हामीले बाध्य भएर कोभिड सुरक्षा शुल्क लिएका हौं: नर्भिक अस्पताल
काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालले आफुहरु बाध्य भएर कोभिड सुरक्षा शुल्क लिएको बताएको छ । विभिन्न मिडियाहरुमा अस्पतालमा आएको कोभिड सुरक्षा शुल्क विषयमा अस्तपतालले यस्तो प्रतिकृया रहेकाे जनाएको हो । अस्पतालमा आउने बिरामी उनको परिवारको सदस्यको सुरक्षाको लागि ठुलो मात्रामा रकम खर्च भएको र त्यसको व्यवस्थापन वर्तमान शुल्कबाट समेत असंभव भएकोले आफुहरु शुल्क लिन बाध्य भएको अस्पतालले बताएको हाे । उक्त शुल्कलाई बिरामीहरुको संरक्षणका लागि प्रयोग गरिएको भनी बुझिदिनुहुन अस्पतालले अनुरोध गरेको छ । नर्भिकले कोभिड र नन्कोभिडका लागि छुट्टाछुट्टै भवनमा सेवा संचालन गर्दै आएको छ । अस्पतालमा रहेका नन कोभिड बिरामीलाई संक्रमणबाट पूर्ण रुपमा सुरक्षित राख्नलाई ठाउँ–ठाउँमा ह्याण्ड स्यानिटाइजेसन, प्रत्येक भिजिटरहरुलाई निःशुल्क मास्क डिस्पोजेबल मास्क र शू कभर आदिको दिने, ह्यूमन टच प्वाइन्ट (मानिसहरुले बढीभन्दा बढी छुनसक्ने ठाउँ) लाई वैज्ञानिक प्रविधिद्वारा हरसमय संक्रमणरहित तुल्याउने तथा प्रत्येक सेवाकर्मीहरुलाई संक्रमणबाट सुरक्षित राख्न विभिन्न खालका प्रोटेक्टिभ डियर्सहरुको प्रयोग गरिएको जनाएको छ । कोभिडको संक्रमण काठमाण्डौमा समुदायस्तरमा फैलिएको बेलामा पनि नर्भिक ननकाेभिड अस्पतालभित्र भएका बिरामीहरुलाई संक्रमणमुक्त राख्न सफल भएको र यसको एक मात्र प्रमुख कारण आफुहरुले अप्नाएका सुुरक्षा अवधारणा र उपायहरु नै रहेको अस्पतालले जनाएको छ । कोभिड प्रोटेक्सन चार्ज कोभिड बिरामीहरुलाई नभएर अस्पतालमा आउने बिरामी कुरुवाहरुहरुलाई रहेको अस्पतालले जनाएको छ ।
बैंक वित्तीय संस्थाका कर्मचारी र परिवार गरी ३ हजारलाई कोरोना संक्रमण, कहाँ राखिन्छ संक्रमितलाई ?
काठमाडौं । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण र सन्त्रासले नेपाल पनि अछुतो छैन । नेपालमा हालसम्म १० लाख ९९ हजारमा पीसीआर प्रणालीबाट परीक्षण गर्दा ९० हजार ८ सयभन्दा बढीमा कोरोना संक्रमण पुष्टी भइसकेको छ । समुदायस्तरमै फैलिसकेको कोरोना भाइरसको कारणको नेपालका बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारी र तिनका परिवारमा पनि संक्रमण फैलिसकेको छ । अहिलेसम्म बैंकमा काम गर्ने कर्मचारी र उनीहरुका परिवार गरी ३ हजारभन्दा बढीलाई कोरोना संक्रमण पुष्टी भइसकेको छ । पछिल्लो समय सरकारले संक्रमितलाई खासै गाह्रो नभए घरमै आइसोलेसनमा बस्न आग्रह गरिरहेको छ । तर, काठमाडौं उपत्यका तथा अन्य शहरी क्षेत्रमा रहेका बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीमध्ये भाडामा बस्नेको संख्या धेरै भएको र उनीहरुको डेरामा आइसोलेसनमा बस्नको लागि बेग्लै कोठा नभएकोले समस्या परिरहेको संक्रमित र उनीहरुको परिवारले बताउँदै आएका छन् । संक्रमित कर्मचारीको लागि आइसोलेसनमा बस्ने व्यवस्था सम्बन्धित बैंक तथा वित्तीय संस्थाले नै मिलाउन नेपाल राष्ट्र बैंकले निर्देशन दिइसकेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार नै आइसोलेसन र क्वारेन्टाइनको व्यवस्था नभएका कर्मचारीको लागि बेग्लै व्यवस्था गरिएको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले जानकारी दिए । ‘लक्षण देखिएका कर्मचारीको पीसीआर परीक्षणको शुल्क बैंकहरुले नै तिरेका छन्, आइसोलेसनमा बस्नुपर्ने कर्मचारीलाई तिमीहरुको घरमा बस्ने व्यवस्था छ कि छैन भनेर सोध्छौं, नहुनेलाई बैंकले नै शुल्क तिरेर होटलमा राख्ने व्यवस्था मिलाइएको छ,’ सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत समेत रहेका अध्यक्ष दाहालले भने । पीसीआर परीक्षणको लागि ल्याव र होटल खोज्नको लागि एसोसिएसनले नै पहल गरिदिएको छ । तर, एसोसिएसन आफैले होटल वा पीसीआर परीक्षणको लागि ल्यावसँग सम्झौता गरेको भने होइन । ‘विभिन्न ल्यावले हामीसँग सम्पर्क गरेका