नेपालभर १३५६ जना काेराेना संक्रमित थपिए, २ जनाकाे मृत्यु
काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १३ सय ५६ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६६ हजार ६ सय ३२ जना पुगेको छ । हाल क्वारेन्टिनमा ७ हजार ७ सय ७१ जना रहेका छन् भने आजसम्म ९ लाख २३ हजार ८ सय २३ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ८२३ जना निकाे भएसँगैं हालसम्म ४८ हजार ६१ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा २ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ४२९ पुगेकाे छ ।
डा. गोविन्द केसीलाई जबर्जस्ती ट्रमा सेन्टर लगियो
काठमाडाैं । अनसनरत डा. गाेविन्द केसीलाई जबरजस्ती ट्रमा सेन्टर पुर्याइएको छ। मंगलबार नेपालगंजबाट त्रिवि शिक्षण अस्पतालमा अनसन जारी राख्न आएका डा केसीमाथि प्रहरीले जबरजस्ती गरी ट्रमा सेन्टर भित्र लगेकाे हाे । उनलाई जबरजस्ती भ्यानबाट निकालेर अस्पताल लगिएकाे भिडियाे सार्वजनिका भएकाे छ । उनलाई अहिले अस्पतालकाे आकस्मिक कक्षमा राखिएकाे अस्पतालले जानकारी दिएकाे छ ।चिकित्सा शिक्षा सुधारको माग राख्दै केसी केही दिन यता अनसनमा बसिरहेका छन् ।
डा. भोला रिजाल दम्पती कोरोना संक्रमणमुक्त
काठमाडाैं । प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल र उनकी श्रीमती कोरोना संक्रमणमुक्त भएका छन् । रिजाल दम्पती भदौ १३ गते काेराेना संक्रमण पुष्टि भएपछि भदौ १४ गते ह्याम्स अस्पतालमा भर्ना भएका थिए । साेमबार २२ दिनकाे अस्पताल बसाइपछि रिजाल दम्पति डिस्चार्ज भएका हुन् ।