प्रभु क्यापिटलकाे ‘लिटिल च्याम्प’ योजना, १६ वर्षसम्मका छोराछोरीको लागि लगानी गर्न सकिने

काठमाडौं । प्रभु क्यापिटलले ‘प्रभु लिटिल च्याम्प पीएमएस’ योजनाको शुरुवात गरेको छ । क्यापिटलले भदौ २९ गते बालदिवसको अवसरमा स-साना नानीबाबुलाई लक्षित गरेर उक्त योजना ल्याएको हो । यो योजना अन्तरगत क्यापिटलले भर्खरै जन्मिएका बच्चादेखि १६ वर्षसम्मका छोरा/छोरीहरुको सुरक्षित भविष्यको लागि लगानी गर्न चाहने सेवाग्राहीलाई लगानी व्यवस्थापन सेवा प्रदान गर्नेछ । यो योजनामा नानीबाबुहरु पीएमएस सेवा लिनको लागि जोडिएपश्चात क्यापिटलले एउटा पिएमएस वापत १ जना गरीब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च व्यहोर्ने छ । क्यापिटलले व्यवसायसँगै संस्थागतरुपमा समाजमा आफ्नो तर्फबाट योगदान गर्ने उद्देश्यले शुरुवात गरेको यो योजनामा जोडिएर आफ्नो छोराछोरीको उज्वल भविष्यलाई लक्षित गर्दै यो लगानी व्यवस्थापन सेवामा जोडिएर सामाजिक कार्यमा सहयोगी बन्न सकिने छ । ‘हजुरको छोराछोरीको लागि लगानीसँगै शिक्षाबाट बञ्चित बालबालिकालाई सहयोग’ भन्ने मुल नारा सहित सञ्चालन गरिने यो योजनालाई क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रहेर ‘होस्टे हैंसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गर्नेछ । यसमा न्यूनतम ५ वर्षसम्म लगानी गर्न सकिने छ । जसमा ८ प्रतिशत हर्डल रेट, २ प्रतिशत वार्षिक व्यवस्थापन शुल्क(एएमसी) र मुनाफामा लाग्ने शुल्क २० प्रतिशत रहेको क्यापिटलले जनाएको छ । यसको लकइन अवधि ५ वर्ष रहेको छ । त्यसैगरी लक इन अवधि अगावै योजना बन्द शुल्क ३ प्रतिशत रहेको छ । क्यापिटलका अनुसार न्यूनतम लगानी अवधि पश्चात मात्रै नाफा वितरण गरिने छ । साथै, गरीब तथा पिछडिएका बालबालिकालाई १ वर्षको लागि सम्पूर्ण विद्यालय खर्च क्यापिटलले स्पोन्सर गर्ने क्यापिटलले जनाएको छ । प्रभु क्यापिटलले नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपाल अधिराज्यभरी रहेको शाखाबाट यो योजनामा सहभागी हुन सक्नेछन् । यसरी सहभागी भएका सेवाग्राहीहरुले आफ्नो लगानी व्यवस्थापन के कसरी भइराखेको छ भनेर अनलाइनबाटै दैनिक हेर्ने व्यवस्था मिलाउनुका साथै साप्ताहिक रुपमा क्यापिटलको इमेलमा साप्ताहिक प्रतिवेदन प्राप्त गरी लगानीको अवस्था हेर्ने व्यवस्था मिलाएको क्यापिटलले जनाएको छ ।

