स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको सबै बजेट स्वास्थ्य क्षेत्रमा
काठमाडौं । अर्थमन्त्री एवं रुपन्देही क्षेत्र नं. २ का सांसद विष्णुप्रसाद पौडेलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत यस वर्षको सबै बजेट स्वास्थ्य क्षेत्रका लागि छुट्टयाएका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली २०७७ अनुसार कार्यक्रम परामर्श समिति र कार्यक्रम निर्देशक समितिको बैठक निर्वाचन क्षेत्र नं। २, रुपन्देहीका संयोजक अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा बसेको बैठकले योजना तथा कार्यक्रमहरु छनौट गरेको हो । जस अन्तर्गत शंकरनगर स्वास्थ्य चौकी पूर्वाधार निर्माण एवं सुदृढीकरण कार्यक्रम तिलोत्तमा नगरपालिका वडा नं. २ रुपन्देहीका लागि रु १ करोड र पदमपाणी योग तथा प्राकृतिक चिकित्सा केन्द्र सुदृढीकरण कार्यक्रम सैनामैना नगरपालिका वडा नं.१ रुपन्देहीका लागि रु १ करोड विनियोजन गरिएको छ । यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा रोटरी क्लब अफ बुटवलसँगको सहकार्यमा क्यान्सर स्क्रिनिङ तथा सेन्टर स्थापना तथा सञ्चालन, बुटवल उपमहानगरपालिका वडा नं. ९ रुपन्देहीका लागि रु. ५० लाख र शहरी स्वास्थ्य केन्द्र पूर्वाधार निर्माण तथा स्तरोन्नती कार्यक्रम, बुटवल उपमहानगरपालिका वडा नं. १२ रुपन्देहीका लागि रु १ करोड ५० लाख रुपैयाँ छुट्टाइएको छ । पौडेलका स्वकीय सचिव यम पाण्डेका अनुसार स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत गत वर्षको सबै रकम शिक्षा क्षेत्रमा विनियोजन गरिएको थियो ।
आइतबार नेपालभर १२५५ जनामा संक्रमण पुष्टि, २५ जनाको मृत्यु
काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप १२५५ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप १२५५ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ३१ हजार ९७८ जना पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या १७ हजार ९०९ पुगेकाे छ । नेपालमा आजसम्म १७ लाख २७ हजार ८३६ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १४०४ जना निकाे भएसँगैं हालसम्म २ लाख १२ हजार ५९० जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा २५ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या १४७९ पुगेकाे छ ।
पर्वत अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट
पर्वत । पर्वत अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट बनेको छ । विगत एक वर्षका अवधिमा अस्पतालमा निर्माणाधीन भौतिक संरचना र स्वास्थ्य सेवामा थप भएका सुविधासँगै अस्पतालको उपलब्धिस्तर प्रदेशमै पहिलो बनेको हो । गण्डकी स्वास्थ्य निर्देशनालयबाट प्रदेशका ११ वटै जिल्लाका जिल्ला अस्पतालको व्यवस्थापन सुदृढीकरण मूल्याङ्कनअन्तर्गत ‘न्यूनतम सेवा मापदण्ड’ मूल्याङ्कनले अस्पतालले पछिल्लो एक वर्षमा व्यापक सुधार गरेको पुष्टि भएको छ । ‘न्यूनतम सेवा मापदण्ड’ मूल्याङ्कनमा गत वर्ष ४७ प्रतिशत नतिजा आएकामा यस वर्ष ७८ प्रतिशत नतिजा आएको हो । सुशासन तथा व्यवस्थापन, उपचार सेवा व्यवस्थापन र अस्पताल सहयोग सेवा गरी तीन वटा मूल विषयभित्र रहेर कूल ७६१ ओटा सूचकमा गरिएको मूल्याङ्कनमा अस्पतालले ती नतिजा पाएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा विनोदविन्दु शर्माले बताए । स्वास्थ्य निर्देशनालयले पर्वत अस्पतालमा भइरहेका शल्यक्रिया सेवा, डिजिटल एक्स–रे सेवा, ल्याब सेवा, मिर्गौलाको डाइलोसिस सेवा, शव चिस्यान केन्द्र, अक्सिजन प्लान्ट, सघन उपचार केन्द्र र भेन्टिलेटर सञ्चालन, गरीबका लागि विपद् कोष स्थापना, विशेषज्ञ सेवा, अत्याधुनिक अस्पताल भवन निर्माण, आयव्यय हिसाब सफ्टवेयर प्रणालीमा लैजानु, विदेशमा रहेका नेपालीसँगको सहकार्यमा आधुनिक उपकरण ल्याउनु, गत वर्ष स्वीकृत भएका सबै बजेट शीर्षकमा काम पूरा गरेर बजेट ‘फ्रिज’ हुन नदिनुलगायतलाई उल्लेख्य उपलब्धिको रूपमा लिएको हो । अघिल्लो अवधिमा प्राप्त भएको नम्बरमा एकै अवधिमा ३१ नम्बर बढी ल्याउने पर्वत अस्पताल गण्डकी प्रदेशकै पहिलो भएको उनको भनाइ थियो । ‘‘एक वर्षको अवधिमा यति ठूलो प्रतिशत अन्तरको नम्बर ल्याउन अस्पताल सफल भएको छ,’’ उनले भने, “अस्पतालमा शुरु भएका भौतिक निर्माणका काम र यहाँबाट प्रदान भइरहेका सेवा दुवै पक्षमा राम्रो सुधार भएको छ ।’’ पछिल्लो समय अस्पतालमा थप हुँदै गएका सेवा सुविधालाई निर्वाध रूपमा सञ्चालन गर्न सक्नुपर्ने उनको सुझाव छ । अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले व्यवस्थापन समितिको क्रियाशीलता, स्रोतसाधन जुटाउन गरेको मिहेनत, विभिन्न सङघसंस्थाको सहयोग तथा अस्पतालका कर्मचारीको अथक प्रयासले मात्रै अस्पतालको सेवा सुविधामा सुधार भएको र उल्लेख्य नतिजा हासिल गरेको बताए । ‘‘यो सफलता पाउनको लागि सरकारदेखि मातहतका निकाय, अस्पताल विकास समिति, सहयोग तथा चन्दादाता, कार्यरत कर्मचारीलगायत सबैको अमूल्य पसिना परेको छ,’ उनले भने ।” रासस