एमबिबिएसको अनुमतिको पर्खाइमा कर्णाली स्वास्थ्य प्रतिष्ठान
खलङ्गा । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले छिट्टै चिकित्सा विषयको स्नातक तहको पढाइ शुरुआत गर्ने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक सहयोग गर्ने जनाएको छ । हालसम्म सरकारले प्रतिष्ठानलाई सो तहको अध्ययन अध्यापन गराउन अनुमति दिएको छैन । जिल्लाका स्वास्थ्य अवस्थाका बारेमा अनुगमन गर्न यहाँ भएका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रतिष्ठानले सो तहको अध्ययनका लागि माग गरेको र मन्त्रालयले सहजीकरण गरिरहेको बताए । उनले प्रतिष्ठानको भौतिक पूर्वाधार, जनशक्ति विकास तथा उपकरणको थप व्यवस्था गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने जानकारी दिए । प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्रराज बाग्लेका अनुसार प्रतिष्ठानले एमबिबिएस तहको अध्ययन अध्यापनका लागि आवश्यक पूर्वाधार, पाठ्यक्रम तथा जनशक्तिको आवश्यक तयारी लगभग पुरा गरिसकेको छ । उनले भने, “प्रतिष्ठान एमबिबिएस तहको पठन पाठन गर्न अनुमतिको प्रतिक्षामा छ । यस तहको पठन पाठनले दुर्गम क्षेत्रमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव हुने छैन ।जनताले घर आगनमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने छन् ।” कार्यक्रममा प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापाले ६ अर्बको बहुवर्षीय योजना पारित भइसकेको जानकारी दिँदै यसलाई कार्यान्वयन गर्न मन्त्रालयको सहयोग आवश्यक रहेको बताए । उनले प्रतिष्ठानले स्वास्थ्य सेवा घरघरमा पु¥याउन उच्च प्राथमिता दिइ काम गरिरहेको जानकारी दिए । प्रतिष्ठानका वरिष्ठ प्रशासकीय अधिकृत अमृत भण्डारीका अनुसार प्रतिष्ठानले कर्णालीमा कोरोना परीक्षण तथा उपचारमा उल्लेखनीय सफलता प्राप्त गर्दै आएको छ । कर्णाली प्रदेशका ४२ स्थानीय तहमा पाँचदेखि १५ श्ययाका अस्पतालको शिलान्यास समेत भएको छ । कार्यक्रममा पूर्वराज्यमन्त्री बलबहादुर महतले प्रतिष्ठानको पूर्वाधार र एमबिबिएसको लागि सहयोग गर्न सरकारसित अनुरोध गरे ।
मंगलबार नेपालभर १३८२ जनामा संक्रमण पुष्टि, २३ जनाको मृत्यु
काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप १३८२ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप १३८२ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ४३ हजार ३७७ जना पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या १२ हजार ६८६ पुगेकाे छ । नेपालमा आजसम्म १७ लाख ९९ हजार ६८६ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १६३७ जना निकाे भएसँगैं हालसम्म २ लाख २९ हजार ५४ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा २३ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या १३६७ पुगेकाे छ ।
चन्द्रागिरिमा युवाले शुरू गरे ‘म नै बनाउँछु, मेरो लागि अस्पताल’ अभियान
काठमाडौं । चन्द्रागिरि नगरपालिकाभित्र बसोबास गर्ने विभिन्न क्षेत्रमा क्रियाशील युवा मिलेर ‘म नै बनाउँछु, मेरो लागि अस्पताल’ भन्ने अभियान शुरुवात गरेका छन् । चन्द्रागिरिमा सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको अस्पताल बनाउने परिकल्पना बोकेर युवाले सो अभियान शुरु गरेका हुन् । अभियानलाई आगामी दिनमा कसरी सार्थक बनाउने र कार्यान्वयनमा लैजाने भन्ने ध्येयले आज पहिलो चरणको छलफल तथा भेला सम्पन्न भएको गुर्जुधारास्थित अन्तर्राष्ट्रिय भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टरका सञ्चालक रामनारायण घिमिरेले जानकारी दिए । उनले नगरभित्र सुविधासम्पन्न अस्पताल निर्माण गर्ने अभियानलाई सहयोग गर्न नगरवासीलाई आग्रह गर्दै आफूले पनि सहयोग गर्ने जानकारी दिए । “हामी जो जहाँ छौं, त्यहीँबाट सहयोगी मन लागौं, असम्भव भन्ने केही छैन ।”, उनले भने । सो अवसरमा वडा नं १२ का अध्यक्ष श्रेष्ठले प्रस्तावित ५५ रोपनी जमीन उपयुक्त भएमा सहयोग गर्ने जानकारी दिए । राष्ट्रिय ट्रक यातायात महासङ्घका महासचिव राजेन्द्रविक्रम बानियाँले अस्पताल बनाउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए । प्रारम्भिक छलफलमा चन्द्रागिरि नगर प्रवक्ता हरिभक्त महर्जन, वडा नं १२ का वडाध्यक्ष प्रकाश श्रेष्ठ, वडा नं ७ का वडाध्यक्ष सञ्जय सिग्देल, युवा व्यवसायी राजेश घिमिरे, माधव अधिकारी, राजन श्रेष्ठ, युवा समाजसेवी, भुवन गिरी, पेशल खतिवडा, सञ्चारकर्मी रोशन दानी, श्यामसुन्दर पुडासैनीलगायतको उपस्थिति थियो । रासस