तारकेश्वर नगरपालिकाले हाेम आइसोलेशनमा बसेकालाई ५ हजार रुपैयाँ दिने
काठमाडाैं । तारकेश्वर नगरपालिकाले कोभिड –१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई पाँच हजार दिने भएको छ । नगरपालिकाभित्र कोरोना सङ्क्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप रकम दिइने भएको हो । कोरोना पोजेटिभ देखिएर आइसोलेशनमा बसेका बिरामीलाई प्रत्येक वडा कार्यालयबाट स्वास्थ्य शाखामा समन्वय गराई प्राप्त विवरणका आधारमा रकम वितरण गर्ने व्यवस्था गरिएको सूचना अधिकृत होमनाथ न्यौपानेले बताए । हाल नगरपालिकामा कोरोना सङ्क्रमित दुई हजार ८६ रहेकामा ८६६ महिला र एक हजार २२० पुरुष छन् । निको हुनेको सङ्ख्या एक हजार ८२९ छ । कोरोनाबाट अहिलेसम्म सात जनाको मृत्यु भएको छ भने सक्रिय सङ्क्रमित २५० जना पुगेका छन् ।
कोभिड–१९ को बहानामा अतिरिक्त शुल्क लिने अस्पताललाई कारवाही गरिने
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को बहानामा बिरामीसँग अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले केही निजी अस्पतालले कोभिड–१९ को बहानामा बिरामीबाट अतिरिक्त शुल्क लिने गरेको पाइएकाले त्यस्तो अतिरिक्त शुल्क नलिन निर्देशन दिएका हुन् । उनले बिरामीसँग अतिरिक्त शुल्क लिएको पाइएमा त्यस्ता अस्पताललाई कानूनअनुसार कारवाही गरिनेसमेत बताए । “कोभिड–१९ को सन्र्दभमा केही निजी अस्पतालले सबै किसिमका सेवामा कोभिड–१९ को बहानामा अतिरिक्त शुल्क जोडेर लिने गरेको गुनासो पाइएकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ”, उनले सूचना जारी गर्दै भनेका छन्, “कोभिड–१९ को सङ्क्रमणको समस्याले सबैलाई परेको यस्तो कठिन समयमा समेत केही निजी अस्पतालले बहिरङ्ग सेवालगायतका सबै किसिमका सेवामा केही प्रतिशत खर्च जोडेर शुल्क लिने काम नगर्न/नगराउन अनुरोध छ ।”
हुम्लामा एकैदिन ११ सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि
सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा पुनः ११ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । यही मङ्सिर १८ गते सिमकोट विमानस्थलमा कार्यरत एक महिला सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको थियो । उनको सम्पर्कमा आएका अन्य सुरक्षाकर्मीको कन्ट्याक्ट टेसिङका क्रममा स्वाव सङ्कलन गरी १२ जना सुरक्षाकर्मीको पिसीआर परीक्षण गरिएको थियो । मङ्सिर १९ गते स्वाव सङ्कलन गरी पिसीआर परीक्षणका लागि सुर्खेत पठाइएको मध्ये ११ जनामा कोरोना देखिएको जिल्ला अस्पताल हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए । यो सँगै हुम्लामा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ७८ पुगेको छ । अहिले जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ११ रहेको छ भने ६७ जना निको भइसकेका छन् । कोरोनामुक्त घोषणा गरिएको हुम्लामा केही दिन अगाडि मात्रै सदरमुकाम सिमकोटदेखि उत्तरतिर पर्ने नाम्खा गाउँपालिकाको केन्द्र यालवाङमा ५६ जनामा कोरोना पुष्टि भएपछि जिल्लामा सञ्चालन गरिएका विद्यालहरु पुनः बन्द गरिएको छ । स्थानीय तहले विद्यालय पुनः सञ्चालन गर्ने तयारी गरिरहेका बेला सदरमुकाम सिमकोटमा सङ्क्रमणको जोखिम बढेकाले विद्यालय सञ्चालनमा अन्योल छाएको छ । आइतबार सङ्क्रमण पुष्टि भएका ११ जना सिमकोट विमानस्थलमा रहेको सुरक्षा गार्ड क्वार्टरको होमआइसोलेसनमा बसेको जिल्ला अस्पताल हुम्लाका वरिष्ठ अनमी सरिता बोहराले बताए । रासस