नेपाली श्रमिकको स्वास्थ्यका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउन संवाद बढाउँदैछौँ : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आगामी विश्व स्वास्थ्य संगठनमा नेपालका तर्फबाट प्रस्ताव गरिएको श्रमिकको स्वास्थ्य रक्षाका मुद्दालाई प्रभावकारी बनाउन विश्व स्वास्थ्य संगठनसँग सम्वाद बढाएका छन् । संगठनको कार्यकारी समिति सदस्य समेत रहेको नेपालले यस मुद्दा आगामी महासभामा लैजान गृहकार्य गरिरहेको छ । यसै सन्दर्भमा थाइल्याण्डको बैंककस्थित राष्ट्रसंघीय सम्मेलन केन्द्रमा मन्त्री पौडेलले संगठनकी दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशक साइमा वाजेदसँग नेपालको एजेण्डाको तयारी र यसमा जुटाउन सकिने विश्व समर्थनबारे कुरा गरे । हाम्रा धेरै श्रमिक अहिले रोजगारीका क्रममा बाहिर छन् । उनीहरुको स्वास्थ्य समस्या हाम्रा लागि चिन्ताको विषय बनेको छ, उनले भने, सबै श्रमिक देशका साझा समस्यालाई सम्बोधन गर्न पर्याप्त गृहकार्य आवश्यक छ । जवाफमा निर्देशक वाजेदले नेपालको एजेण्डामा समर्थन जुट्ने विश्वास गर्दै आफ्ना तर्फबाट समन्वयात्मक पहल हुने प्रतिबद्धता जनाइन् । हालै सम्पन्न विश्व स्वास्थ्य संगठनको महासभामापछि नेपालले आगामी महासभामा नेपाली श्रमिकले भोगिरहेको स्वास्थ्य समस्या सम्बोधन गर्न सबै श्रमिकको स्वास्थ्यको जिम्मेवारी रोजगारदाताले लिनुपर्ने प्रस्ताव पठाएको थियो । जसलाई आगामी महासभामा नेपालका तर्फबाट पेश गरिनेछ । मन्त्री पौडेलले हालै मात्र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा विदेशबाट फर्किएका श्रमिकको निःशुल्क परीक्षण तथा नियमित भर्चुअल स्वास्थ्य सेवा दिन गरेको निर्णय कार्यान्वयनमा आइसकेको छ । 

उपचारमा लापरबाही गरेको भन्दै ग्राण्डीसिटी अस्पताल र चिकित्सकलाई ५७ लाख बढीको जरिवाना

काठमाडौं ।  उपभोक्ता अदालतले बिरामीको उपचारमा लापरबाही गरेको भन्दै ग्राण्डीसिटी अस्पताल र त्यहाँ कार्यरत चिकित्सकलाई जरिबाना तिराएको छ ।  उपभोक्ता अदालतले ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो ।  सेवाग्राही वर्षा भण्डारीले आफ्नो उपचारमा लापरबाही भएको दाबी गर्दै उपचारमा संलग्न चिकित्सक र अस्पतालमाथि ३ करोड १७ लाख रुपैयाँ क्षतिपूर्ति दाबी गरी गत चैत ११ गते मुद्दा दर्ता गराएकी थिइन् ।  वर्षाले दायर गरेको मुद्दाअनुसार चिकित्सकले दुईपटक अपरेसन गरेका थिए । तर निको हुनुको साटो संक्रमण भएर थप पीडा बढेको भन्दै उनले क्षतिपूर्ति माग गर्दै मुद्दा हालेकी हुन् ।  अदालतका अध्यक्ष रामप्रसाद शर्मा तथा सदस्यहरू गेहेन्द्रराज रेग्मी र आन्दराज पोखरेलको इजलासले अस्पताल र चिकित्सकलाई क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो।  अदालतको फैसला अनुसार क्षतिपूर्ति रकममध्ये ७० प्रतिशत अर्थात ४० लाख ३ हजार ३०० रुपैयाँ  डा. सञ्जीव त्रिपाठी र ३० प्रतिशत अर्थात् १७ लाख १५ हजार ७०० रुपैयाँ ग्राण्डीसिटी हस्पिटलले बेहोर्नुपर्ने छ ।  क्षतिपूर्ति भराउने फैसला गरेको अदालतले जनाएको छ । मुद्दामा अदालतले लापरबाहीको तुलनात्मक दायित्वलाई विचार गरी ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको हो ।

