सबैलाई खोप दिन घरदैलो अभियान सञ्चालन गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले समूहलाई कोरोनाविरुद्धको खोप लगाउन घरदैलो अभियान सञ्चालन गर्न मुख्यमन्त्रीहरुलाई आग्रह गरेका छन् । सोमवार प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्रीहरुसँग छलफल गर्दै लक्षित समुहलाई कोरोनाविरुद्धको खोपमा पहुँच पुर्याउनका लागि घरदैलो अभियान सञ्चालन गर्न मुख्यमन्त्रीहरुलाई आग्रह गरेका हुन् । सरकार सम्पूर्ण नेपालीलाई खोप दिन तयार रहेको र खोपको अभाव नरहेको भन्दै प्रधानमन्त्री देउवाले खोप अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले जानकारी दिए । मन्त्री खतिवडाले पुष महिनाभित्रमै खोप लगाउनेहरुको प्रतिशतमा वृद्धि हुने विश्वास पनि व्यक्त गरे । ‘हाम्रो आव्हान भनेको सरकार सम्पूर्ण नेपालीलाई खोप दिन तयार छ । खोप हामीसँग छ । खोपको अभाव छैन, लगाइदिनुस् । घरदैलो अभियान चालेर भएपनि हामीले लक्षित समूह सबैलाई खोप लगाउने अभियानको रुपबाट सञ्चालन गर्नुपर्छ भनेर प्रधानमन्त्रीले आव्हान गरे । पुष महिना भित्रमा अहिले जुन प्रतिशतको जनसंख्याले खोप लगाएका छन्, त्यो भन्दा धेरै नै माथिल्लो प्रतिशतले खोप लगाउनुहुन्छ भन्ने मैले विश्वास लिएको छु’ उनले भने । खोप केन्द्रहरुलाई वृद्धि गर्नुपर्ने र तिनै तहको सरकारका साथसाथै जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, विभिन्न संघसंस्था, क्लवहरुको समेत सहयोग लिएर कोरोनाविरुद्धको अभियानमा लाग्नुपर्नेमा छलफलमा जोड दिइएको पनि मन्त्री खतिवडाले बताए । उनले हाल १२ वर्षदेखि १७ वर्ष उमेरसमूहका विद्यार्थीहरुलाई खोप लगाइरहेकोमा गैरविद्यार्थीहरुले पनि सम्बन्धित पालिका वा वडाको सिफारिसमा सम्बन्धित खोप केन्द्रमा गएर खोप लगाउन सकिने जानकारी दिए ।

डाबरले वीर अस्पताललाई दियो २५ लाख बराबरको चिकित्सा उपकरण

काठमाडौं । डाबर नेपालले वीर अस्पताल एनएएमएसलाई २५ लाख रुपैयाँ बराबरको चिकित्सा उपकरण हस्तान्तरण गरेको छ । नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग गर्ने उद्देश्यसहित कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत उक्त उपकरण हस्तान्तरण गरेको हो । उक्त उपकरण डाबर नेपालकी अध्यक्ष तथा प्रबन्ध निर्देशक इश्वरी राना र वीर अस्पतालका एच.एस. बेदी, व्यापार प्रमुख-नेपाल तथा म्यानमारले हस्तान्तरण गरेका हुन् । डा. अनुपमा कार्की र प्रा. डा. मनेन प्र. गोर्खालीको उपस्थितिमा वीर अस्पताल-एनएएमएसका निर्देशक प्रा. डा. भुपेन्द्र कुमार बस्नेतलाई चेक हस्तान्तरण गरिएको थियो । कार्यक्रममा डाबरका लागि प्रवक्ताले भने, ‘वीर अस्पताल नेपालकै प्रतिष्ठित र अग्रणी सरकारी अस्पताल हो जसले नेपालका नागरिकहरुलाई अग्रपंक्तिमा रहेर स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । अहिलेको विश्वव्यापी महामारीको समयमा यस संस्थाको महत्वपूर्ण स्वास्थ्य सेवाहरु प्रदान गर्ने प्रयासमा हामीले सहयोग गर्नु समय सान्दर्भिक र उपयुक्त रहेको छ ।’

चीनबाट खोप लिएर आएको विमान मौसम खराबीका कारण अवतरण गर्न सकेन

काठमाडौं । मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि आज चीनबाट ल्याइएको कोरोना भाइरस विरुद्धको भेरोसेल खोप फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले आज बिहान जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको हो । एशियाली विकास बैंकको सहयोगमा चीनबाट भेरोसेल खोप नेपाल ल्याउन लागिएको थियो । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले विमानस्थलमा जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता गए पनि भोलिसम्ममा आइपुग्ने जानकारी दिए । उनका अनुसार त्यहाँबाट १२ लाख एक हजार ८८७ मात्रा खोप आउन लागेको थियो । यस्तै आजै भारतबाट पनि १८ लाख ७० हजार ५०० मात्रा खोप आउन लागेकोे छ । कोभ्याक्स सुविधाअन्तर्गत कतार एयरवेजबाट दिउँसो २ः३५ बजे उक्त खोप नेपाल आइपुग्ने प्रमुख चौरसियाले बताउनुभयो । नेपालमा तीन करोड ५४ लाख ६६ हजार ९८० मात्रा खोप आएकामा अहिलेसम्म दुई करोड १६ लाख ५४ हजार १०९ मात्रा खोप लगाइसकिएको छ ।