निपाह भाइरस रोगप्रति सचेत रहाैं: स्वास्थ्य मन्त्रालय

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको सङ्क्रमणप्रति सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको सङ्क्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले भारतसँग खुला सिमा भएकाले यहाँ पनि फैलिनसक्ने भएकाले सचेत रहन आग्रह गरिएको बताए । भारतको केरला राज्यमा केही दिनदेखि निपाह भाइरसको सङ्क्रमण देखिएको छ । उनका अनुसार नेपालमा अहिलेसम्म उक्त भाइरसका सङ्क्रमित फेला परेका छैनन् । निपाह भाइरस एक प्रकारको पशुबाट मानिसमा सर्ने गम्भीर प्रकृतिको रोग लाग्ने भाइरस हो । यस भाइरस प्राकृतिकरुपमा ‘फूट ब्याट’ भन्ने प्रजातिको चमेरामा पाइन्छ । निपाह भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्ने गर्दछ । सङ्क्रमित चमेराबाट सुँगुर, गाई, गोरु जस्ता जनावर हुँदै मानिसमा सर्ने गर्दछ । यस्तै सङ्क्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा, सङ्क्रमित व्यक्तिको रगत, दिसा र पिसावसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि निपाह भाइरस सर्ने गर्दछ । उक्त भाइरसका लक्षण ज्वरो आउने, रिङ्गटा लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने र टन्सिलाइटिस देखिने गर्दछ । यो रोग बढी सङ्क्रामक पनि हुने गरेको छ । निपाह भाइरसबाट बच्नका लागि फलफूल राम्रोसँग पखालेर मात्र खाने, तरकारी सकेसम्म पकाएर खाने, गाइवस्तुको गोठ र फार्म सफा राख्ने, मासु काट्दा र पकाउँदा पञ्जा र मास्कको प्रयोग गर्ने, सकेसम्म पानी उमालेर मात्र पिउने, बेलाबेलामा साबुनपानीले हात धुने, भीडभाडमा जाँदा मास्क लगाउने गर्नुपर्दछ । मन्त्रालयका प्रवक्ता डा पौडेलका अनुसार उक्त भाइरसबाट ४५ देखि ७५ प्रतिशत मानिसमा मृत्यु हुने जोखिम रहेको छ । विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले निपाह भाइरसबाट सर्ने रोगलाई विश्वको १० प्राणघातक रोगमध्ये एक मानेको छ । उनले रोगको लक्षण देखिएमा उपचार गरिने बताए । सङ्क्रमणको लक्षण देखिनासाथ नजिकै स्वास्थ्य संस्थामा उपचार गराउन मन्त्रालयले आग्रह गरेको छ । रासस

अब शनिबार र सार्वजनिक बिदाको दिनमा पनि नर्भिकले ओपिडी खोल्ने

काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालले यो सातादेखि शनिवार र सार्वजनिक विदाका दिनहरुमा समेत ओपिडी सेवा संचालन गर्ने भएको छ । तिजको विदाको दिन पनि नर्भिकले ओपिडी सेवा संचालन गरेको थियो । अब भने यो क्रमलाई निरन्तरता दिंदै शनिवार र सार्वजनिक बिदाका दिनहरुमा समेत ओपिडी सेवा संचालनमा ल्याउने निर्णय भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिएका छन् । उनका अनुसार व्यस्त काठमाण्डौबासीको सुविधालाई ध्यानमा राखेर नर्भिकले शनिबार र सार्वजनिक बिदाका दिनहरुमा समेत ओपिडी सेवा संचालनमा ल्याउने निर्णय गरेको हो । त्यसरी संचालन गरिने ओपिडीमा कुन कुन विशेषज्ञको सेवा पाइन्छ भन्ने कुरा नर्भिकले आफ्ना सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरुबाट जानकारी गराउने समेत उनले बताए । यसैगरी, नर्भिक अस्पतालले ओपिडीको सन्ध्याकालीन सेवा समेत संचालन गरिरहेको छ । यो सेवालाई समेत अझ व्यापक बनाउने तयारी भइरहेको मिश्रले जानकारी दिए । दैनिक अफिस जानुपर्ने बाध्यतामा रहेका व्यस्त सर्वसाधारणको सुविधालाई ध्यानमा राखी राति ८ बजेसम्म नै ओपिडी सेवा संचालन गर्ने तयारी भइरहेको मिश्रले बताए । यस्तै हाल नर्भिक अस्पतालले अन्तराष्ट्रिय टिचर्स डेको अवसरमा शिक्षकहरुलाई संचालन गरिरहेकाे १० प्रतिशत छुटको अफर यो सातासम्म जारी रहनेछ ।