ठूला अस्पतालमा अक्सिजन प्लान्टको स्थापना गरिने, स्वास्थ्यकर्मीलाई जोखिम भत्ता र बीमाको सुविधा
सरकारले ठूला अस्पताल तथा मेडिकल कलेजमा मेडिकल प्लान्ट स्थापना गर्ने भएकाे छ । सोमबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला अस्पताल तथा मेडिकल कलेजमा मेडिकल प्लान्ट स्थापना गर्ने बताएका हुन् । उनले सञ्चालनमा नआएकाहरुलाई ममर्त गर्ने र लिक्विड अक्सिजनको निर्यात रोक्ने निर्णय भएको समेत बताए । देशभरका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन हाललाई अस्पताल र उपचार प्रयोजनका लागि मात्र प्रयोग गर्ने गरी अन्य क्षेत्रमा आपूर्ति गर्न रोक लगाइएको प्रधानमन्त्री ओलीले जानकारी दिए । यस्तै, जनशक्ति अभाव हुन नदिन अवकाश प्राप्त चिकित्सक र अन्य स्वाथ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गर्ने तथा फ्रन्टलाइनमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई सुरुको तलब स्केलको ५० प्रतिशत जोमिख भत्ता दिनुका साथै विमा र परिवारको उपचार गर्ने उनले बताए । यस्ताे छ प्रधानमन्त्री ओलीकाे सम्बाेधनकाे पूर्णपाठ: आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, – एकवर्ष अघि यसै समयतिर हामीहरु कोभिड–१९ को प्रारम्भिक असर भोग्दै थियौं । मानिसको जीवन र अर्थतन्त्रको रक्षा बीच कसरी सन्तुलन कायम गर्ने भन्नेमा बहस जारी थिए । हामीले ‘जीवन पहिला’ भन्यौं र त्यही अनुरुप योजनाहरु बनायौं । एकबर्षपछि समीक्षा गर्दा हाम्रो निर्णय सही थियो भन्नेमा अहिले द्विविधा रहेन । देशवासीको जीवन रक्षा, महामारी रोकथाम, नियन्त्रण तथा उपचारमा हाम्रो क्षमताको अधिकाधिक प्रयोग भयो । सबैको सहयोगमा गत वर्षको कात्तिक अन्त्यसम्ममा हामी महामारीलाई नियन्त्रण गर्ने स्थितिमा आइपुगेका थियौं । – यस सफलताको लागि महामारी बिरुद्ध अग्रपंक्तिमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, चालक र सफाइकर्मी सहित सबै तह र तप्काका राष्ट्रसेवक कर्मचारीहरुको भूमिका उल्लेखनीय रह्यो । त्यस असमान्य घडीमा सङ्क्रमितहरूको उपचार र व्यवस्थापनमा अहोरात्र खट्ने सबैको त्याग, समर्पण र लगनशीलताको म उच्च प्रशंसा गर्दछु । – अहिले हामी कोभिड–१९ महामारीको दोस्रो लहरको सामना गर्दैछौं । कोभिडको यो लहर नयाँ स्वरुपमा थप घातक रुपमा देखा परेको छ । संक्रमणको दर र मृत्युदर गतबर्षको तुलनामा बढी छ । हिजोको २४ घन्टाको तथ्याङ्कलाई उदाहरणको रुपमा लिँदा, पीसीआर परीक्षण गरिएका १६ हजार ७७० केसमध्ये झण्डै ४३ प्रतिशत अर्थात ७ हजार २११ मा संक्रमण देखिएको छ । – हिजो साँझसम्म कूल संक्रमित संख्या ३ लाख ३६ हजार ३० पुगेको छ । कूल संक्रमितमध्ये निको भएका संक्रमित ८४।५ प्रतिशत, निको हुने क्रममा रहेका संक्रमित १४।५ प्रतिशत र ज्यान गुमाउनेको संख्या ०।९९ प्रतिशत छ । ३० जिल्लामा २०० भन्दा बढी र १५ जिल्लामा ५०० भन्दा बढी संक्रमित संख्या छ । ७२ जिल्लामा कोभिड–संक्रमित रेकर्ड भएका छन् । बैशाख १९ गतेसम्मको कूल संक्रमितमा ३८।४ प्रतिशत काठमाडौं जिल्लामा मात्रै र ५०।