गण्डकीमा १७ सङ्क्रमित थप

गण्डकी । गण्डकी प्रदेशमा १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमित दुई हजार ७४७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । थपिएकामध्ये पोखरा महानगरपालिकाका दुई, तनहुँको शुक्ला गण्डकीका एक, स्याङ्जा पुतलीबजार नगरपालिकाका दुई, नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैँडाकोटका ११ र कावासोतीका एक जना छन् । प्रदेशमा हालसम्म ५४ हजार ८८९ को पिसिआर परीक्षण गरिएकामा ५२ हजार १४२ जनामा सङ्क्रमण देखिएन । हालसम्म एक हजार ८१४ जना उपचारपछि निको भएको र सक्रिय सङ्क्रमित ९११ रहेको निर्देशनालयले जनाएको छ । कोरोनाका कारण प्रदेशमा हालसम्म २२ जनाको मृत्यु भएको छ ।

संसदीय उपसमितिद्वारा खरिपाटीको आइसोलेसन र थिमिको अस्पताल अनुगमन

भक्तपुर। सङ्घीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित उपसमितिले भक्तपुरको खरिपाटीस्थित कोरोना सङ्क्रमितलाई राखेको आइसोलेसन सेन्टर र मध्यपुरथिमिको नेपाल कोरिया नगरपालिका मैत्री अस्पतालको अनुगमन गरेको छ । उपसमितिका संयोजक जीवनराम श्रेष्ठको नेतृत्वमा आएको टोलीले चाँगुनारायण नगरपालिका–७ स्थित विद्युत प्राधिकरणमा रहेको आइसोलेसनको बिहिबार अनुगमन गरेको हो । कोभिड–१९ को सम्बन्धमा सरकारले गरेका कामको प्रभावकारिता अनुगमन गर्न गठित उपसमितिले भक्तपुरको खरिपाटीस्थित आइसोलेसनको अनुगमन गर्दै यहाँ रहेका कोरोना सङ्क्रमितको अवस्था, खानपान, सरसफाइ र उपचारबारे जानकारी लिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताए । खरिपाटीको आइसोलेसनमा बिरामीको हेरचाह तथा सेवा सरकारले तोकेको मापदण्ड अनुरूपनै भइरहेको पाइएको अनुगमन उपसमितिका संयोजक श्रेष्ठले बताए । अनुगमन टोलीलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुख डा प्रेमराज ज्ञवालीले कोरोना ‘हब’को रूपमा भक्तपुर अस्पताल सञ्चालन भइरहेको जानकारी गराउँदै अस्पताललाई पिसीआर मेसिन उपलब्ध गराइदिन अनुरोध गरे । अनुगमन टोलीलाई भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले यहाँको आइसोलेसनमा भइरहेको गतिविधि र व्यवस्थापनबारे जानकारी दिएका थिए । उनले खरिपाटीमा आइसोलेसन सेन्टरको उचित व्यवस्थापन भए पनि कोरोना भाइरस परीक्षणका लागि पिसीआर मेसिन नहुँदा नतिजाका लागि धेरै कुर्नु पर्ने भएकाले उक्त मेसिनको व्यवस्था गरिदिन टोलीलाई आग्रह गरे । टोलीले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले तयार पारेको आइसोलेसन, भेन्टिलेटरसहितको आइसियु र पिसीआर परीक्षण गर्ने ल्याबको अनुगमन गरेको थियो । टोलीलाई नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना सङ्क्रमण रोक्न र सङ्क्रमितको उपचारका लागि नगरपालिकाले गरेको तयारीका बारेमा जानकारी गराएका थिए । रासस

