शनिबार मात्रै एक हजार ५५० गुर्जोका बिरुवा निःशुल्क वितरण

काठमाडौं । नदी किनार, सार्वजनिकस्थल एवं घरघरमा रोग प्रतिरोधी क्षमता बढाउने वनस्पति गुर्जो रोप्ने अभियान चलाउन शनिबार मात्र एक हजार ५५० बिरुवा निःशुल्क वितरण गरिएको छ । आन्तरिक राजश्व कार्यालय लाहानमा प्रमुख कर अधिकृतका रूपमा कार्यरत कमलबहादुर राजलवटले सरकारी निवासमा लगाएको गुर्जोबाट बिरुवा उत्पादन गरी देशका विभिन्न भागमा रोप्न निःशुल्क उपलब्ध गराएका हुन् । गुर्जोको बिरुवा माग भएपछि कार्यालयमा बिदा लिएर देशका विभिन्न भागमा पुर्याउने गरेको उनले जानकारी दिए । मनोहरा सफाइ अभियानलाई नदी किनारमा रोप्न शनिबार १५० बिरुवा वितरण गरिएको छ । गुर्जोका बिरुवा सफाइ संयोजक चन्द्र दङ्गाललाई हस्तान्तरण गरिएको अभियानकर्मी राजलवटले बताए । यसैगरी नयाँबानेश्वरको तेस्रो आँखा युवा क्लबमार्फत ३०० बिरुवा, भक्तपुरको दधिकोटस्थित गाम्चा बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई १००, काठमाडौँ महानगरपालिका वडा नं १४ का अध्यक्ष शोभा सापकोटामार्फत वडाको सार्वजनिकस्थल एवं कोरोना सङ्क्रमितका घरघरमा रोप्न ४०० बिरुवा हस्तान्तरण गरिएको छ । बल्खु क्षेत्रको भुवनेश्वर मन्दिर वरपरसमेत गुर्जो रोपिने वडा कार्यालयले जनाएको छ । १४ नं वडामा हाल आइसोलेसनमा बसेका ३०० जनालाई गुर्जोको बिरुवा, गुर्जोबाट बनेको रोग प्रतिरोधी क्षमता बढाउने चियासमेत वितरण गरिएको छ । कीर्तिपुर नगरपालिका वडा नं २ मैत्रीनगरस्थित आदर्श पाञ्चायन वाटिकामा रोप्न २०० बिरुवा वितरण गरिएको छ । कोरोना सङ्क्रमित भई आइसोलेसनमा बसेका वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यलाई पनि गुर्जोको बिरुवासँगै चिया एवं धुलोसमेत उपलब्ध गराइएको छ । आचार्यका छोराले कुपण्डोलमा चलाएका दृग क्याफेमा पुगी हाँस्य कलाकार आचार्यसहित त्यहाँ कार्यरत कर्मचारीलाई समेत गरी १०० गुर्जोका बिरुवा वितरण गरिएको छ । यसअघि राजधानीका वाग्मतीलगायत नदी किनारमा गुर्जो रोपणका लागि राजलवटले नै बिरुवा उपलब्ध गराएका छन् । उनले हालसम्म देशभर गरी ९५ हजारभन्दा बढी गुर्जोका बिरुवा निःशुल्क वितरण गरिएको बताएका छन् । गुर्जोको बिरुवा बाँडेको स्थानमा धुलो र चियासमेत बाँड्दै कोरोना भाइरससँग जुधिरहेकालाई रोगविरुद्ध प्रतिरोधी क्षमता विकास गर्न पनि सहयोग पुर्याउँदै आएका छन् । खाली पेटमा मनतातो पानीमा गुर्जोको धुलो राखेर खाएमा तरो ताजा अनुभव हुने गरेको छ । यसले शरीरभित्र रहेका कीटाणु मारी मानिसलाई स्फूर्ति दिन्छ । गुर्जोले मधुमेह, उच्च रक्तचाप, मौसमी रुघाखोकीलगायत रोगका लागि औषधिको काम गर्ने गरेको छ । गर्भवती महिला र पाँच वर्षमुनिका बालबालिकाका लागि भने गुर्जो सेवन गराउन हुँदैन । आयुर्वेदशास्त्रको ‘यस्य देशस्य यो जन्तोः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छन् तिनलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने भावनाअनुसार देशव्यापीरूपमा गुर्जो रोपण अभियानलाई तीव्र बनाइएको हो । गुर्जोको धुलो मनतातो पानीमा मिसाएर एक हप्ता सेवन गर्ने बानी बसाले कोरोना पोजेटिभ भएकामा छिटो निको हुने गरेको जानकारी पनि अभियानकर्मी राजलवटले दिएका छन् । माग गर्ने जति सबैलाई निःशुल्क गुर्जोको बिरुवा, गुर्जोबाट बनेको चिया र धुलोसमेत उपलब्ध गराउने अभियानकर्मी राजलवटको प्रतिबद्धता छ । देशभर एक घर एक गुर्जोको बिरुवा रोप्नुपर्ने यो अभियानमा लागेकाको मत छ । राजलवटलाई योग शिक्षक एवं राष्ट्रिय योजना आयोगका सहसचिव किशोर जोशी, जीवन विज्ञानका प्रशिक्षक रामप्रसाद पन्थी, उपत्यकाका विभिन्न स्थानमा सक्रिय सफाइ अभियानकर्मीलगायतले गुर्जोको बिरुवा वितरण अभियानमा सहयोग गरेको जनाइएको छ । रासस

