भेरीमा प्लाज्मा थेरापीबाट कोरोना सङ्क्रमितकाे सफल उपचार
राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको प्लाज्मा थेरापी विधिबाट सफल उपचार भएपछि उत्साह जागेको छ । प्लाज्मा थेरापी उपचार विधिबाट कोरोना सङ्क्रमित बिरामीको ज्यान जोगाउन सफल भएपछि भेरी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल विकास समितिका पदाधिकारीमा उत्साह र थप हौसला थपिएको प्लाज्मा थेरापी उपचारका विज्ञ डा खगेन्द्रजङ्ग शाहले बताए । भेरी अस्पतालले प्लाज्मा थेरापी उपचारमा पहिलो बिरामीमै सफलता पाएको छ । प्लाज्मा विधि सफल भएपछि अस्पतालले अन्य सङ्क्रमितलाई पनि प्लाज्मा दान गर्न आग्रह गरेको छ । उच्च ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि भेरी अस्पतालमा भर्ना भएका शारदा नगरपालिका–६, सल्यानका २९ वर्षीय प्रवीण केसीमा प्लाज्मा थेरापी उपचार विधि सफल भएको हो । केसीलाई १२ भदौमा भेरी अस्पतालमा भर्ना गरिएको थियो । कोरोनाको लक्षण देखिएपछि उनको कोरोना जाँच गर्दा भदौ १३ गते उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । निमोनिया भई स्वास्थ्य अवस्था झनझन बिग्रिँदै गएपछि उनको प्लाज्मा थेरापीबाट उपचार गरिएको हो ।केसी निको भएर आइतबार घर फर्किएका छन् । कोरोना भाइरस सङ्क्रमितका कारण मृत्यु नजिक पुगेका बिरामी प्लाज्मा थेरापी उपचार विधिबाट निको भएर घर फर्किँदा उपचारमा संलग्न चिकित्सकदेखि प्लाज्मा दिने दातासमेत उत्साहित र खुशी देखिएका थिए । उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीको अथक प्रयास र लगनशीलताले जटिल अवस्थामा पुगेका कोरोना सङ्क्रमितलाई बचाउन सकिएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोदकुमार धितालले बताए । रासस
चिकित्सकको सल्लाह लिए जस्तै पोषण विज्ञको पनि परमर्श लिनुपर्छः विज्ञ शाह
काठमाडाैं । अहिलेको कोरोनाको विषम परिस्तिथिमा स्वास्थको रोग प्रतिरोघात्मक क्षमता बढाउने ‘डाइट फोर इम्युनिटि बुसटर फुडस’ को कार्यक्रम सम्पन्न भएकाे छ । रोग प्रतिरोधात्मक क्षमता बढाउने पोषण सम्बन्धी उक्त कार्यक्रम रोटरी क्लब अफ भक्तपुर र इनर्हवील भक्तपुरको संयुक्त सहभागीतामा भर्च्युअल कार्यक्रम मार्फत सम्पन्न भएकाे हाे । पोषण विज्ञ मिरा शाहले करिब पचास वटा स्लाइडहरुमा विभिन्न रोगहरु जस्तै मधुमेह, उच्च रक्तचाप, मोटोपना, कम तौल, कुपोषण , उमेर समुह अनुसारको के कस्ता फरक फरक क्यालोरीहरुको समेत स्पष्ट पारेकी थिइन् । स्रोताहरुको जिज्ञासामा प्रकाश पार्दै पोषण विज्ञले समय समयमा चिकित्सकको परामर्श, नितमित स्वास्थ जाँच, सक्रिय जीवनशैली, आदिको बारेमा सुझाव तथा परामर्श दिइन् । ‘अहिले मात्रै हामी स्वस्थ हुने हो त ? किन हामी आफ्नो स्वास्थ्य प्रति गम्भिर छैनौं ? कामको होडबाजीमा हामी आफै स्वास्थको हेरचाह गरेको पाइएको छैनौं । काम काम भनेर हामी आफै बिरामी भएर बसेका छौं, जब अत्ति नै गार्हो भएमा मात्र अस्पताल दौडधुप गर्छौ । त्यो बेला बल्ल हामी स्वस्थ किन हुनु आवश्यक छ, थाहा पाउने गर्दछौं । हामी सन्तुलित आहार भोजनमा समाबेस गरे तापनि किन बिरामी हुन्छौ त ?’, पोषण विज्ञ मिरा शाहले बताइन् ।