बैतडी जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापना

बैतडी । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल बैतडीमा भेन्टिलेटरसहितको दुई बेडको आइसियु कक्ष स्थापना भएको छ । कोरोनाका जटिल खालका बिरामीलाई मध्यनजर गरेर भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापना गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए । उनले भने, “हामीले जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापना गरेका छौँ ।” जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापना भएपछि सञ्चालनमा भने समस्या हुने भएको छ । आइसियुका लागि दक्ष जनशक्ति नहुँदा तत्काल सञ्चालनमा बाधा पुगेको डा जोशीले बताए । आइसियु सञ्चालनका लागि विशेषज्ञ चिकित्सकको आवश्यकता पर्ने भए पनि जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा आइसियु सञ्चालनमा समस्या आउने देखिएको छ । उनले भने, “आइसियु कक्ष स्थापना भयो तर त्यसमा काम गर्ने विशेषज्ञको अभाव हुँदा सञ्चालनमा समस्या छ ।” यस्तै जिल्ला अस्पतालमा कार्यरत डाक्टर र नर्सलाई पनि आइसियु सञ्चालनका लागि तालीमको आवश्यकता पर्ने र त्यो तालीम कसैले पनि लिएको छैन । कोरोनाका गम्भीर बिरामीलाई सेवा दिने उद्देश्यले प्रदेश सरकारले जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापनाका लागि उपकरण पठाएको थियो । उपकरणसँगै दक्ष जनशक्ति पनि आवश्यक पर्ने भए पनि दक्ष जनशक्ति नपठाउँदा आइसियु कक्ष सञ्चालनमा समस्या भएको छ । बैतडी जिल्लाभरि हालसम्म ५६९ मा कोरोना पुष्टि भएकोमा एकको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । जिल्लाभरि हाल ६४ सक्रिय सङ्क्रमित रहेकोमा ५०४ जनाले कोरोना जितिसकेका छन् । रासस

बिहिबार नेपालभर १३४३ जनामा संक्रमण पुष्टि, १३ जनाको मृत्यु

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप १३४३ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप १३४३ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ३७ हजार ५८९ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या १५ हजार ७६६ पुगेकाे छ । नेपालमा आजसम्म १७ लाख ६३ हजार ९१९ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज २१११ जना निकाे भएसँगैं हालसम्म २ लाख २० हजार २७२ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा १३ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या १५५१ पुगेकाे छ ।

प्रदेश १ मा निःशुल्क पाठेघर परीक्षण सुरु

विराटनगर । प्रदेश नं १ मा जिल्ला अस्पतालबाट पहिलोपटक पाठेघरको निःशुल्क परीक्षण सेवा सुरु भएको छ । सो सेवा धनकुटाको जिल्ला अस्पतालबाट सुरु भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा जयवेन्द्र यादवले बताए । उनले सेवा सुरु भएकै दिन सात महिलाको नमूना सङ्कलन गरिएको र एलवीसी प्रविधिबाट पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिने जानकारी दिए । पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण सेवाको बुधबार उद्घाटन कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मानिसको जीवनशैलीका कारण क्यान्सर रोगका बिरामी बढ्दै गएको बताए । उनले पुरुषको तुलनामा महिला बढी क्यान्सरबाट पीडित हुने गरेको भन्दै क्यान्सर रोग न्यूनीकरणका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए । जिल्लास्तरबाट सेवा सुरु भएको जानकारी स्थानीयस्तरसम्म पुर्याउन जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीलाई आग्रह गर्दै मन्त्री घिमिरेले धनकुटा जिल्ला अस्पताललाई शिक्षण अस्पतालका रुपमा रुपान्तरण गर्ने प्रदेश सरकारले योजना रहेको बताए । चालु आर्थिक वर्षभित्रमा धनकुटा जिल्ला अस्पतालाई १०० शय्यासहितको अस्पतालमा स्तरोन्नति गरिने मन्त्री घिमिरे जानकारी दिए ।