जर्मनीले नेपाललाई दियाे ४१ लाख खोप
काठमाडाैं । जर्मनी सरकारले नेपाललाई कोरोना भाइरसविरुद्धको ४१ लाख खोपको मात्रा हस्तान्तरण गरेको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत डा स्टेफन रसेकले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई उक्त खोप हस्तान्तरण गरेका हुन् । मन्त्री खतिवडालाई उनले कोभ्याक्स सुविधाअन्तर्गत ४१ लाख ४२ हजार २५० खोपको मात्रा हस्तान्तरण गरेका हुन् । तीमध्ये २१ लाख ७६ हजार ६५० मात्रा जोन्सन एण्ड जोन्सन र १९ लाख ६५ हजार ६०० मात्रा मोडर्ना रहेका छन् । हस्तान्तरण समारोहमा मन्त्री खतिवडाले जर्मनीले उपलब्ध गराएको खोपले सरकारको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताए । कोभिड–१९ को सुरुआती अवस्थादेखि नै रोकथाम र नियन्त्रणमा जर्मनी सरकारले निरन्तर सहयोग उपलब्ध गराउँदै आएको भन्दै उनले आज उपलब्ध गराएको खोपले नेपाल र जर्मन सरकार बीचको द्विपक्षीय सम्बन्धमा आज अर्को इँट्टा थपेको बताए । ‘कोभिड–१९ को परीक्षणसम्बन्धी सूचना व्यवस्थापन, स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापनमा उपलब्ध गराइएको सहायतासमेत सराहनीय छ,’ मन्त्री खतिवडाले भने, ‘जर्मनी सरकारका तर्फबाट प्राप्त अन्य स्वास्थ्य उपकरण र सामग्री उपयोगी छ ।’ नेपालमा स्वास्थ्यबीमाको सुरुआत र संस्थागत गर्न, अस्पताल तथा स्वास्थ्य संस्था निर्माण गर्न, स्वास्थ्य सूचना प्रणाली संस्थागत गर्न तथा समग्र स्वास्थ्य प्रणाली सदृढीकरणका लागि जर्मन सरकारले पुर्याएको सहयोग स्वागतयोग्य रहेको उनले बताए । भूकम्प पश्चातको पुनःनिर्माणअन्तर्गत जर्मनी सरकारको सहयोगमा गोरखा, जिरी र रामेछापमा अस्पताल निर्माण सम्पन्न भई हस्तान्तरण गरिसकेको मन्त्री खतिवडाले जानकारी दिए । यस्तै जर्मनी सरकारले रिकभरी–२ कार्यक्रमअन्तर्गत दोलखाको भीमेश्वर स्वास्थ्य चौकी, भक्तपुरको झौखेल स्वास्थ्य चौकी, साँखु प्राथमिक अस्पताल र बझाङ्को मेलबिसौनी स्वास्थ्य चौकी निर्माणका लागि प्रारम्भिक चरणको काम भइरहेको छ । यस्तै डडेल्धुरा अस्पतालको मातृ तथा बाल स्वास्थ्य भवन र स्टाफ भवन निर्माणको काम भइरहेको, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालअन्तर्गत तारकेश्वर र चन्द्रागिरि नगरपालिकामा सेटलाइट अस्पताल बनाउने काम अघि बढेको छ । जर्मनी सरकारले कोभिड–१९ को सुरुवातदेखि सरकारलाई १० मिलियन यूरो बराबरको अनुदान रकम उपलब्ध गराएको थियो । सो अवसरमा नेपालका लागि जर्मनीका कार्यवहाक राजदूत डा रसेकले जर्मन सरकारले नेपाललाई स्वास्थ्य र शिक्षामा सहयोग गर्दै आएको भन्दै खोपले नेपाली जनतालाई कोभिड–१९ को महामारीबाट जोगाउने बताए । मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले मोडर्ना खोप यही पुस ४ गतेदेखि १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने बताए । उनका अनुसार सरकारले ५७ जिल्लामा विद्यालयमा गई उक्त उमेर समूहका बालबालिकालाई खोप प्रदान गर्ने छ । यस्तै जोन्सन एण्ड जोन्सन भने विदेश जाने र लक्षित अन्य व्यक्तिलाई लगाइने छ ।
भरतपुर अस्पतालमा तरल अक्सिजन उपकरण जडान