छन्, होटलहरुसँग पनि हामीले क्वारेन्टिनमा बस्नको लागि कति खर्च लाग्छ भनेर विवरण मागेका छौं, यी दुबै विवरण सबै बैंकहरुलाई दिएका छौं, बैंकहरु आफैले ल्याव र होटलसँग सम्पर्क गरेर पीसीआर परीक्षण र क्वारेन्टिनको व्यवस्था मिलाएका छन्,’ एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले भने । बैंकहरुले महंगोदेखि सस्तोसम्म ५ प्रकारका होटलसँग सम्झौता गरेर आफ्ना कर्मचारीलाई क्वारेन्टिनमा राख्ने गरेका छन् । संक्रमित व्यक्तिलाई होटलहरुले पनि राख्न नमानेको कारण केही समस्या भएको बैंकहरुले बताएका छन् । होटलले राख्न नमानेका संक्रमित व्यक्तिहरुलाई भने निजी अस्पतालहरुसँग सम्पर्क गरी त्यस्ता अस्पतालमा राख्ने गरिएको छ । संक्रमण पुष्टी भएपनि लक्षण् नदेखिएका र गम्भीर समस्या नभएका व्यक्तिहरुलाई सरकारले अस्पताल भर्ना गरी उपचारमा सहयोग गरेको छैन ।
सिन्धुली अस्पतालकाे आकस्मिक र प्रसूतिबाहेक सम्पूर्ण सेवा बन्द
सिन्धुली । सिन्धुली अस्पतालले प्रवाह गर्ने केही सेवा बन्द गरेको छ । अस्पतालमा कार्यरत केही कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि सेवा वन्द गराएको हो । सिन्धुली अस्पताल प्रशासनले एक सूचना जारी गर्दै अस्पतालमा उपचारका क्रममा सेवाग्राहीलाई समेत कोरोना सङ्क्रमण हुनसक्ने भएकाले आपत्कालीन उपचारबाहेकका अरु सेवा बन्द गरेको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले जिल्लामा कोरोना भाइरस सङ्क्रमित बढ्दै गएको र यसबाट अस्पतालका कर्मचारी पनि सङ्क्रमित भएकाले अर्को सूचना जारी नहुञ्जेलसम्म आजदेखि अस्पतालको आकस्मिक र प्रसूतिबाहेक सम्पूर्ण सेवा बन्द गरिएको बताए । उनले भने, “कोभिड–१९ को जाँच तथा स्वाब सङ्कलनमा खटिएका कर्मचारीमा कोभिड पोजेटिभ देखाएको छ । यस अवस्थामा पनि सेवा प्रवाह गर्दा कोरोना सङ्क्रमण फैलनसक्ने भएकाले केही दिन ओपिडी सेवा बन्द गराएका हाैँ ।” हालसम्म सिन्धुली अस्पतालमा कार्यरत नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने सात निको भइसकेको र दुई जना आइसोलेसनमै रहेको पोखरेलले जानकारी दिए । मङ्गलबार जिल्लामा सबैभन्दा बढी नौ महिला र १८ पुरुष गरी २७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । जिल्लामा हालसम्म १०४ पुरुष र २९ महिला गरी १३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । १९ महिला र ३३ पुरुष गरी ५२ आइसोलेसनमा छन् । ७७ जना कोरोना निको भएर घर फर्किएका छन् । अब ४२ जनाको पिसीआरको रिर्पोट आउन बाँकी छ । जिल्लामा केही दिनयता लगातार कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या उकालो लागिरहेको छ । यस्तै बन्दाबन्दी शुरु भएदेखि हालसम्म विदेशबाट एक हजार ४८४ जना जिल्लामा आएका छन् । भारतबाट १०० महिला र ६६३ पुरुष गरी ७६३ जना सिन्धुलीमा आएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत उपेन्द्र न्यौपानेले जानकारी दिए । अन्य मुलुकबाट १५३ महिला र ६३२ पुरुष गरी ६८५ जना जिल्लामा आएको जानकारी दिए । विदेशबाट आएकालाई कमलामाई नगरपालिका–६ शिवनगरमा रहेको क्वारेन्टिनमा राखिने र उनीहरुको पिसीआर जाँच गरेपश्चात नेगेटिभ रिर्पोट आएकालाई १४ दिन होमक्वारेन्टिनमा बस्ने शर्तसहित घर पठाउने गरिएको जानकारी दिए । यस्तै जिल्लाका विभिन्न पालिका तथा जनप्रतिनिधिको सम्पर्कमा विदेशबाट आएका व्यक्तिलाई पनि सम्बन्धित पालिकाले पनि क्वारेन्टिनमा राख्ने गरेको उनले जानकारी दिए । यता कोरोना सङ्क्रमण बढेपछि मालपोत कार्यालय सिन्धुली बन्द भएको छ । कार्यालयमा काम गर्ने कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि अनिश्चितरूपमा कार्यालय बन्द गरिएको छ । कार्यालयले मङ्गलबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नहुँदासम्म कार्यालय बन्द रहने जनाएकोे छ । जिल्लामा रहेका वित्तीय संस्थामा सिद्धार्थ बैंक, एनसीसी बैंक, मेगा बैंक पनि बन्द भएका छन् । रासस