बिहिबार नेपालमा एकैदिन थपिए ४ हजार ३६४ जना काेराेना संक्रमित

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप ४३ सय ६४ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशभर ४३ सय ५४ र उपत्यकामा मात्र २५४० जना भेटिएकाे जानकारी दिए । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ९८ हजार ६ सय १७ जना पुगेको छ भने  सक्रिय स‌ंक्रमितकाे संख्या २६ हजार ६ सय ८४ पुगेकाे छ । नेपालमा आजसम्म ११ लाख ३१ हजार ९ सय ५८ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज २६७५ जना निकाे भएसँगैं हालसम्म ७१ हजार ३४३ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा १२ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ५९० पुगेकाे छ ।

रोग प्रतिरक्षा क्षमता कसरी बढाउने ? यस्तो छ डा. राधिका थपलियाको सुझाव

काठमाडौं । शरीरको रोग प्रतिरक्षा क्षमता कसरी बढाउन सकिन्छ ? समग्रमा भन्नुपर्दा हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले हामीलाई रोग लाग्ने सुक्ष्म जिवहरुबाट सुरक्षित राखेर उल्लेखनीय काम गरेको छ । तर, कुनै अवस्थामा भने हाम्रो प्रतिरक्षा प्रणालीलाई भाइरसहरुले जित्ने गर्छ, जसकारण हामी बिरामी हुन पुग्छौं । त्यसैले हामीले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली बढाउनको लागि स्वस्थकर जिवनशैलीलाई निकै ध्यान दिनुपर्छ । हाल महामारीको रुपमा फैलिरहेको कोभिड १९ सँग लड्नको लागि सबैभन्दा महत्वपूर्ण मानिसको प्रतिरक्षा प्रणालीलाई नै मानिएको छ । त्यसैले पनि हालको समयमा हामी सबैले शरीरको प्रतिरक्षा क्षमता कसरी बढाउने भन्ने बारेमा विशेष ध्यान दिनु आवश्यक छ । शरीरको प्रतिरक्षा क्षमता बलियो बनाउन तीन कुराको मुख्य भुमिका हुने डा. राधिका थपलिया बताउँछिन् । स्वास्थ्य बिमा बोर्डको कायकारी निर्देशक समेत रहेकी थपलियाको अनुसार पोसीलो आहार, अनुशासित विहार र पर्याप्त निन्द्रा नै प्रतिरक्षा प्रणाली बढाउने ३ महत्व कुरा हो । ‘आहार भन्नाले स्वास्थ्य र पोसिलो आहार हो । गेडागुडी, तरकारी, फलफूल, दुध, दही, माछा, मासु, अण्डालगायत खानेकुरा पोसिलो आहार हुन् । यस्ता खानेकुरामा पोषण तत्व पाइन्छ, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ,’ उनले भनिन् । थपलियाका अनुसार खानेकुराहरु खाँदा चिल्लो, पिरो कम खानुपर्दछ । धेरै चिल्लो पिरो मिसिएको खानेकुराहरुले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई पनि कमजोर पार्न सक्छ । यस्तै, विहार अर्थात व्ययाम अर्को महत्वपूर्ण कार्य हो, जसले शरीरलाई फिट राख्न मद्दत गर्दछ । मानिसले दैनिक २० मिनेट पसिना निकल्ने कुनै पनि प्रकारको शारीरिक व्ययाम गरे शरीर स्वस्थ रहने थपलिया बताउँछिन् । यसको लागि मानिस दौडिने, नाच्ने, उफ्रने, साइकलिङहरु गर्न सक्ने उनले बताइन् । ‘पोसिलो खाना मात्र खाने र व्यवयाम नगर्ने हो भने उल्टै रोगहरुको सिकार बनिन्छ, संसारमा अहिले ठूलो समस्याको रुपमा माटोपना रहेको छ । मिठो र पोसिलो मात्र खाने र कुनै पनि प्रकारको पसिना निस्कने कामहरु नगरी बस्नेहरु यसका मुख्य शिकार हन्छन् । त्यसैले पोसिलो खानासँगै व्ययामलाई पनि निरन्तरता दिनुपर्छ’, उनले भनिन् । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने अर्को महत्वपूर्ण विषय भनेको पर्याप्त निन्द्रा रहेको थपलियाले बताइन् । पर्याप्त निन्द्राले मानिसको शरीरमा धेरै नै फरक पार्छ । मानिसले आफ्नो उमेर अनुसार कति समय सुत्दा पर्याप्त हुन्छ, त्यति नै सुत्नुपर्छ । ‘एक दिन बिग्रिएको निन्द्राले पनि शरीरलाई धेरै कमजोर बनाउँछ, त्यसैले निन्द्रा जहिले पनि पुरा गरेर मात्र दिनको सुरुवात गनुपर्दछ’, डा. थपलियाले भनिन् । उमेरसँगै मानिसहरुको प्रतिरोधात्म क्षमता कमजोर हुँदै जान्छ । विभिन्न अध्ययनहरुले युवाको दाँजोमा व्यस्कहरु कमजोर हुने र रोग लागेर चाँडो मृत्यु हुने गरेको देखाउँछ । त्यसैले उमेर बढ्दै जाँदा अझै धेरै खानेकुरादेखि व्ययाम सबै सन्तुलित ढंगबाट लागु गर्नुपर्दछ । यस्तै, विभिन्न अध्ययनहरुले तनाव र रोग एक अर्कामा सम्बन्धित रहेको देखाएको छ । यस विषयमा थप अध्यनहरु हुँदै गरेका छन् । यद्यपि, तनाव र शरीरको रोग प्रतिरोधात्मक क्षमताबीच केही सम्बन्ध रहेको विज्ञहरु बताउँछन् । तनावलाई ठ्याक्कै यही भनेर बयान गर्न सकिन्न । एक व्यक्तिलाई तनाव लाग्ने कुरा दोस्रो व्यक्तिलाई सामान्य लाग्न सक्छ । त्यसैले कुनै पनि विषयलाई तपाईले चाहिनेभन्दा बढि सोच्नुहुन्न, सकेसम्म आफ्ना साथीभाई, आमाबुवाहरुसँग कुराहरु गर्नुपछ जसले गर्दा तनाव निकै कम हुन्छ । स्वस्थकर जीवनशैली स्वस्थकर जीवनशैली शरीरको प्रतिरक्षा क्षमता बढाउने सबैभन्दा महत्वपूर्ण कार्य हो । तपाईले यसको लागि तपाईको दैनिक कार्यहरुमा परिवर्तन ल्याउनु पर्दछ । जस्तै धुम्रपान नगर्ने, तरकारी र फलफूल पर्याप्त सेवन गर्ने, दिनहुँ व्यायाम गर्ने, मध्यपान गरेपनि निकै नै कम मात्रमा गर्ने, पर्याप्त सुत्ने, तनावलाई कम गर्न प्रयास गर्ने, खाना खाँदा र पकाउँदा हातहरु राम्रोसँग धुने जस्ता कार्यहरु गर्न आवश्यक रहेको विज्ञले बताएका छन् ।

