केएमसी अस्पतालद्वारा छालारोग तथा सौन्दर्यसम्बन्धी सेवा विस्तार

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालले छाला, कपाल र नङसँग सम्बन्धित रोगहरूको निदान तथा सौन्दर्य अभिवृद्धिका लागि अत्याधुनिक चिकित्सा सेवा विस्तार गरेको छ । काठमाडौंको सिनामंगलस्थित अस्पतालले ‘डर्माटोलोजी’ र ‘प्लास्टिक सर्जरी’ विधाअन्तर्गतका जटिल समस्याहरूको वैज्ञानिक र सुरक्षित उपचार पद्धति सञ्चालनमा ल्याएको हो ।  पछिल्लो समय अस्पतालमा छालासम्बन्धी उपचारका लागि आउने सेवाग्राहीको संख्यामा उल्लेखनीय वृद्धि भएको छ । अस्पतालले सामान्य एलर्जीदेखि छालाको क्यान्सर, फंगल इन्फेक्सन, सोरायसिस, एक्जिमा, डन्डीफोर र दुबीजस्ता समस्याहरूको प्रभावकारी उपचार गर्दै आएको छ । आधुनिक ’डर्माटोलोजी’ सेवालाई केवल रोगको उपचारमा मात्र सीमित नराखी सौन्दर्य प्रसाधन (एस्थेटिक) का रूपमा समेत विकास गरिएको अस्पतालले जनाएको छ ।  उपचार प्रक्रियालाई गुणस्तरीय बनाउन अस्पतालले विशेषज्ञ चिकित्सकहरूसहित करोडौँ मूल्यका अत्याधुनिक लेजर उपकरणहरू प्रयोगमा ल्याएको छ । यस प्रविधिमार्फत अनुहारको छाया–पोतो, चाउरीपना तथा ट्याटु हटाउने सेवा उपलब्ध छ । छालारोग विशेषज्ञ डा. गरिमा रेग्मीकाअनुसार अहिले केएमसीमा दैनिक सयौँको संख्यामा सेवाग्राही आउने गरेका छन् । उपचारका लागि आउनेहरूमा महिलाका साथै पुरुषहरूको संख्या पनि बढ्दो क्रममा रहेको डा. रेग्मीले जानकारी दिइन् ।  अस्पतालले अनावश्यक स्थानमा पलाएका रौँ हटाउने र कपाल झर्ने समस्याको वैज्ञानिक उपचार गरिरहेको छ । साथै, निकट भविष्यमै सहुलियतपूर्ण दरमा अत्याधुनिक उपकरणका माध्यमबाट कपाल प्रत्यारोपण (हेयर ट्रान्सप्लान्ट) सेवा शुरु गर्ने तयारी अस्पतालले गरेको पनि उनले बताइन् ।  केएमसीमा प्लास्टिक सर्जरी सेवासमेत उपलब्ध रहेकाले दुर्घटनाबाट क्षतिग्रस्त अंग, क्यान्सरको उपचारपछि काटिएका भाग वा जन्मजात समस्या भएका अंगहरूको पुनर्निर्माण गरिँदै आएको छ । यसका साथै, नाक, ओठ वा स्तनको बनावट परिवर्तन गर्न चाहनेहरूका लागि चिकित्सकीय मापदण्डअनुसार ‘कस्मेटिक सर्जरी’ सेवा उपलब्ध गराइएको छ । सौन्दर्य सुधारदेखि जटिल पुनर्निर्माणसम्मका सम्पूर्ण सेवा एकै छानामुनि उपलब्ध भएपछि सेवाग्राहीलाई थप सहज भएको छ । डा.सुनिल शर्माद्वारा सञ्चालित यस अस्पतालले पछिल्लो समय आफ्नो सेवालाई प्रविधिमैत्री र विशिष्टीकृत बनाउँदै लगेको छ । छाला र अंगहरूको प्राकृतिक सन्तुलन कायम गरी बिरामीको आत्मविश्वास बढाउन अस्पतालले दक्ष जनशक्ति र आधुनिक प्रविधिलाई प्राथमिकतामा राखेको छ । 

