चितवनमा होम आइसोलेसनमा रहेका सङ्क्रमितको मृत्यु

चितवन । कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० माइली चोकका ६७ वर्षीय पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार उनको शुक्रबार राति ९ बजे मृत्यु भएको हो । क्यान्सरका बिरामी उनको नियमित स्वास्थ्य परीक्षणका क्रममा असोज २१ गते स्वाब परीक्षणका लागि दिइएकोमा २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । योसँगै जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भई होम आाइसोलेसनमा रहेका पाँच जनाको मृत्यु भएको छ । जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या भने योसँगै ३१ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार हालसम्म जिल्लामा दुई हजार ५९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये एक हजार ५५३ जना निको भएर घर फर्किसकेका छन् । रासस

टोखामा काेराेना संक्रमितकाे संख्या १३ सय नाघ्यो

काठमाडाैं । टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ३०० नाघेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा शुक्रबार ६६ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कूल सङ्ख्या एक हजार ३०१ पुगेको हो । सबैभन्दा थोरै वडा नं १ मा २८ र सबैभन्दा धेरै वडा नं ८ मा १५६ सङ्क्रमित भेटिएका छन् । टोखामा ११ वडा छन् । यस्तै, वडा नं १ मा २८, २ मा ६२,ं ३ मा १५२, ४ मा ६३, ५ मा १३६, ६ मा १३३, ७ मा १५५, ८ मा १५६, ९ मा ८७, १० मा १०४ र ११ मा ९८ सङ्क्रमित भेटिएका हुन् । यस्तै विभिन्न ठाउँमा बसोबास गरेका र टोखा नगरपालिकामा पिसिआर परीक्षण गरेका १२७ सङ्क्रमित फेला परेका छन् । हालसम्म फेला परेकामध्ये ७३६ पुरुष र ५६५ महिला रहेका छन् । कोरोना सङ्क्रमितमध्ये ८०७ जना निको भएर घर फर्किसकेका छन् भने ४८९ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ४११ होम आइसोलेशन र ५६ बिरामीको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए । जसमध्ये २२ जना अहिलेसम्म सम्पर्कविहीन छन् । टोखामा हालसम्म कोरोना सङ्क्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ । मृत्यु भएकामध्ये वडा नं ४ मा एक, ६ मा एक, ८ मा एक र ९ मा दुईजना छन् । नगरपालिकाले कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा १७ श्ययाको आइसोलेशन सेन्टर स्थापना गरेर बिरामीको उपचार गराउँदै आएको छ । नगरपालिकामा कोरोना सङ्क्रमितको दर बढेसँगै उक्त आइसोलेशन सेन्टरको समेत स्तरोन्नति गरिने नगरप्रमुख प्रकाश अधिकारीले बताए । नगरपालिकाभित्रका सबै वडामा टोखाले पिसिआर परीक्षणको दायरालाई समेत बढाएको छ । हालसम्म झण्डै पाँच हजार व्यक्तिको पिसिआर परीक्षण गरिसकेको छ । टोखाले यसअघि नै कोरोना पोजेटिभ देखिएर होम आइसोलेशनमा बसेका बिरामीलाई प्रतिदिन ३५० भत्ता दिने निर्णय गरिसकेको छ । नगरप्रमुख अधिकारीले नगरपालिकाभित्र कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गए नगरपालिकाभित्र रहेका ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी, ग्रिनसिटी अस्पताल वसुन्धरा, अल नेपाल अस्पताल सामाखुशी र विनायक अस्पताल गोँगबुसँग सहकार्य गरेर बिरामीको उपचार गरिने बताए । रासस

‘देशको कमजोरीका कारण कोभिडबाट १० लाख मानिसको ज्यान गयो’

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले कमजोर स्वास्थ्य संरचना र स्वास्थ्यमा नागरिकको पहुँचको कम भएका कारण कोभिड १९ बाट धेरै मानिसको ज्यान गएको बताएका छन् । ‘कोभिड १९ को महाहामारी शुरु भएपछि यसबाट दश लाखभन्दा बढी मानिसको ज्यान गएको छ र यतिधेरै नागरिकको ज्यान जानुमा ती देशको कमजोर अवस्था हो ।’, महासचिव गुटर्रेसले भने । संयुक्त राष्ट्रसंघीय महासचिव गुटर्रेसले कतिपय नागरिकको स्वास्थ्यमा पहुँच नै नभएको त कतिपय देशमा नागरिकका लागि आवश्यक र पर्याप्त मात्रामा स्वास्थ्यका संरचना तथा सुविधा नै नभएको बताए । उनले गत वर्ष आफूले नै विश्वमा स्वास्थ्य सुविधा सबै नागरिकको पहुँचमा नरहेको र महंगो बन्दै गएको स्वस्थ्य सुविधा लिन नागरिकहरुको सामर्थ्य नभएको बताएको स्मरण गरे । यस्तो अवस्थामा अकस्मात कोभिड-१९को महामारी बढ्दै गएपछि यस संरचनाबाट नै धेरै नागरिकले सुविधा पाउन नसकेका उनले बताए । नागरिकको स्वास्थ्यमा पहुँच विषयक संयुक्त राष्ट्रसंघीय एक उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् । अहिलेको अवस्थामा नागरिकलाई स्वास्थ्य सुविधामा पहुँच बढाउनुपर्नेमा उनले जोड दिए । उनले विश्वमा दश लाखभन्दा बढी नागरिकको ज्यान गएको भन्दै अबका दिनमा सबै नागरिकलाई स्वास्थ्य सुविधाको उपलब्धताका लागि लाग्न विश्वका सबै सदस्य राष्ट्रहरुलाई आग्रह गरेका थिए । आफूले गत वर्षमात्र पनि विश्वको कम्तीमा पनि आधाजति जनसंख्या पर्याप्त स्वास्थ्य सुविधाबाट वञ्चित नै हुनुपर्ने अवस्था रहेको कुरा औंल्याएको तर त्यस समयमा कुनै पनि देशले आफ्नो कुरामा ध्यान नदिएको उनले बताए । तर अहिले कोभिड १९ को महामारीले यो अवस्था स्पष्ट रुपमा देखिएको उनले बताए । रासस/एएनआई