भाइरसको सङ्क्रमण दैनिक बढ्दै, स्वाब सङ्कलन घट्दै
इलाम । कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहे पनि इलाममा भने हप्ताको दुई दिन मात्रै कोरोना परीक्षण गरिने भएको छ । स्वाब सङ्कलन गरेर ल्याब टेष्टका लागि झापाको भद्रपुर र मोरङको विराटनगर पुर्याउनु पर्ने भएकाले हप्तामा दुई दिनमात्रै स्वाब सङ्कलन गर्न सकिने स्वास्थ्य कार्यालयले बताएको छ । कार्यालयका अनुसार इलाम नगरपालिका-७ मा रहेको आइसोलेसन भवनमा हप्ताको सोमबार र बिहीबार स्वाब सङ्कलन गरिने छ । कार्यालय प्रमुख वृजकुमार दासका अनुसार परीक्षण गराउनका लागि लक्षण भएका व्यक्तिले इलाम अस्पतालको सिफारिस लिएर आइतबार र बुधबार कार्यालयमा नाम टिपाउनु पर्नेछ । दैनिक २० जनाको हाराहारीमा कोरोना बढिरहँदा कार्यालयले राखेको यो मापदण्ड अपुग जस्तो देखिन्छ । “जिल्लामा ल्याब छैन । जिल्लाबाहिर पठाउँदा सीमित सङ्ख्यामा मात्र परीक्षण हुन्छ”, कोरोनाका स्रोत व्यक्ति विमलकुमार बरालले भने, “तर सबैलाई पहुँच पुग्ने गरी परीक्षण गरिनेछ ।” जिल्लामा तिहार पछाडिको समयमा कोरोना अत्यन्त बढी देखिएको छ । स्थानीयस्तरमा कोरोना देखिएकाले परीक्षण बढाउनु पर्ने देखिन्छ । जिल्लामा तिहारपछिको समयममा मात्रै आठ जनाको निधन भएको छ भने करिब २०० सङ्क्रमित थपिएका छन् । अस्पताल र स्थानीय तहले सुरक्षाका मापदण्ड कार्यान्वयन नगराउँदा पनि कोरोना बढेको हो । विशेषगरी बजार क्षेत्रमा हिँडडुल गर्ने यात्रुलाई मास्क प्रयोग गर्न अनिवार्य नगराउनु तथा सवारीसाधनमा दूरी कायम नगरी यात्रु राख्नाले पनि कोरोना उच्च दरमा बढेको हो । जिल्लामा हालसम्म २३३ जनामा कोरोना देखिएको छ । एघार कोरोना सङ्क्रमितको निधन भइसकेको छ । एक सय ६८ जना कोरोनामुक्त भएका छन् । रासस
मंगलबार नेपालभर १३०४ जनामा संक्रमण पुष्टि, २१ जनाको मृत्यु
काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप १३०४ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप १३०४ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ३४ हजार ७५६ जना पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या १६ हजार ६३३ पुगेकाे छ । नेपालमा आजसम्म १७ लाख ४६ हजार ३३० जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज २०७३ जना निकाे भएसँगैं हालसम्म २ लाख १६ हजार ५९४ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा २१ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या १५२९ पुगेकाे छ ।
‘नागरिकको स्वास्थ्यबारे सरकार जिम्मेवार छ’
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नागरिकको स्वास्थ्यबारे सरकार जिम्मेवार रहेको बताएका छन् । योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयको आज निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोरोना महामारीबाट नागरिकलाई बचाउन प्राथमिकताका साथ काम भइरहेको छ भने । उनले भने, “महामारीबाट नागरिक बचाउन सके, विकास निर्माणपछि गरौँला । जनतालाई परेको समस्यामा तीनै तहका सरकार एकै ठाउँमा भएर सहयोगी बनेका छन् । आत्मबलले कोरोनासँग जित्न सकिन्छ ।” कोरोनाका कारण मानवीय क्षति नहोस् भन्नेतर्फ सरकार केन्द्रित रहेको मन्त्री ढकालको भनाइ थियो । सो अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सबैको सल्लाहअनुसार आइशोलेसन स्थापना गरिएको बताए । नब्बे जनाको क्षमता रहेको सो आइशोलेसनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गए दुई सयजनासम्म राख्न सक्ने गरी व्यवस्था गरिने उनले जानकारी दिए । सो अवसरमा महानगरका प्रवक्ता अरुण पीडित भण्डारी, चिकित्सालयका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, निर्देशक डा हेमराज कोइराला लगायतले बोलेका छन् । आइसोलेशनमा हालसम्म ३६१ जनाले उपचारपछि घर फर्किएका छन् भने १६ जना उपचाररत रहेका छन् । रासस