नयाँ औषधि उद्योग बनाउन देउराली जनताले लियो ५.२९ अर्ब ऋण, ९ महिनामा डेढ अर्ब आम्दानी

काठमाडौं । देउराली जनता फर्मास्युटिकल्सले चितवनको मङ्गलपुरमा नयाँ औषधि उत्पादन प्लान्ट स्थापना गर्ने भएको छ । कम्पनीले करिब ५ अर्ब रुपैयाँ लगानीमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको अत्याधुनिक उत्पादन केन्द्र निर्माण गर्न लागेको हो । कम्पनीका अनुसार परियोजना ७०:३० को ऋण-इक्विटी संरचनामा अघि बढाइनेछ । यसअन्तर्गत ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटी लगानी रहनेछ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल ५ अर्ब २९ करोड ३० लाख रुपैयाँ ऋण लिएको जनाएको छ । यसमध्ये ३ अर्ब ४५ करोड रुपैयाँ दीर्घकालीन तथा १ अर्ब ८४ करोड ३० लाख रुपैयाँ अल्पकालीन ऋण रहेको छ । बैंकहरूको कन्सोर्टियममार्फत ऋण व्यवस्थापन सम्पन्न भएको र संस्थापकहरूले आवश्यक इक्विटी चरणबद्ध रूपमा लगानी गर्ने छन् । कम्पनीले परियोजना निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । कम्पनीको हालको कुल स्थिर सम्पत्ति आधार करिब २ अर्ब २३ करोड रुपैयाँ रहेको छ, जसको तुलनामा नयाँ परियोजना निकै ठूलो मानिएको छ । सन् १९९१ मा स्थापना भएको देउराली जनता फर्मास्युटिकल्स नेपाली औषधि उद्योगको अग्रणी कम्पनीमध्ये एक हो । कम्पनीले मुटु रोग, मधुमेह, स्त्रीरोग तथा बाल स्वास्थ्य, ग्यास्ट्रोलोजी, हेपाटोलोजी, छाला रोगलगायत विभिन्न क्षेत्रमा प्रयोग हुने सामान्य तथा विशेष औषधिहरू उत्पादन गर्दै आएको छ । हाल कम्पनीका २८० भन्दा बढी प्रकारका औषधि बजारमा उपलब्ध छन् । पछिल्लो तथ्याङ्कअनुसार कम्पनीमा ७१ प्रतिशत सेयर कार्यकारी निर्देशक तथा अध्यक्ष हरिभक्त शर्माको स्वामित्वमा रहेको छ । बाँकी सेयर परिवारका सदस्य तथा अन्य लगानीकर्ताको नाममा रहेको छ । ‘मानव जीवनका लागि स्वास्थ्यभन्दा बहुमूल्य अरू केही छैन’ भन्ने मूल दृष्टिकोणसहित कम्पनी स्थापना गरिएको हो । नेपाललाई स्वास्थ्य क्षेत्रमा दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउने लक्ष्यसहित कम्पनीले गुणस्तरीय औषधि उत्पादनलाई प्राथमिकतामा राख्दै आएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सन् १९९१ मा ज्वरो घटाउने औषधि, एन्टिबायोटिक्स र भिटामिन उत्पादनबाट यात्रा सुरु गरेको थियो । हाल कम्पनीले ट्याब्लेट, क्याप्सुल, मलहम, ड्राइ पाउडर तथा तरल डोज फर्मका औषधिहरू उत्पादन गरिरहेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म १ अर्ब ४५ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको सञ्चालन आम्दानी २ अर्ब ३५ करोड रुपैयाँ पुगेको थियो, जुन अघिल्लो वर्षको तुलनामा १६.१६ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले २ अर्ब २ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । दीर्घ अनुभव, फराकिलो उत्पादन दायरा र स्थिर स्वामित्व संरचनाका कारण देउराली जनता नेपाली औषधि बजारमा विश्वासिलो ब्रान्डको रूपमा स्थापित हुँदै आएको छ । कम्पनीले देशभर २०० भन्दा बढी वितरकमार्फत आफ्नो व्यापार विस्तार गरिरहेको छ । देउराली जनता फर्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्मा पौडेलका अनुसार नयाँ परियोजना सम्पन्न भएपछि थप ५५० जनाले प्रत्यक्ष रोजगारीको अवसर पाउनेछन् । ‘हाम्रो उद्देश्य उत्पादन वृद्धिमात्र होइन, त्योभन्दा धेरै जनशक्तिलाई रोजगारी दिने हो । तर यसका लागि लगानी गर्न, काम गर्न पाइने वातावरण राज्यले सिर्जना गरिदिनुपर्यो,’ उनले भने । देउराली जनता फर्मास्यूटिकल्ससँग विज्ञहरूसहित कामदारको राम्रो समूह भएकाले पनि आफूलाई अर्को कदम सुरु गर्न सहज भएको उनले बताए । नयाँ परियोजनाले भ्याक्सिन लगायत औषधी उत्पादन गर्नेछ । उनी भन्छन्, ‘विकसित विज्ञानलाई अझ परिष्कृत गर्न, गुणस्तरीय सेवा विस्तार गर्न र आगामी दिनमा अझ प्रभावकारी नवीन प्रविधि र उच्च गुणस्तरका उत्पादनहरूमार्फत व्यवसायिक सेवाको यात्रामा अग्रणी भूमिका निर्वाह गर्ने यो नयाँ कदम हुनेछ ।’