ज्वरो र पखालाको संक्रमण बढ्दै, सावधानी अपनाउन चिकित्सकको सुझाव

तनहुँ । जिल्लाको आँबुखैरेनी अस्पतालमा झाडापखाला र ज्वरोका बिरामी बढ्न थालेका छन् । मौसम परिवर्तन भएसँगै झाडापखाला र ज्वरोको बिरामी बढी आउने गरेका हुन् ।  दिनमा १५० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेकामा करिब २० जना ज्वरोका र १५ जना झाडापखालाका बिरामी देखा पर्न थालेका अस्पतालका सुपरिटेन्डेन डा. डिबी क्षेत्रीले जानकारी दिए । 'पहिला एक–दुई जना बिरामी देखिनेमा अहिले त्यो सङ्ख्या १५–२० पुगेको छ । पखालाका बिरामीलाई अस्पतालमा भर्ना गरेर उपचार गरिरहेका छौँ', उनले भने । ज्वरोका बिरामीको स्वास्थ्य परीक्षण गरी भाइरल सङ्क्रमण देखिएमा सिटामोटलगायत आवश्यक औषधि दिने गरिएको बताउँदै निको नभएका वा गम्भीर प्रकृतिका बिरामीको रगत जाँच गरी टाइफाइड र डेङ्गी परीक्षण गर्ने गरिएको सुपरिटेन्डेन डा क्षेत्रीले जानकारी दिए । उनका अनुसार बिरामीले रोग निको नहुँदासम्म सफा, स्वच्छ पानी प्रशस्त पिउने, आराम गर्ने, झोझिलो पदार्थ प्रशस्त पिउनेलगायत सुझाव दिने गरिएको छ ।  अस्पतालमा मधुमेह, उच्च रक्तचाप, हाडजोर्नी, छालाजन्य, प्रसूतिलगायत बिरामीको सङ्ख्या पनि बढ्दै गएको अस्पताल प्रशासनले जनाएको छ । यतिबेला खेती लगाउने समय भएकाले बहिरङ्ग (ओपिडी) घुइँचो कम भए पनि इमरजेन्सी कक्षमा बिरामीको चाप बढिरहेको छ ।  विसं २०७९ मङ्सिर १ गते सञ्चालनमा आएको यस अस्पतालले क्रमिक रूपमा स्वास्थ्य सेवा विस्तार गर्दै नागरिकलाई सेवामा सहज बनाउँदै आएको छ ।  यसअघि ओपिडी, इमरजेन्सी, ल्याब फार्मेर्सी, एक्स–रे, भिडियो एक्स–रे, नियमित सेवा दिँदै आएको अस्पतालले पछिल्ला समय डेन्टल सेवा, फिजियोथेरापी, डायलासिस, प्रसूतिको शल्यक्रिया, गाँठागुठीको शल्यक्रियाका साथै हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा पनि थप गरेको अस्पतालका सुपरिटेन्डेन डा डिबी क्षेत्रीले जानकारी दिए । गाउँपालिकाको स्रोतमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञा  यसैबीच आँबुखैरेनी गाउँपालिकाको स्रोतबाट हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा रामकुमार साहबाट नियमित सेवा दिन थालिएको छ ।  उक्त सेवासँगै स्थानीयवासीले हाडजोर्नी तथा नशासम्बन्धी उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्य भएको गाउँपालिकाले जनाएको छ ।  आधारभूत अस्पतालले आफूले गर्नुपर्ने दायित्वभन्दा बढी सेवा दिइरहेको अस्पतालका सुपरिटेन्डेन डा. क्षेत्रीले बताए । उनले भने, 'जुन राज्य र संविधानले सोचेभन्दा बढी स्थानीय तहले सेवा प्रवाह गर्दै आएको छ । आधारभूत अस्पतालभित्र हाडजोर्नी, डायलासिस, प्रसूतिको शल्याक्रिया गर्नुपर्ने होइन । यहाँ बढीभन्दा बढी सेवा प्रवाह गरी नागरिकको उपचारमा सहज बनाएका छौँ ।' अस्पतालमा ‘गाइनोलोजिष्ट’ र ‘जनरल सर्जरी’को आवश्यक देखिएको जनाउँदै क्षेत्रीले आगामी दिनमा साकार बन्ने लक्ष्य राखिएको बताए । 'यहाँ जटिल प्रकृतिका बिरामीलाई पठाउने र लिने अस्पतालबीचको समन्वय हुन सकिरहेको छैन, त्यो हुन आवश्यक छ', उनले भने । रासस