निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्ने चिन्ता, जाडाेमा दीर्घरोगीहरु भने बढी जोखिममा पर्ने

चितवन । जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्ने चिन्ता व्यक्त गरिएको छ । साउन २८ गतेबाट जारी निषेधाज्ञा भदौ ३१ गतेपछि खुकुलो बनाइएको छ । सर्वसाधारणले प्रशासनको आदेश पूर्ण पालना नगर्दा सङ्क्रमण फैलिन सक्ने चिन्ता व्यक्त गरिएको हो । जिल्लामा सङ्क्रमित बढे पनि व्यापार व्यवसाय चलाउनु पर्छ भन्ने आवाज चर्काे बन्दै गएपछि प्रशासनले केही खुकुलो गरेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले समाजभन्दा प्रशासक अलग्गै जान नसक्ने भएपनि समाजको आवाजलाई सम्बोधन गर्दै निषेधाज्ञा खुकुलो बनाइएको बताए । सरकारले गरेको अनुरोधलाई सर्वसाधारणले पूर्ण पालना गरेमा सङ्क्रमण फैलिन नपाउने उनको भनाइ छ । सर्वसाधारणले वेवास्ता गरेमा भने सङ्क्रमण बढ्न सक्ने चिन्ता उनले व्यक्त गरे । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी छ महिनाको लकडाउनको परीक्षणपछि नयाँ ढङ्गको परीक्षण शुरु भएको बताउँछन् । तिवारीले भने, “एउटा चरणमा पूर्ण लकडाउन गरियो । समुदायमा जानबाट रोकिएको पनि हो । बीचमा लकडाउन केही खुकुलो हुँदा समुदायमा फैलियो ।” पूर्ण लकडाउन गरेरै सङ्क्रमण रोक्न सकिन्छ भन्ने हाम्रो आवाज मधुरो बन्दै गएको र अब खोल्नुपर्छ भन्ने आवाजले जित्दै गएपछि खुकुलो भएको उहाँको कथन छ । अब कोरोनासँग ‘लिभिङ टुगेदर’ गरेरै अघि बढ्नु पर्ने उनले सुझाए । स्वास्थ्य कार्यालयले पनि अब सङ्क्रमण रोक्न भन्दा पनि मृत्यु हुन नदिनेतर्फ पहल गर्ने उनको भनाइ छ । तिवारीले भने, “अब हामी सिकिस्त बिरामी र लक्षण भएकाहरुको व्यवस्थापनमा लाग्छौं ।” समुदायस्तरमा फैलिएको सङ्क्रमणले प्रतिरोधात्मक क्षमता पनि बढाउँदै लगेको भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारी बताउँछन् । उनले भने, “कतिपयलाई थाहै नपाई सङ्क्रमण भएर निको भइसक्यो, कतिपयलाई कोरोना सामान्य रोग हो भन्ने मनोबल बढेको छ ।” समाजमा लक्षण नदेखिएका सङ्क्रमित बढ्दै जाँदा त्यसले जोखिम कम हुँदै जाने उनको भनाइ छ । डा अधिकारी अहिले ६८ प्रतिशत लक्षण नभएका र ३२ प्रतिशत लक्षण भएका सङ्क्रमित रहेको बताउँछन् । उनका अनुसार तीन प्रतिशत सङ्क्रमित मात्रै गम्भीर बिरामी भएका छन् । लकडाउन खुकुलो हुँदै जाँदा लक्षण नहुने सङ्क्रमित बढ्दै जाने उनको अनुमान छ । उनले भने, “अब लक्षण नभएका सङ्क्रमित ८० प्रतिशतसम्म पुग्न सक्छ ।” तर मौसम चिसो हुँदै जाँदा दीर्घरोगीहरु भने बढी जोखिममा पर्ने डा अधिकारीको भनाइ छ । उनले भने, “जाडोमा दीर्घ रोग बढी सक्रिय हुन्छ, त्यसमाथि कोरोना सङ्क्रमण भयो भने जोखिम उच्च हुन्छ ।” दम, बाथलगायतका रोगहरुले जाडो महिनामा बढी दुःख दिने बताउँदै उनले यस्ता वर्ग कोरोना सङ्क्रमणबाट बच्नु पर्ने सुझाव दिए । उनले भने, “जाडो महिनामा दीर्घरोगी धेरैको मृत्यु हुने गरेको छ, कोरोना सङ्क्रमणका कारण यो सङ्ख्या थपिन सक्छ ।” उद्योग वाणिज्य महासङ्घ बागमतीका उपाध्यक्ष राजन गौतम रोगले भन्दा भोकले धेरै मानिसको मृत्यु भएको भन्दै निषेधाज्ञा र लकडाउनले पनि रोग फैलिनबाट रोक्न नसकेको बताउँछन् । उनले सरकारको स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गरेर अर्थव्यवस्थालाई चलायमान बनाउनु पर्ने बताए । उनले भने, “सङ्क्रमणबाट जतिको मृत्यु भयो, त्योभन्दा बढी गरिबीका कारण मानिसले ज्यान गुमाउनु परेको छ ।” जिल्लामा हालसम्म एक हजार ५१९ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये ३१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये १७ जना चितवनका हुन् भने अन्य जिल्लाका सङ्क्रमित हुन् । देशकै मध्यभाग भएकाले अन्यत्रबाट सङ्क्रमितहरु यहाँ उपचार र रोजगारीका लागि धेरै आउने गर्दछन् । यसका कारण सबैभन्दा बढी अस्पताल र त्यसपछि उद्योग कलकारखाना सङ्क्रमणको जोखिममा छन् । लकडाउन खुकुलो भएसँगै मानिसको आवागमन बढ्ने हुँदा सङ्क्रमण झनै फैलिन चिन्ता गरिएको छ । रासस

