जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको सेवा पुन: सञ्चालन
दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपि कोइराला श्वासप्रश्वास उपचार केन्द्रको सेवा पुनःसुचारु भएको छ । उपचार केन्द्रका प्रयोगशालाका कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि यही असोज १५ गतेदेखि सेवा बन्द गरिएको थियो । कन्ट्रयाक्ट ट्रेसिङ गरिएका ५० जनाको पिसिआर रिपोर्ट आएसँगै उपचार केन्द्रले आइतबारदेखि सम्पूर्ण सेवा सुचारु गरेको केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार कन्ट्रयाक्ट ट्रेसिङबाट उपचार केन्द्रका थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । केन्द्रका ४२ र अन्य ८ गरी ५० जनाको स्वाब परीक्षणका लागि पठाइएकामा बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ । “कोरोना सङ्क्रमण भएकालाई यसै केन्द्रको आइसोलेशनमा राखेर उपचार शुरु गरेका छौ, बाँकीको रिपोर्ट नेगेटिभ आएकाले सम्पूर्ण सेवा सुचारु गरिएको छ,” कार्यकारी निर्देशक श्रेष्ठले भने, “उपचार केन्द्रलाई पूर्ण सुरक्षित बनाएर सेवा शुरु गरेका छौ ।” कन्ट्रयाक्ट ट्रेसिङबाट गरिएको स्वाब परीक्षणमा केन्द्रका चिकित्सिक, अनमि, सुरक्षागार्ड, लेखा र प्रशासन शाखाका कर्मचारीमा कोरोना पुष्टि भएको थियो । यसैबीच दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेट डा सुनिल पौडेललाई कोरोना पुष्टि भएको छ । शनिबार स्वाब पठाएकामा आइतबार प्राप्त रिपोर्ट अनुसार उनलाई कोरोना पुष्टि भएको हो । घाँटीमा समस्या आएपछि स्वाब पठाएकामा कोरोना पुष्टि भएको उनले बताए । “एकदिन ज्वरो पनि आएको थियो, घाँटीमा पनि समस्या देखिएको थियो,” उनले भने, “अहिले पनि घाँटीमा अलिकति समस्या छ ।”उनीसँगै अस्पतालका कार्यालय सहयोगीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच जनाको स्वाब पठाइएकामा तीन जनाको रिपोर्ट आउन बाँकी रहेको छ । अस्पतालको सेवा भने सञ्चालनमै रहने भएको छ । अन्यको स्वाब पठाएर रिपोर्ट कस्तो आउँछ त्यसपछि थप निर्णय गरिने अस्पतालले जनाएको छ । रासस
विभागद्वारा फार्मेसीसँग सम्बन्धित अत्यावश्यक बाहेकका सबै सेवा बन्द
काठमाडाैं । औषधी व्यवस्था विभागले फार्मेसीसँग सम्बन्धित अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेकाे छ । विभागले आइतबार सुचना जारी गर्दै अर्काे सुचना जारी नभएसम्म फार्मेसीसँग सम्बन्धित अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेकाे हाे । विभागले अर्काे सुचना जारी नभएसम्मकाे लागि नयाँ फार्मेसी दर्ता, ठाउँसारी, धनीपरिवर्तन, व्यवसायी परिवर्तन र पुँजी थपघट लगायतका सामान्य सेवाहरु बन्द गर्ने निर्णय गरेकाे हाे ।
दशैंमा घर नजान सरकारकाे आग्रह
काठमाडाैं । याे वर्ष काेराेना भाइरसकाे कारण मानिसहरु घर जान नपाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे ईन्सिडेन्ट कमाण्ड सिस्टमले यस वर्ष यथास्थानमा बसेर दशैं मनाउनुपर्ने बताएसँगै घर जान नपाइने भएकाे हाे । आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मन्त्री भानुभक्त ढकालकाे संयाेजकत्वमा बसेकाे बैठकले आफु जहाँ छाैं त्यही बसेर दशैं मनाउने र त्यही अनुसार व्यवस्था गर्ने निर्णय गरेकाे हाे । मन्त्री ढकालका अनुसार अब याे दशैंमा नागरिकले घर जान नपाउने भएका हुन् । ढकालले पनि आफु बसेकै ठाउँमा बसेर दशैं मनाउन आग्रह गरेका हुन् । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो । नेपालमा पछिल्लो २४ घण्टामा मात्रै २२ सय ५३ जनामा कोरोना भाइरस संक्रमण देखिएकाे छ । काठमाडाैं उपत्यकामा मात्र १५९९ जना नयाँ संक्रमित भेटिएका छन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ८६ हजार ८ सय २३ जना पुगेको छ भने सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ पुगेको छ । नेपालमा आजसम्म १० लाख ७४ हजार ४ सय ४८ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । नेपालमा काेराेनाकै कारण मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ । काेराेनाका बिरामी बढ्दै गएपछि सरकारले लकडाउन गर्न सक्ने पनि अनुमान धेरैले गरेका छन् ।