चिकित्सकको सल्लाह लिए जस्तै पोषण विज्ञको पनि परमर्श लिन उनले आग्रह गरिन् । सबैको एकै नासको क्यालोरी हुन्, काम्, उमेर समुह, रुचि, साकाहारी, मान्साहारी, तौल आदि व्यक्ति पिच्छे फरक हुने भएकोले परामर्श लिनुपर्नेमा उनले जोड दिइन् । यसमा रोटरि क्लब अफ भक्तपुरकी अध्यक्ष रोटरियन भवानी घिमिरे, प्रमुख अतिथि रोटरियन सञ्जय गिरी, अतिथि वक्ता कीर्तिपुर अस्पताल बर्न अस्पतालकी पोषण विज्ञ मिरा शाह, जिल्लाका गणमान्य व्यक्तिहरु, रोटरि तथा इनर्व्हील तथा अन्य सदस्यहरुको उपस्थिति थियो ।
पीसीआर परीक्षणमा कालोबजारीबाट पछि हट्यो सरकार
काठमाडौं । एकाधिकारी बजारको मौका छोपी कोरोना भाइरस (कोभिड १९) संक्रमण परीक्षणको पीसीआर शुल्क कम गर्न सरकार बाध्य भएको छ । कोभिड १९ महामारीको सुरुवाती समयमा निजी ल्यावलाई परीक्षण गर्ने अनुमति नदिएर एउटै स्वाब परीक्षणमा ४० हजार रुपैयाँसम्म खर्च गरेको सरकारले अहिले यसको शुल्क घटाएर २ हजार रुपैयाँ कायम गरेको छ । सरकारले पीसीआर परीक्षणमा निजी क्षेत्रलाई पनि अनुमति दिएसँगै सरकारले एकाधिकारी बजारको मौका छोपी कालोबजारी गरेको खुलेको थियो । सरकारले ६ हजार ५० रुपैयाँ शुल्क तोकेको समयमा निजी ल्याबहरुले ४ हजार रुपैयाँसम्ममा पीसीआर परीक्षण गरिरहेका थिए । सरकारले पीसीआर शुल्क घटाएर ४ हजार ४ सय रुपैयाँ तोकेको समयमा निजी ल्यावहरुले २ हजार ५ सय रुपैयाँमा नै पीसीआर परीक्षण गरिरहेका थिए । सरकारले २ साताअघि मात्रै पीसीआर परीक्षण शुल्क ६ हजार ५० रुपैयाँबाट घटाएर ४ हजार ४ सय रुपैयाँ कायम गरेको थियो । तर, यस्तो शुल्क पनि महंगो भएको निजी ल्यावहरुले २ हजार ५ सय रुपैयाँमा नै परीक्षण गरेबाट पुष्टी भएको थियो । ‘निजी ल्यावहरुलाई पीसीआर परीक्षण गर्न नदिएको भए अहिले पनि सरकारले प्रतिपरीक्षण ८÷१० हजार रुपैयाँ नै लिइरहने रहेछ, सुरुमै निजी ल्यावहरुलाई परीक्षण गर्न दिएको भए प्रतिपरीक्षण १०÷१५ हजार लाग्छ भनेर सरकारले हिसाव देखाइरहन पाउने थिएन, निजी क्षेत्रलाई नाफाखोर र कालोबजारी भनेर आरोप लगाउने काम गरिन्छ, तर यहाँ त सरकारले कालोबजारी गरेको पुष्टी भएको छ,’ एक निजी ल्याव संचालकले भने । सरकारले खरिद गरेका मेडिकल सामग्रीमा बढी मूल्य तिरेर भ्रष्टाचार गरिएको भन्दै ओम्नी समुहसँग मेडिकल सामग्री खरिद गर्ने गरी भएको ठेक्का सम्झौता रद्द गरिएको थियो । तर, पीसीआर परीक्षण शुल्कको बारेमा भने कसैले प्रश्न उठाएका थिएनन् । तर, विकासन्युजले भने केही साता अघिदेखि नै पीसीआर परीक्षणमा बढी शुल्क लिएर सरकारले कालोबजारी गरिरहेको समाचार प्रकाशित गरिरहेको थियो । सोही समाचारको कारण सरकारले वाध्य भएर पीसीआर परीक्षणको शुल्क घटाएको हो । सम्बन्धित सामग्री १ । निजीको हस्तक्षेपपछि पीसीआर परीक्षणको शुल्क घट्यो, सरकारको कालोबजारी कायमै २ । कोरोना परीक्षण शुल्क प्रतिव्यक्ति २००० रुपैयाँ घट्न सक्ने ३ । पीसीआर परीक्षण सरकारकाे कालाेबजारी, निजी क्षेत्र प्रवेशसँगै ४० हजार पर्ने पीसीआर टेष्ट ४ हजारमा झर्याे ४ । अब पीसीआर शुल्क मात्र २ हजार