शनिबार नेपालमा १२०४ जना काेराेना संक्रमित थपिए, ११ जनाकाे मृत्‍यु

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय ४  जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६२ हजार ७ सय ७७ जना पुगेको छ । हाल क्वारेन्टिनमा ७ हजार ७ सय ३५ जना रहेका छन् भने आजसम्म ९ लाख ४ हजार ७ सय ६ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १४४७ जना निकाे भएसँगैं हालसम्म ४५ हजार २ सय ६७ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा ११ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ४०१ पुगेकाे छ ।

उपत्यकामा मात्रै ६०० भन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित

काठमाडाैं । कोभिड–१९ को सङ्क्रमण पछिल्ला दिनमा स्वास्थ्यकर्मीमा बढी देखिन थालेको छ । मुलुकभर कोभिड–१९ को सङ्क्रमित बढिरहेको बेला उपत्यकामा अग्रपङ्क्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिन थालेको हो । सङ्क्रमणको रोकथाम तथा नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीसँगै स्वास्थ्यकर्मीमा समेत सङ्क्रमण देखिन थालेको छ । सङ्क्रमणको उपचारमा खटिने स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए । स्वास्थ्यकर्मी सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि प्रत्यक्ष संलग्न हुने भएकाले सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार उपत्यकामा मात्र अहिलेसम्म ६०० भन्दा बढीमा सङ्क्रमण देखिएको छ । उनले कोभिड–१९ अस्पताल, कोभिड–१९ को परीक्षण गर्ने, होम आइसोलेसन, क्वारेन्टिन, कन्ट्र्याट ट्रेसिङमा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी बढी सङ्क्रमण भएको बताए । उपत्यकामा अहिलेसम्म १५ हजार १३८ जना सङ्क्रमण भइसकेका छन् । शुक्रबार मात्रै ८५९ जना सङ्क्रमित भएका थिए । सबभन्दा बढी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको छ । अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासका अनुसार शिक्षण अस्पताला १५० भन्दा स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको छ । तीमध्ये २१ चिकित्सक, अधिकांश नर्स र वार्ड सहयोग रहेका छन् । उहाँले सङ्क्रमितमध्ये धेरै निको भएर घर फर्किसकेको जानकारी दिए । अहिले उक्त अस्पतालमा २७ जनामात्र स्वास्थ्यकर्मी सक्रिय सङ्क्रमित छन् । यस्तै वीर अस्पतालमा ११५ जना स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको छ । वीरका कार्यकारी निर्देशक डा केदार सेञ्चुरीका अनुसार तीमध्ये २५ चिकित्सक, ३५ नर्स र अन्य वार्ड तथा प्रशासनमा रहेका कर्मचारी रहेका छन् । सङ्क्रमितमध्ये २५ प्रतिशत निको भएर काम गर्न आइसकेको उनले जानकारी दिए । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आठ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये दुई चिकित्सक र अन्य नर्स रहेका छन् । अस्पतालका निर्देशक डा सागरराज भण्डारीले दुई चिकित्सक र एकजना नर्सको निको भइसकेको र अन्य पाँचजना होम आइसोलेसनमा रहेको जानकारी दिए । अहिले मुलुकभरि ६१ हजार ५९३ जनामा सङ्क्रमण देखिएको छ भने ४३ हजार ८२० जना सङ्क्रमण निको भएर घर फर्किसकेका र ३९० जनाको सङ्क्रमणबाट निधन भएको छ । रासस