चितवन । भरतपुर अस्पतालमा तरल (लिक्विड) अक्सिजन उपकरण जडान गरिएको छ । अस्पतालमा पर्याप्त अक्सिजन आपूर्तिका लागि उपकरण जडान गरिएको हो । अस्पतालका बायो मेडिकल इञ्जिनियर तुलसी खनालका अनुसार २० हजार लिटर क्षमताको उक्त उपकरणले दुई हजार सिलिण्डर बराबरको ग्यास अक्सिजन आपूर्ति गर्दछ । यस उपकरणबाट अस्पतालको सेन्ट्रल सप्लाइमा अक्सिजन जडान गरिँदै छ । यसै हप्ता सम्पूर्ण जडान कार्य सम्पन्न गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको छ । अक्सिनको माग उच्च रहेको समयमा यसबाट आपूर्ति गर्न सहज हुने खनालका भनाइ छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार यो उपकरण जडान गरेसँगै अक्सिजन उत्पादनको लागत घट्ने छ । ट्याङ्कीमा तरल अक्सिजन ल्याएर यहाँको ट्याङ्कीमा भरेपछि आवश्यकताअनुसार यसबाट आपूर्ति गर्न सकिने छ । युएसएडको अनुदानमा प्राप्त उपकरण स्वास्थ्य मन्त्रालयले भरतपुर अस्पताललाई उपलब्ध गराएको पौडेलले जानकारी दिए । यसअघि अस्पतालमा ग्यास अक्सिजन प्लान्ट रहेको छ । उक्त प्लान्टबाट २४ घण्टामा ७५ सिलिण्डर बराबरको अक्सिजन उत्पादन हुँदै आएको छ । अस्पतालमा आवश्यकताअनुसार अन्यत्रबाट सिलिण्डर मगाएरसमेत माग पूर्ति गरिँदै आएको छ । कोभिड–१९ को महामारीको समयमा जिल्लामा अक्सिजनको आपूर्तिमा कमी आएको थियो । उक्त समयमा उच्च गति (हाइफ्लो) को अक्सिजन आवश्यकता हुँदा पूर्ति गर्न कठिन भएको थियो । सो समयमा भरतपुर अस्पतालमा दैनिक २०० सिलिण्डर अक्सिजन माग भएको थियो । तरल अक्सिजन उपकरण जडान गरेसँगै अक्सिजनको माग उच्च रहेको समयमा सहज हुने प्रा डा पौडेलले बताए । अस्पतालमा अर्काे अक्सिजन प्लान्टका लागि भवन निर्माणको कार्य भइरहेको छ । एनआरएनएको सहयोगमा उक्त प्लान्ट जडान गरिँदै छ । चीनबाट उपकरण खरिदको प्रक्रिया सुरु भइसकेको उनले जानकारी दिए । नयाँ प्लान्ट जडान र तरल अक्सिजन प्लान्ट सञ्चालनमा आएसँगै अक्सिजन किन्नुपर्ने बाध्यता हट्ने छ । सङ्घीय अस्पताल भरतपुरमा चितवनसहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । सरकारी अस्पतालमा खर्च कम हुने भएकाले यस अस्पतालमा बिरामीको चाप बढ्दो छ । रासस
धरानस्थित वी.पी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिदासकाे अनलाइन टिकट सेवा सुरु
काठमाडौं । मिदास टेक्नोलोजीले धरानस्थित वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा सुरु गरेको छ । याेसँगैं अब प्रदेश १ र २ का बिरामीहरूले अस्पतालमा बिहानैदेखि घण्टौ लाइनमा बसेर पाउने सास्तीबाट छुटकारा पाउने भएका छन् । यो सेवा पूर्वाञ्ञल स्वास्थ्य क्षेत्रमा पहिलो पटक मिदास टेक्नोलोजीले सफ्टवेर मार्फत सुरु गरेकाे हाे । बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तानी गर्न सक्षम हुने हुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुने मिदासले जनाएकाे छ । कम्पनीले हाल टिचिङ अस्पताल, वीर अस्पताल, सिभिल सर्भिस अस्पताल, मनमोहन कार्डियोसँगै अन्य सरकारी तथा निजी अस्पतालहरुमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने व्यवस्था मिलाएको छ ।