वर्षीय एक कैदीबन्दीमा कोरोना पुष्टि भएको थियो” मेसु मरासिनीले भने, “कन्ट्याक ट्रेसिङका आधारमा जिल्ला अस्पताल स्याङ्जामा गरिएको पिसिआर परीक्षणमा ७१ जनाकै रिपोर्ट नेगेटिभ आएपछि अस्पतालको सेवा पुनः सञ्चालन गरिएको हो ।” अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीहरुलाई सेल्फ क्वारेन्टिनमा बस्ने गरी गत मङ्गलबारबाट बन्द गरिएको सेवा अस्पतालको निर्मलीकरणपछि सञ्चालन गरिएको मेसु मरासिनीले बताए । कारागारमा बस्दै आएका ६० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितका उपचारमा संलग्न सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मीहरु, अस्पतालका बिरामी, बिरामी कुरुवा, क्यान्टिन सञ्चालक, सुरक्षाकर्मी, फार्मेसीलगायतको कन्ट्याक ट्रेसिङ गरी ७१ जनाको पिसिआर परीक्षणका लागि पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।
सुदूरपश्चिममा ५३ हजारभन्दा बढीकाे कोरोना परीक्षण
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा गएको पाँच महिनामा आरडिटी—पिसिआर पद्धतिबाट कूल जनसङ्ख्याको दुई दशमलव एक प्रतिशत अर्थात् ५३ हजार ७४९ जनाको कोरोनाको नमूना जाँच गरिएको छ । जाँच गरिएका नमूनामध्ये सोमबारसम्म पाँच हजार ३३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो नमूना जाँच गरिएको सङ्ख्या ५२ हजार २१३ को झण्डै १० प्रतिशत हो । प्रदेशको कुल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ रहेको छ । पहिलो पटक गएको चैत दोस्रो हप्तामा प्रदेशमा कोरोनाका सङ्क्रमित फेला परेसँगै कोरोनाको नमूना सङ्कलन र परीक्षणको दायरा बढाउनु पर्ने माग सबैतिर उठ्दै आएको थियो । सङ्क्रमित फेला परेसँगै पिसिआर र आरडिटी पद्धतिबाट शङ्कास्पद व्यक्तिको नमूना सङ्कलन गरी जाँचको कार्य शुरु गरिएको थियो । पिसिआर पद्धतिको तुलनामा त्यति भरपर्दो नदेखिएको आरडिटी पद्धतिबाट भने एक लाख २४ हजार ६९० जनाको नमूना जाँच गरिएको छ । स्वास्थ्य सेवा निर्देशनालय दीपायलको तथ्याङ्कका अनुसार सोमबारसम्म सबैभन्दा बढी प्रदेशको राजधानी जिल्ला कैलालीमा एक हजार ५८४ सङ्क्रमित पुगेका छन् । यस्तै डोटी जिल्लामा ८५०, अछाममा ८३६ कञ्चनपुरमा ६४१, बाजुरामा ४५२, बैतडीमा ३३१, डडेलधुरामा ३१२, बझाङमा २८८ र दार्चुलामा ४४ सङ्क्रमित पुगेका छन् । प्रदेशमा सक्रिय सङ्क्रमित कुल ८३८ पुगेकोमा सबै भन्दा बढी डोटी जिल्लामा २६८ छन् । यस्तै कैलालीमा २०२, अछाममा १०५, बझाङमा १७६, बाजुरा, बैतडी र दार्चुलमा आठ/आठ तथा कञ्चनपुरमा ५० जना सक्रिय सङ्क्रमित पुगेका छन् । हालसम्म कोरोनाका कारण कैलालीमा चार, बझाङ र बाजुरामा दुई/दुई तथा अछाममा एकसमेत नौ जनाको मृत्यु भएको छ । देशका अन्य प्रदेशमा कोरोना सङ्क्रमितको मृत्यु दर बढ्दै जाँदा सुदूरपश्चिम प्रदेशमा भने मृत्यु दर पछिल्लो एक महिनायता स्थिर देखिएको छ । निर्देशनालयको तथ्याङ्कअनुसार गएको साउन १३ गतेसम्म कोरोनाका