स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताकाे छानविन गरी कारबाही गरिने
काठमाडाैं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको भन्दै छानविन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउने निर्णय गरेको छ । समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गत चैतमा भएको स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको ठहर गर्दै छानविन गरी कारबाही गर्न अख्तियारलाई पत्र पठाउने निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै समिति सचिव डा. रोजनाथ पाण्डेले कोकसले अनियमितता गरेका छन् छानविन गरी कारबाही गर्न पत्र पठाउने निर्णय भएको बताए । ‘आज माननिय मन्त्रीसँग विभिन्न कोणबाट छलफल भयो । माननिय सदस्यहरुले पनि स्वास्थ्य उपकरण र औषधि खरिदसँग सम्बन्धित कोभिड १९ सँग जोडिएको मुद्दामा विगत २०७६ सालको चैत महिनामा भएको खरिद प्रक्रियाको सन्दर्भमा विचार विमर्स गर्ने क्रममा समिति के निष्कर्षमा पुग्यो भने यो खरिद प्रक्रिया पूर्ण रुपमा नियमसंगत नभएको कारणले र यसमा विभिन्न पदाधिकारीहरुको संलग्न हुनुहुन्छ । उहाँहरु दोषी हुनुहुन्छ । दोषी करार गर्ने अवस्था सिर्जना भएको हुनाले यसको थप छानविन गरेर कोको दोषी हुनुहुन्छ, कसकसले अनियमितता गर्नुभएको छ त्यो कुरा पहिचान गरेर कानूनी कारबाही गर्नको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखि पाउने गरी निर्णय भएको छ । त्यो निर्देशन समितिको तर्फबाट आयोगलाई पठाउने छौं र त्यसको अनुसन्धान अगाडि बढ्छ भन्ने हामीलाई लाग्छ ।’, उनले भने । समितिले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई बैठकमा बोलाएर स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता सम्बन्धमा छलफल गरेको थियो ।
कोभिड सङ्क्रमित अब १० दिन मात्र क्वारेन्टिनमा बसे हुने
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ सङ्क्रमितको क्वारेन्टिन वा आइसोलेशनमा रहने समयावधि घटाएको छ । यसअघि सङ्क्रमित १४ दिन अनिवार्य क्वारेन्टिन वा आइसोलेशनमा बस्नुपर्नेमा अबदेखि १० दिन मात्र बसे हुने जनाइएको छ । विभिन्न अध्ययनले १० दिनपछि सङ्क्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने देखाएपछि क्वारेन्टिन वा आइसोलेशनमा बस्नुपर्ने समयमा विधि घटाइएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । सङ्क्रमणको लक्षण चिह्न देखिएर बिरामी भएका र गम्भीर प्रकृतिका बिरामीबाहेक सबै सङ्क्रमितलाई १० दिन मात्र राख्ने मन्त्रालयको नीति, योजना र अनुगमन महाशाखाले निर्णय गरेको थियो । यस्तै मन्त्रालयको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालक केन्द्रले विदेशबाट नेपाल आउने व्यक्तिलाई अनिवार्य १० दिन क्वारेन्टिन वा आइसोलेशनमा बस्न भनेको छ । केन्द्रका प्रमुख तथा सहप्रवक्ता डा अधिकारीले सूचना जारी गर्दै विदेशबाट नेपाल आएका वा सङ्क्रमितको सम्पर्कमा आएको दिनदेखि कम्तीमा १० दिन अनिवार्य क्वारेन्टिन वा आइसोलेशनमा बस्नुपर्ने जानकारी दिए । महाशाखाले १० दिन बसेका आधारमा मात्र स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक गर्न सबै अस्पताललाई समेत अनुरोध गरेको छ । महाशाखा प्रमुख डा गुणराज लोहनीले सूचना प्रणाली अद्यावधिक गरेअनुसार नै अस्पताललाई शोधभर्नाबापतको रकम उपलब्ध गराइने जानकारी दिए । उनले कुनै पनि अस्पतालले कोभिड-१९ का बिरामी भर्ना गरी उपचार गरेको सूचना प्रणालीमा अद्यावधिक नगरेमा मन्त्रालय/प्रदेश/स्थानीय तहबाट हुने अस्पताल नवीकरण वा सूचीकरण नहुने व्यवस्थासमेत गरिएको जानकारी दिए । मन्त्रालयले निःशुल्क उपचार गरेवापतको शोधभर्ना रकम माग गरिएका बिरामीबाट कुनै पनि शुल्क नलिन समेत अनुरोध गरेको छ । मन्त्रालयले बिरामीबाट शुल्क लिएको पाइएमा शोधभर्ना नगरिने बताएको छ । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमित ४४४ जना क्वारेन्टिनमा र छ हजार ९४ जना होम आइसोलेशनमा छन् । त्यस्तै दुई लाख ५१ हजार ६९२ सङ्क्रमित, दुई लाख ४० हजार ३६३ निको र एक हजार ७४९ जना सङ्क्रमणका कारणले निधन भएका छन् । रासस
कोरोना बीमाका लागि दाबी गरेका ४७ प्रतिशत बीमितले पाए भुक्तानी
काठमाडौं । कोरोना भाइरस बीमा गरेका १२ हजार १ सय ९० जना बीमितले भुक्तानी पाएका छन् । कोरोना बीमा भुक्तानीका लागि दाबी गरेका २३ हजार ५६ जना बीमितहरुमध्ये हालसम्म १२ हजार १ सय ९० जनाले भुक्तानी पाएका हुन् । जो कुल दाबी गर्नेहरुमा ४७.११ प्रतिशत हो । यस्तै, बीमा समितिले दिएको जानकारीका अनुसार हालसम्म २३ हजार ५६ जनाले कोरोना बीमा भुक्तानीका आवेदन दिएका छन् । कोरोना बीमाको भुक्तानीका लागि २ हजार १ सय ११ बीमितका फाइल प्रकृयामा रहेको समितिले जनाएको छ । यस्तै, आवेदन भुक्तानीका लागि परेको आवेदनहरुको यकिनका लागि केन्द्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा २५ सय ५४ वटा फाइल एप्रुभल अवस्थामा रहेका छन् भने । १ हजार ११ फाइल पठाउनको लागि तयार गरिएको समितिले जनाएको छ ।