इलामका युवाले बनाए कोरोना अस्पतालमा प्रयोग गर्ने रोबोट, करिब एक लाख १० हजार रुपैयाँ खर्च
इलाम । इलामका युवाहरुले यन्त्र (रोबोट) निर्माण गरेका छन् । पाँच युवाले कोरोना अस्पतालमा प्रयोग गर्नेगरी सो यन्त्रको निर्माण गरेका हुन् । निर्माण गरेको यन्त्रलाई इलाम अस्पतालमा प्रदर्शनसमेत गरिएको छ । कोरोनाका कारण बिरामीलाई औषधि दिन चिकित्सक तथा नर्सहरु डराइरहेको अवस्थामा रोबोटले नै औषधि पुर्याउन सहयोग गर्ने रोबोट निर्माण गर्नेमध्येका एक युवा नवीन फुयाँलले जानकारी दिए । उनका अनुसार करिब डेढ महिना लगाएर निर्माण गरिएको रोबोट अस्पतालमा नै प्रयोग गरिनेछ । कोरोना विशेष अस्पताल र आइसोलेसनमा प्रयोग गर्नकै लागि रोबोटको निर्माण गरिएको हो । रिमोट कन्ट्रोलको माध्यमबाट कुन शय्यामा कुन औषधि लैजाने, कति पटक औषधि सेवन गरेको भन्नेलगायतको जानकारी सोही रोबोटमार्फत प्राप्त हुने उनले बताए । सिसी क्यामेरा प्रयोग गरिएकाले पनि रोबोटबाट धेरै कुराको जानकारी लिन सकिने बताइएको छ । इलामका फुयाँल, सुलभ सुवेदी, रिकेश भट्टराई, पवन चापागाईं र अभिनेश सुवेदीले सो रोबोटको निर्माण गरेका हुन् । फरकफरक विषयमा काठमाडौंमा अध्ययन गर्ने उनीहरुले काठमाडौंमा समेत विभिन्न क्रयाकलापको प्रदर्शन गरेको बताइएको छ । रोबोटको प्रयोगले चिकित्सक र नर्सहरुले धेरै पटक बिरामीलाई नियाल्न आवश्यक नरहेकाले अन्य काम गर्ने समयको समेत बचत हुने बताइएको छ । रिमोट कन्ट्रोलको माध्यमबाट मानिसको आवाज सहजै रोबोटले सुन्ने र काम गर्ने जनाइएको छ । साथै रोबोटबाट आवाज पनि आउने भएकाले बिरामीले समेत सहजै रोबोटलाई प्रयोग गर्नसक्ने जनाइएको छ । रोबोट निर्माणको शुरुआती अवस्थामा नै भएकाले करिब एक लाख १० हजार रुपैयाँ खर्च भएको छ । रोबोट निर्माणका लागि इलामका समाजसेवी डम्बर खड्काले उक्त रकम सहयोग गरेमन उनीहरुले बताए । युवाहरुको जोस र जाँगरमा हौसला प्रदान गर्न आफुले सहयोग गरेको समाजसेवी खड्काले बताए । रासस
नेपालभर १२४६ जना काेराेना संक्रमित थपिए, ४ जनाकाे मृत्यु
काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय ४६ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५९ हजार ५ सय ७३ जना पुगेको छ । हाल क्वारेन्टिनमा ७ हजार ८ सय ८३ जना रहेका छन् भने आजसम्म ८ लाख ८२ हजार ९ सय १५ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १२४३ जना निकाे भएसँगैं हालसम्म ४२ हजार ९ सय ४९ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा ४ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ३८३ पुगेकाे छ ।
म्याग्दी जिल्ला कोरोनामुक्त
म्याग्दी । म्याग्दी कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको छ । जिल्लाको क्वारेन्टिन र आइसोलेसनबाट १७ कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि म्याग्दी कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । एक महिनाअघि पनि म्याग्दी कोराना सङ्क्रमणमुक्त जिल्ला बनेको थियो तर सरुवा भएर आएका एक प्रहरीमा कोरोना सङ्क्रमण देखिएपछि पुनः कोरोना सङ्क्रमणयुक्त जिल्ला भएको थियो । सङ्क्रमित प्रहरीको पिसिआर परीक्षणको नतिजामा बुधबार नेगेटिभ आएपछि म्याग्दी पुनः कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको छ । प्रजिअ अधिकारीका अनुसार आइसोलेसनमा रहेका एक मात्र सङ्क्रमित प्रहरी जवानको पनि पिसिआर रिपोर्ट नेगेटिभ आएकाले यो जिल्ला कोरोना सङ्क्रमणमुक्त भएको हो । समुदायस्तरमा सङ्क्रमण फैलिन नदिन म्याग्दीमा उच्च सतकर्ता अपनाइएको छ ।