कोरोना सङ्क्रमितका लागि चितवनमा प्लाज्मा बैंक

चितवन । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले कोरोना सङ्क्रमितहरुका लागि प्लाज्मा बैंक बनाउन शुरु गरेको छ । हालसम्म केन्द्रले चार जना निको भएका सङ्क्रमितले रगत सङ्कलन गरी प्लाज्मा बनाएको छ । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार तीमध्ये दुई युनिट प्लाज्मा एक बिरामीलाई दिइसकिएको छ । बाँकी ‘ओ’ र अर्को ‘बी’ रक्तसमूहको दुई प्लाज्मालाई तयारी अवस्थामा राखिएको छ । यसअघि दिइएको दुई युनिट प्लाज्मा ‘बी’ समूहको थियो । मानिसको शरीरमा ‘ए’, ‘बी’, ‘ओ’ र ‘एबी’ समूहको रगत चढाइन्छ । पौडेलले चारवटै रक्तसमूहको कम्तीमा पाँच युनिटका दरले प्लाज्मा तयार गरी बैंकको रूपमा राख्न लागिएको जानकारी दिए । यसका लागि केन्द्रले प्रक्रिया अघि बढाइसकेको छ । चितवन र आसपासका जिल्लामा निको भएका सङ्क्रमित खोजी गरी केन्द्रले नै सवारी साधनको व्यवस्था गरेर रक्तसञ्चार केन्द्र ल्याउने भएको छ । उनीहरुलाई केही समस्या भएमा यहीँ उपचार गर्न सकिने भएकाले केन्द्रमै रगत सङ्कलन गर्न लागिएको हो । सङ्क्रमितको नतिजा नेगेटिभ आएको १४ दिनपछि ४५ दिनभित्र रगत सङ्कलन गरी प्लाज्मा बनाउनुपर्ने हुन्छ । यसका लागि लक्षण देखिएका सङ्क्रमित चाहिने पौडेलको भनाइ छ । जिल्लाको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेजसँगै पुष्पाञ्जली अस्पतालमा गम्भीर अवस्थाका सङ्क्रमितको उपचार हुँदैआएको छ । क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन मापदण्ड र प्लाज्मा थेरापी निर्देशिकामा गरिएको व्यवस्था एक आपसमा बाझिँदा प्लाज्मा तयार गर्ने रक्तदाताहरुको पहिचान कठिन भएको छ । पौडेल प्लाज्मा थेरापीमा स्पष्ट नीति नहुँदा प्लाज्माका लागि रगत सङ्कलनमै समस्या भएको बताउँछन् । क्वारेन्टिन मापदण्डले कोरोना सङ्क्रमितलाई १४ दिनपछि परीक्षण नै नगरी घर पठाउने भनेको भए पनि प्लाज्मा थेरापी निर्देशिकाले सङ्क्रमणमुक्त भएको १४ दिनपछि मात्रै रगत दान गर्नुपर्छ भनी उल्लेख गरेको पौडेलको भनाइ छ । यस्तो अवस्थामा परीक्षण नै नगरी घर गएका सङ्क्रमितहरुको रगत सङ्कलन गर्ने आधार नहुँदा समस्या आएको उनले जानकारी दिए । अहिले प्लाज्माका लागि रक्तदाता खोज्दा नेगेटिभ भई डिस्चार्ज भएको मात्र खोज्नुपर्ने भएको छ । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले कोरोना सङ्क्रमितको पहिचानमा केही समस्या देखिएको बताए । “निको भएका कोरोना सङ्क्रमितको रगतबाट प्लाज्मा निकालेर सङ्क्रमितको शरीरमा चढाउने प्रक्रिया नै प्लाज्मा थेरापी हो । रगतमा हुने प्रोटिनसहितको पहेँलो पदार्थ नै प्लाज्मा हो”, उनले भने । निको भएका सङ्क्रमितको विकास भएको एन्टिबडीको प्लाज्मा सङ्क्रमितलाई दिएर भाइरससँग लड्न सक्ने क्षमता यसले विकास गर्ने अधिकारीको भनाइ छ । अधिकारीले रक्तसञ्चार केन्द्रमा प्लाज्मा जगेडा हुने गरी बैंकको विकास गर्न लागिएको जानकारी दिए । उनका अनुसार जुन अस्पतालका सङ्क्रमितलाई प्लाज्मा दिनुपर्छ त्यतिबेला दिन सहज हुनेगरी व्यवस्थापन गर्न लागिएको छ । केन्द्र र भरतपुर अस्पतालबीच सहकार्य गरेर हरेक समूहको पाँच युनिट प्लाज्मा जगेडा राख्न लागिएको अधिकारीले बताए । जिल्लाका अस्पतालहरुमा देशैभरिबाट बिरामी उपचारका लागि आउने गर्दछन् । रासस