४ प्रतिशत काठमाडौं उपत्यकामा मात्रै छन् । – यस महामारीबाट संक्रमित भई अस्पतालमा उपचार गराइरहुनु भएका र घरमै आइसोलेसनमा बसी स्वास्थ्यलाभ गरिरहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुको शीघ्र्र स्वास्थ्यलाभको कामना गर्दछु । – हालसम्म ३ हजार भन्दा बढी देशवासीले अनाहकमा यस महामारीबाट जीवन गुमाउनु परेकोमा दुःख व्यक्त गर्दछु र उहाँहरुका शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । दिदीबहिनी तथा दाजुभाइहरु, – गतबर्ष यो महामारी नेपाल भित्रिनुअघि नै सरकारले यसको रोकथाम र नियन्त्रणका लागि सरकारी निकायबीच समन्वय गरी प्रभावकारी काम गर्न माननीय उपप्रधानमन्त्रीको संयोजकत्वमा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रीय निर्देशक समिति गठन गरेको सबैलाई जानकारी नै छ । त्यसैको योजनामा देशभर होल्डिङ सेन्टर र आइसोलेसन केन्द्र बनाइएको थियो, क्वारेन्टिनको व्यवस्थापन र अस्पतालहरूमा शीघ्र उपचारको व्यवस्था मिलाइएको छ । शून्यको संख्यामा रहेको पीसीआर परीक्षण ल्याव संख्या क्रमशः बढाउँदै लगिएको थियो । हाल सरकारी र निजीस्तरका गरी ८७ स्थानमा पीसीआर परीक्षण हुने गरेको छ । सबैजसो अस्पताललाई कोभिडको उपचार गर्नसक्ने स्थितिमा पुर्याइएको छ । गत एक वर्षको तुलनामा स्वास्थ्य संरचनामा उल्लेखनीय सुधार गरिएको छ । सबै स्थानीय तहमा ५ देखि १५ शैयाका आधारभूत अस्पताल निर्माण र केद्र तथा प्रदेशमा संक्रामक रोग अस्पताल निर्माणलाई तीब्रता दिइएको छ । – अप्ठ्याराकै बीचमा हामीले कोभिड–१९ विरुद्ध सबैलाई निःशुल्क खोप उपलब्ध गराउने प्रक्रिया शुरु गरिसकेका छौं । आफ्ना देशवासीलाई कोरोनाबिरुद्ध खोप लगाउनेमा हामी दक्षिण एशियामै भारतपछि पहिलो मुलुक हौं । हाल सम्ममा करिब २१ लाखलाई पहिलो डोज खोप लगाइ सकिएकोे छ । दोस्रो डोज खोप लगाउन आरम्भ गरिएको छ, अहिलेसम्म झण्डै ३ लाख ७० हजारले दोस्रो डोज खोप लगाइसकेका छन् । यस संख्यामा स्वास्थ्यकर्मी लगायत अन्य अग्रपंक्तिमा खटिने व्यक्तिहरू रहेका छन् । – मित्रराष्ट्रहरूबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आफैं आवश्यक मात्रामा खोप खरिद प्रक्रिया शुरु गरिसकेको छ । चीन, रुस लगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रमा खोप ल्याइसक्न नेपाल सरकार प्रयत्नशील छ । दिदीबहिनी तथा दाजुभाइहरु, – कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट बञ्चित हुनु नपरोस् र महामारीका कारण कसैले जीवन गुमाउनु नपरोस् भन्नेमा सरकार संवेदनशील छ । नागरिकको जीवनरक्षा यस सरकारको पहिलो दायित्व हो भन्नेमा म पुनः जोड दिन चाहन्छु । – त्यसैले महामारीको दोस्रो लहरको रोकथाम र नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालित छन् । सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयात्मक एवम् प्रभावकारी ढङ्गले कोभिड बिरुद्धको लडाईंलाई कार्य अघि बढाउन प्रदेश केन्द्रित हुनेगरी अहिले नेपाल सरकारका एकरएक जना मन्त्रीलाई ‘फोकल व्यक्ति’ तोकिएको छ । – संक्रमणको साङ्लो चुडाउन अस्पताल वा आइसोलेशन केन्द्रको व्यवस्था गरेर मात्रै पुग्दैन, एकहदसम्म लकडाउन आवश्यक हुन्छ भन्ने विज्ञहरुको सल्लाह अनुसार केही अवधिको लागि निषेधाज्ञा जारी गरिएको छ । यसलाई थप कडाई गरिंदैछ र प्रभावकारी ढंगले लागू गर्न पहिलेझैं सबैबाट सहयोग हुने अपेक्षा सरकारले राखेको छ स् – यही २०७८ बैशाख २० गते राति १२ बजेदेखि बैशाख मसान्तसम्म आन्तरिक उडान बन्द गर्ने निर्णय गरिएको छ । – २०७८ बैशाख २३ गते राति १२ बजेदेखि बैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरिएको छ । – स्थलमार्गबाट विदेशी नागरिकको आवागमन बन्द गरिएको छ । नेपाली नागरिक प्रवेशका लागि नेपाल