काठमाडौं महानगरपालिकामा सङ्क्रमित सङ्ख्या चार हजार ८८६ पुग्याे
काठमाडौं । काठमाडौं महानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ८८६ रहेको छ । हाल सङ्क्रमित भएकामध्ये एक हजार २६२ जना निको भएका छन् भने तीन हजार १६८ जना उपचाररत रहेको कामपाले जनाएको छ । कामपा जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरका अनुसार ४७१ जना अस्पतालमा उपचार गराइराखेका छन् भने एक हजार ५२४ होम आइसोलेसनमा र एक हजार २२७ जना संस्थागत आइसोलेसनमा छन् । उहाँका अनुसार हालसम्म कामपाको ३२ वटै वडामा गरी दश हजार ५२९ जनाको कन्ट्याक्ट ट्रेसिङ गरेको छ र ३१ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । हालसम्म परीक्षणमा सबैभन्दा बढी वडा नं १५ मा ४६९ जनामा सङ्क्रमण देखिएको छ । त्यसैगरी वडा १६ मा ३६६, वडा ३ मा ३१५ जनामा सङ्क्रमण देखिएको छ । यसैगरी वडा ४, ७, ८, ९, १०, ११, १३, १४, २६, २७, २८, २९, ३१ र ३२ वडामा एक सयभन्दा बढी सङ्क्रमित रहेका छन् । सबैभन्दा बढी वडा २७ मा चार जनाको मृत्यु भएको छ । कामपाले परीक्षणको दायरा बढाउनका लागि अहिले हरेक वडामा स्वास्थ्यकर्मीसहित स्वयम्सेवक परिचालन गरेको छ । रासस
थप १२ सय १ जनामा देखियो कोरोना
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप १२ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १२ सय एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५१ हजार ९१९ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घन्टामा थप ८ सय ५२ जनाले कोरोना जितेका छन् ।
भारतमा एकैदिन ९७ हजारभन्दा बढीमा देखियाे काेराेना, सङ्क्रमितकाे संख्या कति पुग्याे ?
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या दिनप्रतिदिन वृद्धि हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९७ हजार ५७० जना सङ्क्रमित भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । योसँगै भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ४६ लाखभन्दा बढी पुगेको देखिएको छ । संघीय (केन्द्रीय) स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको कुल सङ्या अहिलेसम्म ७७ हजार ४७२ पुगेको छ । कुल मृतकमध्ये एक हजार २०१ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको पनि मन्त्रालयले शनिबार जनाएको छ । भारतमा कोरोनाका कारण अहिलेसम्म कुल ४६ लाख ५९ हजार ९८५ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । ती मध्ये ३६ लाख २४ हजार १९७ जना सङ्क्रमणमुक्त भइसकेका छन् । अधिकारीहरूका अनुसार अरु नौ लाख ५८ हजार ३१६ जना अझै पनि सङ्क्रमित अवस्था मै रहेका छन् । भारतमा सबैभन्दा बढी महाराष्ट्र प्रदेश प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै अहिलेसम्म कोरोनाकै कारणले २८ हजार जनाको मृत्यु भएको छ । महाराष्ट्रमा अहिले पनि दुई लाख ६१ हजार ७९८ जना सक्रिय सङ्क्रमित अवस्थामै रहेको अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैगरी आन्द्र प्रदेश दोस्रो धेरै प्रभावित प्रदेशमा पर्दछ । जहाँ अहिलेपनि ९७ हजार ३३८ जना सक्रिय सङ्क्रमितहरु रहेका छन् भने चार हजार ७०२ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । कुल ४८ हजार ४८२ जना सक्रिय सङ्क्रमितहरु रहेको तमिल नाडु भारतको तेस्रो धेरै प्रभावित प्रदेशमा पर्दछ । नमिल नाडुमा मात्रै कोरोनाका कारण अहिलेसम्म आठ हजार १५४ जनाको मृत्यु भएको छ । त्यसपछि धेरै प्रभावित प्रदेशहरुमा कर्नाटक र दिल्ली प्रदेश रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । रासस/एएनआई