चितवनमा २ अर्ब लगानीमा खुल्यो सबै खालका क्यान्सरको उपचार हुने अस्पताल
चितवन । चितवन मेडिकल कलेजले दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण गरेको छ । आगामी दसैँअघि नै सञ्चालनमा ल्याउने गरी सिएमसी क्यान्सर इन्स्टिच्युट तयार गरिएको हो । अग्रणी सो मेडिकल कलेजले आफ्नो भगिनी संस्थाको रुपमा क्यान्सर अस्पताल सुरु गर्न लागेको हो । दसैँ अघि नै रेडिएसनको सेवा दिने गरी तीव्ररुपमा काम भइरहेको छ । अस्पतालका निर्देशक डा दयाराम लम्सालले इन्स्टिच्युटमा अत्याधुनिक प्रविधिका उपकरण जडान गरिएको जानकारी दिए । उनले भने, ‘नेपालका क्यान्सरका बिरामी अब विदेश जानु पर्दैन ।’ भारतको दिल्लीका ठूला अस्पतालमा जडान गरिएकाभन्दा आधुनिक उपकरण यहाँ जडान भएको उनको भनाई छ । अस्पतालले अत्याधुनिक उपकरण खरिदमा मात्रै एक अर्ब २७ करोड खर्च गरेको उनले दाबी गरे । अन्य उपकरण र भौतिक पूर्वाधारमा गरी दुई अर्बभन्दा बढी खर्च लाग्ने उनको भनाइ छ । क्यान्सर सँगसँगै अन्य उपचारका लागि सँगै मेडिकल कलेज भएकाले केही खर्च कटौती भएको जनाइएको छ । यस इन्स्टिच्युटमा रेडिएसनसँगै ब्राकी थेरापी, स्पेक्ट सिटी स्क्यान, बोनम्यारो प्रत्यारोपण, रक्त क्यान्सरको उपचार, बाल क्यान्सरको उपचारसहित सबै खालका क्यान्सरको उपचार र प्रत्यारोपण हुने निर्देशक डा लम्सालको भनाइ छ । भारत, अमेरिकाजस्ता देशमा अध्ययन गरेर ठूला अस्पतालमा काम गरिरहेका मेडिकल अङ्कोलोजी, रक्त क्यान्सर, सर्जरीलगायतका समूह यहाँ ल्याईदै छ । उनले भने, ‘हामीले विश्वका ठूला अस्पतालमा कामको अनुभव लिएका चिकित्सकसँग सम्झौता गरिरहेका छौँ ।’ गुणस्तरमा कमी हुन नदिने गरी एक सय शय्याको आधुनिक अस्पताल निर्माण गरिएको हो । निर्देशक डा लम्सालले थपे, ‘क्यान्सरका बिरामीलाई लामो समय पालो कुर्नु पर्ने र विदेश जानुपर्ने बाध्यता अन्त्य होस् भनेर अस्पताल सुरु गरेका हौँ,’ उनले अगाडि थपे, ‘धेरै बिरामी भारतको दिल्ली जान्छन्, त्यहाँको ठूलो अस्पताल राजीवगान्धीको भन्दा एक स्तर उच्च उपकरण हामीले यही ल्याएका छौँ ।’ क्यान्सरका बिरामी उपचारका लागि भारतलगायतका अन्य देश जाने गर्दछन् । अत्याधुनिक उपकरण रेडिएसनका लागि जडान गरिएको छ । उनको भनाइमा यो उपकरणले दैनिक एक सय जनासम्मलाई रेडिएसन गर्न सक्दछ । रेडिएसन लिन्याक एक्सिलेरेटर जडान गरिएको छ । ट्रियुबिम मोडलको भेरिएन कम्पनीको लिन्याक उपकरण आधुनिक प्रविधिको हो । चितवन मेडिकल कलेजसँगै छ तले ४८ हजार स्क्वायर फिटको भवनमा बङ्करसहितको क्यान्सर अस्पताल निर्माण गरिएको छ । इन्स्टिच्यूटमा रेडिएसन सञ्चालनका लागि अन्तिम तयारीमा रहनु भएका रेडिएसन अङ्कोलोजिष्ट डा सुवास ठाकुरले रेडिएसन उपकरणभित्र ६डि काउज र हाइपर आर्च रहेको जनाउँदै यसले टाउकोभित्रको ट्युमरलाई शल्यक्रिया बिना नष्ट गर्ने बताए । यो रेडियो सर्जरी रेडिएसन प्रविधिबाट नेपालमा पहिलो पटक उपचार गर्न लागिएको उनले जानकारी दिए । त्यसैगरी ब्रेकी थेरापीमार्फत शरीरभित्र उपकरण राखेर रेडियो एक्टिभ सोर्स प्रयोग गरेर क्यान्सर कोष मार्ने प्रविधि पनि यहाँ ल्याइँदै छ । पाठेघरको क्यान्सरमा यो प्रविधिको उपचार बढी हुने गर्दछ । एसबिआरटी प्रविधिमार्फत उपचार भइरहेको बिरामीको ट्युमर प्रत्यक्ष हेरेर आवश्यक थप मात्रा प्रयोग गरी उपचार गर्न सकिने उनी बताउँछन् । उनले भने, ‘मैले भारतका ठूला अस्पतालमा पनि काम गरेँ । त्यहाँको भन्दा अरु आधुनिक प्रविधि यहाँ ल्याइएको छ ।’ इन्स्टिच्युटले क्यान्सर उपचारका क्रममा विकिरण बाहिर आएर नागरिक र कर्मचारीलाई असर नगरोस् भन्नका लागि निर्माणको समयदेखि नै भारतीय विज्ञको निगरानीमा काम भइरहेको छ । सुरक्षा अधिकृत सलोनी चावलाले बाहिरी वातावरणमा रेडिएसन नजानका लागि निर्माणको समयदेखि नै निगरानी गरिएको बताए । उनको अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसार बङ्कर निर्माण गरिएको छ । यससँगै सफल परीक्षणसमेत गरिएको जनाउँदै उनले विकिरण काममा खटिनेमा के कस्तो रहेको छ भन्ने विषयमा नियमित परीक्षण भइरहेको जानकारी दिए । भारतसहितका विभिन्न देशका विज्ञहरुसँग परामर्श र त्यहाँका जनशक्ति झिकाएर इन्स्टिच्युटको निर्माणदेखि नै काम गरिएको हो । १४ वर्षअघि स्थापना भएको चितवन मेडिकल कलेजमा हाल वार्षिक तीन लाख ५० हजारभन्दा बढी बिरामीलाई सेवा दिँदै आएको छ । नेपालभरि र भारतीय बिरामी पनि यहाँ उपचार गर्न आउने गर्दछन् । यस अस्पतालमा २८ विभागमार्फत सेवा दिइँदै आएको छ । क्यान्सरका बिरामीलाई अन्य विभागको सेवासमेत आवश्यक पर्ने भएकाले उपचार सहज हुने अस्पतालको भनाइ छ । नेपालमा भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, पूर्वाञ्चल क्यान्सर अस्पताल र काठमाडौं क्यान्सर सेन्टरमा मात्रै क्यान्सरको उपचार हुने जनाइएको छ । सरकारले क्यान्सरका बिरामीलाई उपचारमा एक लाखसम्म सहयोग गर्दै आएको छ । विदेश जाने बिरामीले यो सुविधा पाउँदैनन् । रासस
एनेस्थेसियन चिकित्सक नभएपछि मध्यबिन्दु जिल्ला अस्पतालमा शल्यक्रिया सेवा बन्द
कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा ‘एनेस्थेसियन’ नहुँदा गत चैतदेखि शल्यक्रिया सेवा बन्द भएको छ । अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले करार सेवामा कार्यरत एनेस्थेसियन चिकित्सकले छाडेपछि शल्यक्रिया सेवा नै बन्द भएको बताए । ‘चैतमा एनेस्थेसियन चिकित्सकले जागिर छाड्नुभयो, सर्जन हुनुहुन्थ्यो उहाँ पनि केही समय बिरामी हुनुभयो, यसले गर्दा शल्यक्रिया सेवा बन्द भयो, पछि शल्यक्रियाको बेला बेहोस बनाउने विषयमा चिकित्सकले धेरै जोखिम मोल्न चाहेनन् र सेवा नै बन्द भएको छ’, उनले भने । जिल्ला अस्पतालमा एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, सीएस लगायतको शल्यक्रिया सेवा हुँदै आएको थियो । सामान्य घाउको चिरफार र शल्यक्रिया बाहेकको शल्यक्रिया सेवा बन्द भएको सूचना अधिकारी सुवेदीले बताए । अहिले अस्पतालमा सजर्न चिकित्सकसमेत छैनन् । जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरबहादुर थापाको सरुवा भएपछि मेसुको पद रिक्त भएको छ । अस्पतालमा हाल स्वीकृत दरबन्दी ३१ को भएपनि ७ मात्रै कर्मचारी छन् । १५ शय्याको जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिएपनि सोहीअनुसार दरबन्दी सिर्जना गर्ने र कर्मचारी पठाउने काम भने हुन सकेको छैन् । थोरै कर्मचारी रहँदा जिल्ला अस्पतालबाट सोचेअनुसार प्रभावकारी रुपमा सेवा प्रदान गर्न कठिन हुने गरेको सूचना अधिकारी सुवेदीले बताए । कोभिडका समयमा केही करारका कर्मचारी राखिएको थियो । उनीहरूको समेत करार सकिएको छ । अहिले केही दैनिक ज्यालादारीमा कर्मचारी राखेर सेवा प्रदान गर्नुपर्ने बाध्यता रहेको उनले बताए । रासस
बिरामीलाई घरमै रेडियोलोजी सेवा
काठमाडौं । हेल्थ एट होम मेडप्रो इन्टरनेशनलले घरमै पुगेर रेडियोलोजी सेवा दिन सुरु गरेको छ । यसअघी घरमै पुगेर स्वास्थ्य सेवा दिइरहेको हेल्थहोमले घरमै रेडियोलोजी सेवा दिन समेत सुरु गरेको हो । आफ्नो ओछ्यानमै रेडियोलोजी सेवा चाहिने विरामीहरुलाई लक्षित गर्दै कम्पनीले यो सेवाको सुरुवात गरेको जनाएको छ । घरमा स्वास्थ्यको रेडियोलोजी विभागले अल्ट्रासाउण्ड र इकोकार्डियोग्राफि प्रदान गर्ने कम्पनीले बताएका छ । हेल्थ एट होमले निकट भविष्यमा एक्सरे र अन्य विभिन्न रेडियोलोजी सेवा समेत थप्ने लक्ष्य राखेको जानकारी दिएको छ । १२ वर्षअगाडि डा। विशाल ढकालले स्थापना गरेको हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ । हाल हेल्थ एट होममार्फत करिब १ लाखभन्दा बढी घरले स्वास्थ्य सेवा लिइसकेका छन् । हेल्थ एट होमले घरमै पुगेर बिरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका कार्य गर्दै आएको छ । देशव्यापी सञ्जाल बनाउने उद्देश्य राखेको हेल्थ एट होमले उपत्यकाबाहिर तीनवटा शाखामार्फत आफ्नो सेवा दिँदै आएको छ ।