भारतबीच रहेका सीमा नाकामध्ये १३ नाका मात्र सञ्चालनमा ल्याइएको छ । आपूर्ति व्यवस्था प्रभावित नहुने गरी सोसँग सम्बन्धित ढुवानीका साधन भने यथावत सञ्चालन हुने व्यवस्था मिलाइएको छ । – भारतसँग सिमाना जोडिएका नाकामा रहेका हेल्थ डेस्कबाट एन्टिजेन परीक्षण गरेर मात्र सीमा प्रवेश गर्ने व्यवस्था मिलाइने छ । सबै तहमा कन्ट्याक ट्रेसिङ बढाउन लगाइएको छ । – स्थलमार्ग, चार्टर्ड वा उद्धार हवाई उडानबाट आउने हरेक व्यक्तिलाई परीक्षण गरिने छ । कोही सङ्क्रमित पाइएमा उनीहरुलाई उपचार गरेर मात्र समुदायमा पठाउने व्यवस्था मिलाइएको छ । – प्रत्येक स्थानीय निकायले नेपाल बाहिरबाट आउने व्यक्तिको अभिलेख राखी क्वारेन्टिन, आइसोलेसन तथा उपचारको व्यवस्था गर्ने र घर तथा संस्थागत आइसोलेसनको नियमित अनुगमन गर्ने प्रबन्ध गरिएको छ । – सरकारी तथा अन्य कार्यालयमा एक चौथाई कर्मचारीबाट कार्यसम्पादन गराउन शुरु गरिएको छ । अत्यावश्यक बाहेक अन्य कार्यालय, संघसंस्था बैशाख मसान्तसम्म बन्द रहनेछन् । – नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र १ हजार शय्याको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिइएको छ । – वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रि–चन्द्र मिलिटरी अस्पताल, काठमाडौं उपत्यकाका धेरै शैय्या भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रूपमा सञ्चालन गरिनेछ । – प्रदेश सरकारले पनि उक्त प्रदेशमा रहेका मेडिकल कलेज तथा ठूला अस्पताललाई कोभिड अस्पतालको रूपमा र साना अस्पताललाई नन–कोभिड अस्पतालको रूपमा सञ्चालन गर्नेछन् । – सबै प्रकारका सार्वजनिक एवं सामुदायिक स्थल, रङ्गशाला, सभाहल, पार्टी प्यालेस, होटल, कारखाना, गोदामघर लगायतका संरचनाहरू प्रयोग गरी सुविधायुक्त क्वारेन्टिन, आइसोलेसन केन्द्र र आवश्यक होल्डिङ सेन्टरको प्रबन्ध गर्न लगाइएको छ । – सबै सरकारी तथा निजी अस्पतालले आफूकहाँ उपलब्ध शय्या र तीमध्ये प्रयोग भएका वा नभएका शय्याको दैनिक विवरण अद्यावधिक गर्ने र त्यस विवरण तत्काल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पठाउनु पर्नेछ । कुनै अस्पतालले विवरण पूरा नपठाई शय्या लुकाएको भेटिएमा कारबाही हुनेछ । – ठूला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्टको स्थापना गरिनेछ । सञ्चालनमा नआएका अक्सिजन प्लान्टलाई शीघ्र मर्मत गरी सञ्चालनमा ल्याइनेछ । लिक्विड अक्सिजनको अवैध निर्यात गर्नेलाई कडा कारबाही गरिनेछ । लिक्विड अक्सिजन तथा अक्सिजन जेनेरेटर खरिद गरेर मौज्दात राखिने छ । देशभरका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन हाललाई अस्पताल र उपचारको प्रयोजनका लागि मात्र प्रयोग गर्नेगरी अन्य क्षेत्रमा आपूर्ति गर्न रोक लगाइएको छ । – कोभिडको उपचारमा प्रयोग हुने एन्टिभाइरल औषधि तथा अन्य जीवनरक्षक औषधि प्रत्येक अस्पतालले मौज्दातमा राख्नुपर्ने व्यवस्था गरिएको छ । यस्ता औषधिको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाई कडा कारबाही गरिनेछ । – स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन सङ्घ, प्रदेश र स्थानीय तहमा अवकाशप्राप्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गरिनेछ । कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारप्रसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, चालक तथा सहचालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई शुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता, परिवारको उपचार र बिमाको व्यवस्था गरिनेछ । – जनस्वास्थ्य मापदण्ड पालना गराउन सुरक्षाकर्मीलाई टोल, बस्ती, गल्ली तथा अन्य ठाउँमा परिचालन गरी चौबीसै घण्टा अनुगमन र निगरानी गरिनेछ । मापदण्डको उल्लङ्घन गर्नेलाई कानुनबमोजिम दण्डित गरिनेछ । – सङ्क्रमणको साङ्लो तोड्नको लागि जारी गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीका कारण कसैलाई पनि भोकै पर्न नदिनेमा सरकार सचेत रहन्छ । महामारी नियन्त्रण भएसंगै अर्थतन्त्र र रोजगारीका क्षेत्रलाई ध्वस्त हुन नदिन आवश्यक प्रबन्ध गरिने नै छ । – जनस्वास्थ्यका मापदण्ड पालनाको नेतृत्व गृह मन्त्रालयले र जनचेतनाको नेतृत्व सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गर्नेछन् । परीक्षण, उपचार तथा अन्य विषय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले र खोप आयातको नेतृत्व परराष्ट्र मन्त्रालयले गर्नेछन् । अन्तर मन्त्रालय समन्वयमा काम गरिनेछ । दिदीबहिनी तथा दाजुभाइहरु, – महामारीको सङ्क्रमण बढ्न नदिन सरकारले आफ्नो दायित्व हर हालतमा पूरा गर्छ । यसलाई प्रभावकारी बनाउन सरकारका साथै आम नगारिकको पनि उत्तिकै भूमिका हुन्छ । त्यसैले, – सकभर घरमै बसौं, घरबाहिर निस्कनुपरेमा अनिवार्य रूपमा सही तरिकाले मास्क लगाऔं, – समय समयमा साबुनपानीले हात धोऔं वा स्यानिटाइजरले हात सफा गर्ने गरौं – भोजभतेर तथा पर्व घरमै मनाउँ – भौतिक दूरी कायम गरौं, भीडभाडबाट टाढै रहौं । – हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहोऔं – चिकित्सक, विज्ञ तथा प्राविधिकहरुको सल्लाहलाई पालना गरौं । – धैर्य गरौं, संयमता अपनाऔं । – सावधान होऔं तर आतङ्कित नहोऔं । – गतवर्ष गरिएको बन्दाबन्दी र जारी गरिएको निषेधाज्ञाका समयमा हामीले पालना गरेको अनुशासनले महामारीको असर धेरै हदसम्म कम हुन गएको थियो । यसमा भएको हेलचेक्र्याईंले क्रमशः महामारी फैलिन बल पुर्याएको तथ्यलाई हामी सबैले मनन गरौं । नभुलौं, महामारीले कसैलाई पनि छाड्दैन । – अन्त्यमा, महामारी नियन्त्रणका लागि सरकारले चालेका कदम र लिएका पहलमा सबैको साथ सहयोग प्राप्त हुने अपेक्षा गर्दछु । चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, चालकरसहचालक, सफाइकर्मी एवम् सम्बद्ध सबैलाई विचलित नभई आ–आफ्नो कर्तव्य निर्वाह गर्न म हार्दिक आह्वान गर्दछु । – राजनीतिक दलका नेतारकार्यकर्ता, सामाजिक संघसंस्था एवम् प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरूलाई कोभिडविरुद्ध जनचेतना जगाउन र असहायलाई सहयोग गर्न समेत आग्रह गर्दछु ।
स्वास्थ्यकर्मीले तलबको ५० प्रतिशत जोखिमभत्ता पाउने, अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई पनि एक वर्षका लागि काममा फर्काइने
काठमाडौं । सरकारले कोरोना भाइरसबाट संक्रमतिहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई ५० प्रतिशत जोखिम भत्ता दिने भएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै स्वास्थ्यकर्मीहरुलाई तलबको ५० प्रतिशत जोखिम भत्ता तथा परिवारको खर्चका लागि सहयोग गर्ने बताए । यस्तै, उनले अवकास प्राप्त स्वास्थ्यकर्मीहरुलाई एक वर्षका लागि करारमा नियुक्त गरेर काममा लगाउने बताए । उनले कोरोना भाइरसको विषम परिस्थितिमा यसको संक्रमण कम गर्न सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न अनुरोध गरे । ओलीले अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल प्रवेश गर्ने हरेकको परीक्षण गरिने पनि बताएका छन् ।