२७ दिनपछि डा. केसीले अनसन तोडे, यस्ताे छ ८ बुँदे सहमति

काठमाडाैं । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले २७ दिनपछि अनसन तोडेका छन्। शनिवार मध्यराति सरकार र केसी पक्षबीच ८ बुँदे सहमति भएपछि आइतबार बिहान ९ बजे डा.केसीले अनसन तोडेका हुन्। सरकार र डा. केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । अन्यत्र २०८० फागुन १० भित्र पढाई सुरु गर्ने सहमतिमा उल्लेख छ । यस्तै चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलको क्षेत्राधिकारमा डा. केसीबीच २०७५ साउन १०लाई पनि राख्ने सहमतिमा उल्लेख छ ।

रोटरी क्लब अफ न्यूरोड सिटीले पाटन अस्पताललाई ३० लाखको स्वास्थ्य उपकरण दियो

काठमाडौं । रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंको संयोजनमा झन्डै ३० लाख मूल्य पर्ने हाइ फ्लो नासल क्यान्योला स्वास्थ्य उपकरण पाटन अस्पताललाई हस्तान्तरण गरेको छ। रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंका प्रेसिडेन्ट सरिन श्रेष्ठले पाटन अस्पतालका मेडिकल डाइरेक्टर इमरान अन्सारीलाई शनिबार उपकरण हस्तान्तरण गरेका हुन् । कोभिड–१९ को संक्रमण बढिरहेका बेला विरामीको श्वास प्रश्वासमा उपयोगी उक्त स्वास्थ्य उपकरण नेपालमा पहिलो पटक प्रयोगमा ल्याउन लागिएको हो । आईसीयूमा उपचार गराइरहेका विरामीलाई भेन्टिलेटरमा लैजानअघि हाइ फ्लो नासल क्यान्योल उपकरण प्रयोगमा ल्याउन सकिने निर्देशक डा. अन्सारीले बताए । यो उपकरणले भेन्टिलेटरको मागलाई घटाउने डा. अन्सारीको भनाइ छ । कारोना संक्रमितलाई स्वास्थ्य सेवामा सहयोग पुगोस् भनेर रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंले नयाँ प्रविधिको स्वास्थ्य उपकरण पाटन अस्पताललाई हस्तान्तरण गरेको क्लबका प्रेसिडेन्ट श्रेष्ठले बताए । उपकरण किन्नका लागि सहयोग गर्ने इनरव्हील क्बल अफ न्यूरोडसिटी काठमाडौंका तर्फबाट प्रेसिडेन्ट मिरा मरसानी श्रेष्ठ , रोटरी क्लब अफ काठमाडौं मिटटाउनका तर्फबाट प्रेसिडेन्ट कृष्णनारायण सिंह, हिमानी ट्रस्टका तर्फबाट उत्तम निरौला, उनकाजुको जापानका तर्फबाट निर्मणीलाल श्रेष्ठ, प्लानिङ होप इन्टरनेशनलको तर्फबाट किरणलाल चित्रकार, इन्गेज नेपालको तर्फबाट बेटी उडस्यान्ड लाई प्रेसिडेन्ट श्रेष्ठले धन्यवाद दिए । कोरोना संक्रमणले विषम परिस्थिति सिर्जना गरेका बेला समाजका लागि केही योगदान पुगोस् भनेर रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंले विभिन्न संघसंस्थासँगको समन्वयमा स्वास्थ्य उपकरण पाटन अस्पताललाई हस्तान्तरण गरेको यस प्रोजेक्टका संयोजक सर्भिस प्रोजेक्ट डाइरेक्टर नीलकण्ठ श्रेष्ठले बताए । सेवाभावले स्थापना भएको रोटरी क्लब भएकाले अहिलेको विषम परिस्थितिमा समाजलाई थप योगदान दिने क्लबको योजना रहेको र कोभिड–१९ ले आक्रान्त बनाएको यो परिस्थितिमा काठमाडौं उपत्यकामात्र होइन, देशको ग्रामीण क्षेत्रमा समेत थप सहयोग गर्न रोटरी क्लब तयार रहेको प्रेसिडेन्ट श्रेष्ठको भनाइ छ । निकट भविष्यमा पनि अन्य विभिन्न संघसंस्था संग समन्वय गरेर यस्तै प्रकृतिका परोपकारी काम गर्न तयार रहेको श्रेष्ठले बताए । सेवामुलक कामका लागि रोटरीसंग हातेमालो गरेर अघि बढ्न सामाजिक संस्थालाई आग्रह समेत गरे ।