भरतपुरकाे प्राकृतिक चिकित्सालयबाट ५० जना कोरोना मुक्त
चितवन । भरतपुर महानगरपालिकाद्वारा सञ्चालित प्राकृतिक चिकित्सालय आइसोलेशनबाट ५० जना कोरोना सङ्क्रमित निको भइ घर फर्किएका छन् । भरतपुर– १ बागेश्वरीमा रहेको योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयमा उपचारपछि उनीहरु सङ्क्रमण मुक्त भएका हुन् । गत भदौ १४ गतेदेखि आइसोलेशन सञ्चालनमा आएको हो । चिकित्सालयका निर्देशक डा. हेमराज कोइरालाका अनुसार चिकित्सालयमा ५३ जना बिरामी उपचाररत छन् । चिकित्सालयमा योग तथा प्राकृतिक चिकित्सा विधिद्वारा उपचार गरिएको र खानपान तथा ध्यान साधनामा विशेष जोड दिइ उपचार गराइएको उनले जानकारी दिए । बिरामीलाई समय मिलाएर फलफूल, टुसा पलाएका गेडागुडी र हरेक साँझ दूधमा बेसार हालेर खुवाउने गरिएको छ । बढीमा १४ दिनमा सबैलाई नेगेटिभ आएपछि घर पठाइने गरिएको छ । महानगरमा रहेका सङ्क्रमितलाई यहाँ राखेर उपचार गरिएको छ । अन्य ३ सय ४ जना होम आइसोलेशन र २० जना वडाले निर्माण गरेको क्वारेन्टिनमा छन् । महानगरमा हालसम्म १ हजार १ जना सङ्क्रमित भइसकेका छन् । यो संख्या जिल्लामा १ हजार ५ सय २९ रहेको छ । हालसम्म जिल्लाका १८ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ । ती मध्ये १० जना भरतपुर महानगरपालिकाका रहेका छन् । पूर्वी चितवनमा चार वटा नगरपालिकाले एकै ठाउँमा र माडी नगर नगरपालिका एवं इच्छाकामना गाउँपालिकाले फरक फरक ठाउँमा आइसोलेशन तयार गरेका छन् । लक्षण नदेखिएका सङ्क्रमितलाई स्थानीय निकायले सञ्चालन गरेका आइसोलेशन र घरमै राखिएको छ । रासस
मास्क जथाभावी फाल्ने प्रवृतिले जोखिम
बैतडी । कोरोना भाइरस सङ्क्रमण बढेसँगै बैतडीमा पनि मास्क लगाउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । यद्यपि मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृत्तिले सङ्क्रमणको जोखिम पनि त्यतिकै बढाएको छ । सडक, सडकपेटी र बजारक्षेत्रमा प्रयोग भएको मास्क जथाभावी फालिएकाले जोखिम बढ्दै गएको हो । मास्कको उचित प्रयोग र विसर्जन हुन नसक्दा सङ्क्रमण फैलिन सक्ने जिल्ला अस्पताल बैतडीका चिकित्सक डम्बरजङ्ग सिंहले बताए । “मास्कको भित्री भागमा थुक, र्याल, सिँगान र बाहिरी भागमा अरुको थुकको छिटा परेको हुनसक्ने भएकाले जथाभावी फाल्दा सङ्क्रमणको जोखिम हुन्छ”, उनले भने । मास्कको उचित व्यवस्थापन हुन नसके सङ्क्रमण फैलन सक्ने उनको भनाइ छ । मास्क खोल्दा र लगाउनुअघि हात पूर्णरूपमा सेनिटाइज (निर्मलीकरण) वा साबुनपानीले धुनुपर्ने र मास्कलाई गोलो बनाएर बिर्को लगाएको डष्टबिनमा हाल्नुपर्ने सुझाव उनको छ । मास्कमा धातु र प्लाष्टिक हुने हुँदा ती वस्तुमा किटाणु लामो समयसम्म बस्ने गरेको बताइएको छ । आम नागरिकले मास्कको उचित प्रयोग र विर्सजनका बारेमा गम्भीर हुन सके सङ्क्रमण न्यूनीकरणमा सहयोग पुग्ने स्वास्थ्थ्य कार्यालयले जनाएको छ । बैतडीमा हालसम्म ३८८ जनाका कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । रासस
काेराेना संक्रमितकाे सम्पर्कमा आएको छैटाैं दिनमात्र पीसीआर गराैं
काठमाडाैं । काेराेना संक्रमितसँग सम्पर्कमा आएको छैटाैं दिनमात्र पीसीआर परीक्षण गर्न सरकाले अनुराेध गरेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले काेराेना संक्रमितसँग सम्पर्कमा आएको छैटाैं दिनमात्र पीसीआर परीक्षण गर्न अनुराेध गरेका हुन् । उनले काेराेना संक्रमितसँग सम्पर्कमा आएको पाँचाैं दिनसम्म आइसाेलेसनमा बसेर मात्र परीक्षण गर्न सुझाएका छन् । यसरी परीक्षण गर्दा मात्र नतिजा सही आउने उनले बताए । यस्तै सरकारले अब आइसाेलेसनकाे जम्मेवारी स्थानिय तहलाई दिएकाे छ । यसरी स्थानिय तहले आइसाेलेसनकाे बनाइसकेपछि हाेम आइसाेलेसन वा संस्थागत आइसाेलेसनमा राखेकालाई १४ दिनमा डिस्चार्ज गरिनुपर्न गाैतमले बताए ।