सेती प्रादेशिक अस्पतालमा कर्मचारी कम हुँदा नमूना परीक्षण गराउनै सकस
सुदूरपश्चिम । आज बिहान धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुग्दा कोरोना परीक्षण गराउन चाहनेको लामो लाइन थियो । हल्का ज्वरो र टाउको दुख्ने जस्ता समस्या देखिएपछि कोरोनाको नमूना जँचाउन नाम दर्ता गर्ने भन्दै सर्वसाधारणको भीड देखिन्थ्यो । भीडभाडले आफूमा कोरोना सङ्क्रमण हुने भन्दै कतिपय व्यक्ति नमूनाका लागि नाम दर्ता नगरी फर्किइरहेका थिए । लामो लाइन देखेर अस्पताल परिससरमा सुरक्षा व्यवस्थापनमा खटिएका अस्पतालका एक कर्मचारीले भने, ‘पिसिआर जाँचका लागि पचास जनाभन्दा बढीको नाम दर्ता हुँदैन, लाइनमा बस्नेले मात्र नाम दर्ता गराउन पाउँछ ।’ लाइनमा नबस्नेले नाम दर्ता पनि गर्न नपाउने भनेपछि नमूना जँचाउन गएका स्थानीयवासीले भने, ‘अस्पताल प्रशासनले नमूना परीक्षण गर्ने गराउने कार्यलाई समेत उचित ढङ्गले व्यवस्थापन गर्न नसक्दा निकै समस्या भयो ।’ अस्पतालका कर्मचारीको भनाइपछि लाइनमा लागेकाहरु कतिपय अन्योलमा परेका थिए । भीड बढेपछि कतिपय स्वास्थ्यकर्मी धनगढी उपमहानगरपालिकाको स्वाब सङ्कलन केन्द्रमा जान सल्लाह दिइरहेका थिए । लाइनमा उभिएका अर्का एक जनाले भने, ‘जनता पिसिआर जाँच गराउन सङ्क्रमणको जोखिम मोलेर भए पनि बिहानै ७ः०० बजेदेखि लाइनमा बस्नु प¥यो, अहिले आएर पचासभन्दा बढीको परीक्षण नहुनेभन्दा नमूना परीक्षण गर्नै समस्या भयो ।’ बिहान १०ः०० बजेपछि मात्र कोरोना परीक्षणका लागि नमूना दिन पाइने भए पनि बिहानै ७ः०० बजेदेखि ज्वरो आएका, टाउको दुखेकाहरु लाइनमा बसेका थिए । घण्टौँ लाइनमा बस्दा पनि पालो नपाइएको भन्दै कतिपय फर्किएका थिए । लाइन छाडेर घर फर्किरहेको भेटिएका धनगढी–२ का एक व्यक्तिले सरकारी अस्पतालमा समेत पिसिआर टेष्ट गर्न निकै असहज हुँदा नमूना नदिई घर फर्किन बाध्य भएको बताए । ‘नमूनाको पिसिआर जाँच गर्न भनेर दुई दिन अस्पताल पुगिसके नाम दर्ता गराउनै सकेन’, उनले भने, ‘नमूना दिन यत्रो समस्या आउँदा सङ्क्रमित भएछ भने कहाँ गएर उपचार व्यवस्थापन गराउने भन्ने चिन्ता लागेको छ ।’ जिल्ला स्वास्थ्य कार्यालयले शङ्कास्पद व्यक्तिको एन्टिजेन परीक्षणको व्यवस्थापन गरिरहेको छ । पिसिआर परीक्षणको काम सेती प्रदेशिक अस्पतामा हुने गरेको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालाका प्रमुख रमेश शाहीले जनशक्ति अभावले दिनमा चारदेखि पाँच सयको हाराहारीका व्यक्तिको मात्र परीक्षण गर्न सकिएको बताए । ‘जनशक्तिको अभावमा अस्पतालको एउटा पिसिआर मेशिन सञ्चालनमा आउन सकेको छैन’, शाहीले भने, ‘अर्को पिसिआर मेशिनबाट मात्रै दैनिक नमूना परीक्षणको काम हुने गरेको छ ।’ नमूना परीक्षण गर्न सकस देखिएपछि कोरोनाको जस्तो लक्षण भएका धेरै व्यक्ति घरमै आइसोलेशनमा बस्न थालेका छन् । कोरोनाको जस्तो लक्षण देखिएका स्थानीय एक जनाले सहज रुपमा नमूना परीक्षण गर्ने गराउने वातावरण नभएपछि लक्षण देखिएका धेरै व्यक्ति यतिबेला होम आइसोलेशनमा बस्न बाध्य भइरहेको बताए । होम आइसोलेशनमा बसेका व्यक्तिले टेलिफोनमार्फत स्वास्थ्यकर्मीसँग नियमित रुपमा स्वास्थ्य अवस्थाबारे परामर्श लिइरहेका छन् । रासस