विदेशमा कोरोनाबाट निधन हुने नेपाली ३०१

काठमाडाैं । विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको सङ्क्रमणबाट निधन हुने नेपालीको कूल सङ्ख्या ३०१ पुगेको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप दुई नेपालीको विदेशमा निधन भएको हो । यो साता जर्मनीमा एक र भारतमा एक नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो । कोरोना भाइरसका कारण जर्मनीमा रहेका नेपालीको निधन भएको यो पहिलो घटना भएको कोभिड–१९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली सङ्घका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए । स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता जापान, साउदी अरब, युएई, पोर्चुगल र भारतमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । शनिबार साँझसम्म विदेशका ४९ मुलुकमा ४८ हजार ६३९ गैरआवासीय सङ्क्रमित भएका छन् । सोही अवधिमा ४४ हजार ६७१ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९१ प्रतिशत रहेको हो । हालसम्म नेपालमा मात्र दुई लाख १६ हजार ५९४ जना कोरोना भाइरसबाट सङ्क्रमित पुगेका छन् भने तीमध्ये दुई लाख ३४ हजार ७५६ जना कोरोनामुक्त भएका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट मुक्त हुने दर ९२ दशमलव तीन प्रतिशत रहेको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण एक हजार ५२९ जनाको ज्यान गएको छ ।

जाजरकोटमा स्वास्थ्य क्षेत्रमा देखिएको क्रान्ति

जाजरकोट । विगत १० वर्षको बीचमा भारी क्षति व्यहोरेको जाजरकोट बल्ल लयमा आएको छ । स्वास्थ्य क्षेत्रमा भएको तीव्र विकासका साथै गाउँमा जोडिएका सडकले यहाँको स्वास्थ्य क्षेत्र सुधारिएको हो । कहिले झाडापखाला त, कहिले भाइरलका कारण समस्या भोगिरहने जाजरकोट पछिल्ला दुई वर्षमा सो दर शून्यमा झरेको छ । स्वास्थ्य क्षेत्रमा बढेको जनचेतना र राज्यको लगानी भित्रिएपछि जाजरकोटले स्वास्थ्य क्षेत्रमा क्रान्ति गरेको छ । दुई वर्षअघि डोकोको सहारामा पिठ्युँमा बिरामी बोक्ने जाजरकोटका गाउँमा अहिले यातायातका साधनमै सजिलैसँग स्वास्थ्य संस्था पुग्न थालेको बारेकोट गाउँपालिकास्थित वीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालयका प्राचार्य गोरखबहादुर सिंहको भनाइ छ । उनी भन्छन्, “भर्खरै मात्र १५ शय्याको अस्पताल शिलान्यास भएको छ । प्रशासकीय केन्द्रलगायत तल्लो क्षेत्रमा सडक सञ्जालले छोएपछि आम मानिस सजिलै स्वास्थ्य संस्था जान र आउन सक्ने भएका छन् ।” “पहिले बारेकोटबाट बिरामी बोकेर सदरमुकाम ल्याउन दुई दिनभन्दा बढी लाग्ने गर्दथ्यो” उनले थपे, “अहिले अधिकांश औषधि लिम्सालगायत सबै वडामा रहेका स्वास्थ्य संस्थामा पाइने गरेको छ ।” झाडापखालाको समयमा बढी थलिएको बारेकोटमा अहिले स्वास्थ्य सूचक जिल्लाकै एक नम्बर भएको छ । सदरमुकाममा ५० शय्याको अस्पताल निर्माण शुरुसँगै नयाँ आशाका किरण पलाएको नागरिक अगुवा सहदेव बस्नेतले जानकारी दिए । उनले भने, “कर्णाली प्रदेशमा ५० शय्याको अस्पताल सुर्खेतपछि जाजरकोटमा निर्माण हुन लागेको हो । छिमेकी जिल्लामा १५ शय्याको अस्पताल मात्र भएको सन्दर्भमा जाजरकोटमा ५० शय्याको अस्पताल निर्माण शुरु भएको छ ।” हालका वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत गृहमन्त्री रहँदा विसं २०७३ जेठ १० गते ५० शय्यामा स्तरोन्नति भएको भनी उद्घाटन गरिएको थियो । अहिले जिल्लाको शिवालय, नलगाड, छेडागाड र बारेकोटमा १५ शय्याको अस्पताल उद्घाटन गरी सेवा शुरु गरिएको छ । स्थानीय सरकारको मातहतमा रहेका स्वास्थ्य संस्था कसले राम्रो बनाउने विषयमा होडबाजी छ । औषधि पसलको सहारामा चलेको जाजरकोटको स्वास्थ्य सेवा विस्तारै सरकारी सेवाको पकडमा आएको आम नागरिक बताउँछन् । धामी, झाँक्रीको भरोसा मान्ने समाज स्वास्थ्य सेवाप्रति विश्वस्त हुँदै आएको छ । असुरक्षित तरिकाले गोठमा सुत्केरी हुन बाध्य पार्ने जाजरकोटको कुनाकन्दराका गर्भवतीहरु अहिले स्वास्थ्य संस्थामा गएर सुत्केरी हुँदा सो दरसमेत ह्वात्तै बढेको स्वास्थ्य सेवा कार्यालयको तथ्याङ्कले बताएको छ । अन्य क्षेत्रभन्दा स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने कुरामा सबै सरोकारवाला सहमत मात्र भएका छैनन्, जिल्लामै डिप्लोमा इन फार्मेसी पढाइसमेत शुरु भएको छ । गाउँगाउँमा भारी मात्रामा पाइने औषधि पसल विस्थापित भएका छन् । औषधि पसलमा जथाभावी औषधि सेवन गर्दा सरकारी स्वास्थ्य सेवाबाट पाइने औषधिले काम नगर्ने समस्या अहिले मेडिकल विस्थापितसँगै हल भएको छ । जाजरकोटमा पहिलोपटक लागेको झाडापाखालबाट सरकारी रेकर्डअनुसार १६६ जनाको मृत्यु भएको थियो । दोस्रोपटक २९ जनाले ज्यान गुमाएका थिए । आशा जगाउने सरकारी कार्यक्रम सरकारी स्वास्थ्य संस्था पहुँचमा नहुँदा सर्वसाधारणबाट गुमेको विश्वास अहिले आर्जन भएको छ । सरकारी स्वास्थ्य संस्थाभन्दा मेडिकलमा गएर उपचार गर्ने नागरिक अहिले स्वास्थ्य संस्थामा भीड लाग्ने गरेको छ । स्थानीय सरकारको गतिशील योजनाले सबैको ध्यान तान्न मद्दत गरेको स्थानीयवासी बताउँछन् । स्थानीय सरकारले एम्बुलेन्समार्फत बिरामीलाई स्वास्थ्य संस्था पुर्याउँदा झन् निम्न अवस्था भएका आम नागरिकलाई सरकारी सेवाप्रति मन तानेको छ । निम्न अवस्था भएका बिरामी, शारीरिक अशक्तलाई स्थानीय सरकारले कार्यपालिकाको बैठकबाट आर्थिक सहायता गर्दा सरकारको अनुभूति सिर्जना भएको हो । कस्ता व्यक्तिलाई एम्बुलेन्स निःशुल्क सहयोग गर्ने भनी कार्यविधि नै बनाइएको छ । सबै पालिकाले आफ्नो क्षेत्रभित्र एमबिबीएस पढ्ने विद्यार्थीलाई आर्थिक सहायतासमेत दिने गरेका छन् । पैसा अभावकै कारण पढ्न नपाउने अवस्थाको अन्त्य गर्न सो व्यवस्था गरिएको नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताए । रासस

