राष्ट्रिय आयुर्वेद अनुसन्धानका अध्यक्षमा प्राडा. देवबहादुर रोका क्षेत्री नियुक्त

काठमाडाैं । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र विकास समितिको अध्यक्षमा प्राडा देवबहादुर रोका क्षेत्रीलाई नियुक्त भएका छन् । मन्त्रिपरिषद्को शुक्रबार बसेकाे बैठकले क्षेत्रीलाई अध्यक्षमा नियुक्त गरेको हाे । सरकारका प्रवक्ता एवम परराष्ट्रमन्त्री प्रद्रीप ज्ञवालीले आइतबार उनलाई अध्यक्षमा नियुक्त गरेको जानकारी दिए ।  

काभ्रेमा १ हजार एकमा कोरोना सङ्क्रमण

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना भाइरस् सङ्क्रमितको संख्या एक हजार एक पुगेको छ । कुल सङ्क्रमितमध्ये पुरुषको सङ्ख्या तेब्बर रहेको छ । हालसम्म ३६३ महिला र ६३८ पुरुष सङ्क्रमित रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको छ । महिलाभन्दा तेब्बर संख्याको हाराहारिमा पुरुषमा कोरोना सङ्क्रमण देखिँदै आएको छ । आइतबारसम्म सक्रिय सङ्क्रमितमध्ये १५० महिला र २४९ पुरुष रहेका छन् । काभ्रेमा हालसम्म पाँच पुरुष र चार महिला कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । पोष्टका अनुसार कुल सङ्क्रमितमध्ये पनि महिलाभन्दा पुरुषको सङ्ख्या तेब्बरभन्दा बढी छ । सङ्क्रमितमध्ये २०१ महिला तथा ३९२ पुरुषमा संक्रमण निको भैसकेको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालयप्रमुख डा.नरेन्द्र झाले जानकारी दिए । उनका अनुसार कुल सङ्क्रमितमध्ये हालसम्म ५९३ जना उपचारपछि निको भई घर फर्किएका छन् । अधिकांश सङ्क्रमित ४५ बर्ष नाघेका रहेको तथ्याङ्कले देखाएको छ । काभ्रेमा पछिल्लो केही दिनदेखि दैनिक सरदर ३० को संख्यामा संक्रमित थपिदै गएको तथ्यांकले देखाएको छ । आइतबार ४३ जनामा कोरोना सङ्क्रमण देखियो भने शनिबार १८, शुक्रबार ४३ तथा बिहीबार २३ जनामा सङ्क्रमण देखिएको छ । एकै दिन काभ्रेमा ७९ मासमेत सङक्रमण देखिएको थियो । “काभ्रेपलाञ्चोकमा हाल सरदर दैनिक ३० को हाराहारिमा संक्रमणदर देखिएको छ ”डा.झाले भने । पोष्टका अनुसार हाल सक्रिय संक्रमितमध्ये ३० महिला र ८० पुरुष अस्पताल आइसोलेशन र १२० महिला र १६९ पुरुष होम आइसोलेशनमा उपचाररत छन् । काभे्रपलाञ्चोकको कुल कोरोना सङ्क्रमितमध्ये हालसम्म ६० प्रतिशत कोरोना संक्रमणमुक्त भएका हुन् । नेपालमा कोरोना भाइरस्बाट पहिलोपटक काभ्रेस्थित धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोकको २९ बर्षिया सुत्केरी महिलाको मृत्यु भएको थियो । यसैबीच काभ्रेका १३ मध्ये तीन गाउँपालिका कोरोनामुक्त छन् । बेथानचोक, तेमाल र खानीखोला गाउँपालिका कोरोना मुक्त भएका हुन् । हाल जिल्लाकै कुल सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी ३६ प्रतिशत अर्थात् १४४ सङ्क्रमित बनेपा नगरमा छन् । सबैभन्दा कम चौंरीदेउराली गाउँपालिकामा एक जना पुरुष रहेका छन् । हाल सक्रिय सङ्क्रमितमध्ये धुलिखेलमा ११९, पनौतीमा ३१, पाँचखालमा ३९, नमोबुद्धमा २७, मण्डनदेउपुरमा नौ, भुम्लु गाउँपालिकमा तीन, रोशीमा १०, महाभारत गाउँपालिकामा तीन रहेका छन् । रासस

सप्तरीमा प्रदेश सभासदस्य सहित २७ सङ्क्रमित थपिए

सप्तरी । सप्तरीका प्रदेश सभा सदस्य अभिषेक यादवसहित नयाँ २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशसभा सदस्य यादवले सामाजिक सञ्जालमा सङ्क्रमण पुष्टि भएको जानकारी दिँदैं सम्पर्कमा रहेकाहरुलाई पिसीआर परीक्षण गर्न आग्रह गरेका छन् । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले समेत पुष्टि गरेका छन् । कोरोना सङ्क्रमित यादवले स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् । प्रदेशसभा सदस्य यादवसहित जिल्लामा नयाँ २७ जनामा कोरोना सङ्क्रमित देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । रुपनी गाउँपालिका एक जनप्रतिनिधि र ३ जनासहित रुपनी गाउँपालिकाका ११ जना, राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयका ४ जना कर्मचारीसहित राजविराजका ९ जना सङ्क्रमित भएका छन् । यस्तै तिलाठी कोइलाडी गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीका छोरा, श्रीमती र आमा, राजविराजमा कार्यरत सिरहाका ३० वर्षीय चिकित्सक र ३५ वर्षीय नर्स तथा शम्भुनाथ नगरपालिका–६ का एक जना पुरुष सङ्क्रमित हुनु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीमा पाँच दिन अघि सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा हालसम्म १ हजार ४०१ जना कोरोना सङ्क्रमित भएकोमा १ हजार ११२ जना निको भएका छन् । मृत्यु हुनेमा ३ महिलासहित २१ जना छन् । ­­­रासस