कारण मृत्यु हुने नौ जना पुगेकोमा त्यसयता कसैको मृत्यु भएको छैन । कोरोनाको सङ्क्रमण दर भने निरन्तर बढ्दो छ । सोमबारसम्म कोरोना पोजेटिभ निको भई डिस्चार्ज हुनेमा चार हजार ४०० पुगेका छन् । यो सङ्ख्या कुल सङ्क्रमितको झण्डै ८४ प्रतिशत हो । समुदायमा फैलिने जोखिम बढ्दै पछिल्ला दिनमा समुदायस्तरमा कोरोना फैलिने जोखिम बढ्न थालेसँगै रोकथामको प्रयासस्वरूप कैलाली र कञ्चनपुरमा हाल स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । पहाडका कतिपय स्थानीय तहहरू ‘सिल‘ गरिएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले कोरोना समुदायस्तरमा फैलिने जोखिम बढेको बताए । उनले भने, “हाल फाटफुटरूपमा समुदायस्तरमा कोरोना देखिन थालेको भए पनि रोग समुदायस्तरमै फैलिइसकेको छैन, ‘लोकल ट्रान्समिसन‘को रूपमा देखिएको छ ।” भारतलगायतबाट भित्रिने नागरिकलाई क्वारेन्टिनमा बसाउँदा अपनाउनुपर्ने सुरक्षाका मापदण्डको पालना गर्न गराउन भएको कमीकमजोरी, क्वारेन्टिनहरू अव्यस्थित भएको र नागरिकहरूले पनि सतर्कता तथा सजगता नअपनाउँदा समुदायस्तरमा कोरोना फैलिने जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीको भनाइ छ । भारतबाट भित्रिने नागरिकलाई हाल स्थानीय प्रशासनको समन्वयमा होम क्वारेन्टिनमा बस्ने गरी सम्बन्धितकै घर पठाउने गरिएको छ । होम क्वारेन्टिनमा बसेका व्यक्तिको स्वास्थ्यमा केही समस्या भएपछि मात्र स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न भनिएको छ । प्रदेशमा गौरीफण्टा र गड्डाचौकी लगायतका सीमा नाकाबाट नेपाल भित्रिने क्रम अझै रोखिएको छैन । पछिल्ला दिनमा लक्षणसहितका सङ्क्रमित फेला पर्न थालेको भए पनि यसको यकिन तथ्याङ्क मन्त्रालयसँग छैन । दैनिक जाँचको दायरा बढ्दै सुदूरपश्चिम प्रदेशमा पिसिआर मेसिनसहित प्रयोगशाला सञ्चालनमा आएसँगै यसअघिको तुलनामा दैनिक नमूना जाँचको दायरा पनि वृद्धि भएको छ । यद्यपि सञ्चालनमा आएका नयाँ प्रयोगशालामा आवश्यक पर्ने जनशक्ति अभाव हुँदा सीमित स्वास्थ्यकर्मीको भरमा नमूना जाँच भइरहेको छ । प्रदेश सरकारको निर्णयबमोजिम सेती प्रादेशिक अस्पताल धनगढी र डोटी जिल्ला अस्पतालमा पिसिआर मेसिनको व्यवस्थासहित नयाँ प्रयोगशाला सञ्चालनमा आइसकेको छ । बैतडी जिल्ला अस्पतालमा पिसिआर मेसिनसहितको प्रयोगशाला सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । निजी क्षेत्रको सहयोगमा डडेलधुरामा समेत पिसिआर मेसिनसहितको प्रयोगशाला सञ्चालनमा आइसकेको छ । सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले कोरोनाका कारण जटिलता उत्पन्न हुने अवस्थाका विरामीलाई राख्नुपर्ने व्यवस्थाका लागि भेन्टिलेटर खरिदको प्रक्रिया अघि बढाइएको जानकारी दिए । “२० वटा भेन्टिलेटर खरिद प्रक्रियामा छन्”, मन्त्री सुवेदीले भने, “सेती प्रादेशिक अस्पताल धनगढी र महाकाली अस्पताल महेन्द्रनगरमा गरी १८ वटा आइसियुको व्यवस्था भइसकेको छ ।”