बाथरोगका बिरामीलाई हुम्लामै सेवा शुरु

हुम्ला । स्वास्थ्य सेवा कार्यालय आयुर्वेद शाखा हुम्लाले बाथरोगका बिरामीलाई सेवा दिँदै आएको छ । यतिखेर सो कार्यालयमा स्वदेन (स्टिम) बक्समार्फत बिरामीलाई सेवा दिइरहेको छ । विशेषगरी हुम्ला जिल्लाका सातवटै गाउँपालिकाभित्रका ज्येष्ठ नागरिक एवं बाथरोगले ग्रस्त भएका व्यक्तिलाई सो सेवा सञ्चालन भएको हो । हाल उक्त कार्यालयमा दैनिक ३० देखि ४० जनासम्म सेवाग्राही सेवा लिन आउने गरेका छन् । हुम्लाका नागरिक स्थानीयस्तरमै परम्परागतरूपमा घोडाको प्रयोग गरेर विभिन्न स्थानका खोलानालामा रहेका तप्पनमा गएर बाथरोग हट्ने आश्वासनमा नुहाउने चलन थियो । सो कार्यालयमा रहेको स्वदेन बक्समा बाथरोगका बिरामीको प्रकृति हेरेर पाँचदेखि १५ मिनेटसम्म भित्र बस्ने गरेको पाइएको छ । त्यस्ता बिरामीले कम्तीमा पनि एक हप्तासम्म नियमित सेवा लिनुपर्ने हुन्छ । यसलाई पञ्चकर्म सेवा पनि भनिने गरिन्छ । लामो समयदेखि बाथरोग बिरामीले थला परेकी सिमकोट गाउँपालिका–५ की ६० वर्षीया लालकला बोहराले भनिन्, “अब त हुम्लामै यो सेवा उपलब्ध हुँदा जिल्ला बाहिर जानुपर्ने समस्या हटेको छ । यो सेवा पाएपछि स्वर्ग गएजस्तै भएको छ ।” जिल्लामै स्वदेन बक्स उपलब्ध भएको भए पनि महिला पुरुषका लागि फरक–फरक मेसिन भएको भए अझै उत्तम हुने सुझाव स्थानीयवासीबाट आउन थालेको छ । “विगतका वर्षमा यो रोगका कारण लाखौँ रकम खर्च गरेर जिल्ला बाहिर जानुपथ्र्यो तर यो वर्षदेखि हुम्लामै बाथरोगीका लागि केही सेवा पाउनु भनेको उपचारमा विकास भएको मानिन्छ”, खार्पुनाथ गाउँपालिका–५ का स्थानीय प्रेमबहादुर शाहीले भन्नुभयो । हुम्लामा ग्यास पर्याप्त मात्रामा नहुँदा र विभिन्न समस्याका कारण यो सेवा सञ्चालन स्थगन गरिएको हो । यसलाई हाल नियमित सञ्चालन गर्ने जमर्को गरेकोे आयुर्वेद शाखाका प्रमुख कृष्णचन्द जोशीको भनाइ छ । विकट जिल्ला हुम्लाका सातवटै गाउँपालिकाका दूरदराजमा रहेका वृद्धवृद्धालाई यो रोगले धेरैलाई ग्रस्त बनाएको छ । यस्ता किसिमका रोगको उपचारका लागि सदरमुकाम सिमकोटसम्म आउनलाई पनि केही समस्या देखिन्छ । उनीहरु स्थानीयस्तरमै रहेका खोलानालाका तप्पनहरुमा धाउने गरेका छन् । रासस