पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति सेवा बिहिबारसम्मकाे लागि बन्द

पाेखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसूति सेवा असोज १ गते बिहीबारसम्मका लागि बन्द गरिएको छ । अस्पतालको प्रसूति विभागमा भदौ २७ गते भर्ना भई सोही दिन आकस्मिक शल्यक्रिया गरिएकी तनहुँको शुक्लागण्डकी नगरपालिका–१० की २४ वर्षीया महिलामा मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएपछि शल्यक्रिया विभाग तथा वार्डको निर्मलीकरणका लागि प्रसूति सेवा बन्द गरिएको अस्पतालका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए । महिलाको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई क्वारेन्टिनमा राखिएको र उनीहरुको नतिजा नेगेटिभ नआएसम्मका लागि अत्यावश्यक शल्यक्रिया गर्नुपर्ने बाहेकका अन्य सेवाहरु बिहीबारसम्म सेवा बन्द गरिएको उनको भनाइ छ । अस्पतालले प्रसूति बाहेकका अस्पतालले प्रदान गर्दै आएको अन्य सम्पूर्ण सेवाहरु भने सञ्चालनमा रहेको सेवाग्राहीमा जानकारी गराएको छ । महिलामा कोभिड–१९ को आशङ्कामा २८ गते नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएकामा नतिजा पोजिटिभ आएको अस्पतालले जनाएको छ । गण्डकी प्रदेशको सबैभन्दा ठूलो यस अस्पतालमा प्रदेशका ११ वटै जिल्लाबाट गरी दैनिक एक हजार ५०० को हाराहारीमा बिरामी आउने गर्दछन् । रासस

नेपालभर १४५९ जना काेराेना संक्रमित थपिए, ११ जनाकाे मृत्‍यु

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १४ सय ५९  ना जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५६ हजार ७ सय ८८ जना पुगेको छ । हाल क्वारेन्टिनमा ७ हजार २ सय ५० जना रहेका छन् भने आजसम्म ८ लाख ६१ हजार ७ सय ८० जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १०६२ जना निकाे भएसँगैं हालसम्म ४० हजार ६ सय ३८ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा ११ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ३७१ पुगेकाे छ ।

महालक्ष्मी नगरपालिकाका मेयर दम्पतीमा कोरोना

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र उनकाे श्रीमतीमा  कोरोना संक्रमण पुष्टि भएकाे छ । साेमबार परीक्षण गर्दा उनीहरुमा काेराेना पुष्टि भएकाे हाे । हाल उनीहरुकाे ग्वार्खोस्थित किस्ट अस्पतालमा उपचार भइरहेको छ । मेयर श्रेष्ठले आफ्नो सम्पर्कमा आएकाहरुलाई कोरोना परीक्षण गराउन आग्रह गरेका छन् ।