कुमारी बैंकद्धारा निःशुल्क पि.सि.आर. परीक्षण क्याम्प

काठमाडौं । कुमारी बैंक लिमिटेडले हाल द्रूत गतिमा बढ्दै गएको कोभिड–१९को सङ्क्रमणसँग जुध्नका लागि काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरी “निःशुल्क पि.सि.आर. परीक्षण क्याम्प” आयोजना गरेको थियो । सो क्याम्प यहि असोज १९ गते काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा, २० गते कुमारी बैंकको न्युरोड शाखामा, तथा २१ गते कुमारी बैंकको पुतलीसडक शाखामा आयोजना गरेको जानकारी बैंकले दिएको छ । क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई पि.सि.आर. परीक्षण गराउने व्यक्तिको कोरोना सङ्क्रमण भए–नभएको रिपोर्ट फोनबाट नै जानकारी गराएको छ । भाइरसको सङ्क्रमणले नेपालको स्वास्थ्य संरचनालाई अत्यन्तै मर्माहित तुल्याएका कारण यस्तो अवस्थासँग डटेर लड्ने कदम कुमारी बैंक लिमिटेडले काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरी चाल्ने प्रयास गरेको हो । कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी सुरेन्द्र भण्डारी आगामी दिनहरूमा पनि यस्तो विषम परिस्थिति सिर्जना हुँदा पुनः निःशुल्क क्याम्प आयोजना गर्नुपरेमा दत्तचित्त भई लाग्ने बताए ।