किस्ट अस्पतालमा २१७ जनालाई ‘दोस्रो जीवन’, निजी क्षेत्रमा सबैभन्दा बढी अंग प्रत्यारोपण

काठमाडौं । ललितपुरको ग्वार्कोमा रहेको किस्ट शिक्षण अस्पताल नेपालका निजी अस्पतालहरूमध्ये सबैभन्दा बढी अगं प्रत्यारोपण गर्ने अस्पताल बनेको छ ।  अस्पतालले हालसम्म २ सय १७ जना बिरामीलाई नयाँ जीवन दिन सफल भएको छ । जसमा २०२ जनामा मिर्गौला प्रत्यारोपण गरिएको हो भने १५ जनामा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरी बिरामीहरूलाई ‘दोस्रो जीवन’ प्रदान गरिएको हो । बिहीबार आज अंगदान गर्ने अंगदातालाई सम्मान गर्दै अस्पतालले मिर्गौला र कलेजो प्रत्यारोपणमा अस्पतालले पुर्‍याएको योगदानबारे जानकारी गराएको थियो । कार्यक्रममा अस्पतालले दुई सय जना भन्दा बढीलाई सम्मान गरेको छ ।  अंगदाताहरूले दिएको अंगले १९ वर्षका युवकदेखि ८० वर्षका जेष्ठ नागरिकको ज्यान जोगाउन अस्पताल सफल भएको छ ।  ८० वर्षीया एक महिलामा क्यान्सर रोग पहिचान भए पनि चिकित्सकीय रूपमा अंगदान योग्य ठहरिएपछि उनको अंगदानबाट आफन्तको जीवन बचाउन सफल भएको उदाहरणसमेत अस्पतालले प्रस्तुत गरेको छ ।  अस्पतालले आफ्नो सेवाको गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरको मान्यता दिलाउँदै एनएबीएच प्रमाणीकरण प्राप्त गरेको जनाएको छ । अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एकैसाथ गरिने मिर्गौला र कलेजो प्रत्यारोपण, दुई परिवारबीच आपसी सहमतिमा गरिने अंग प्रत्यारोपण तथा दूरबिन प्रविधिबाट गरिने प्रत्यारोपण शल्यक्रिया सफलतापूर्वक गर्दै आएको अस्पतालले जानकारी दिएको छ ।  नेपालको सन्दर्भमा एकैसाथ मिर्गौला र कलेजो प्रत्यारोपण शल्यक्रिया पहिलोपटक किष्ट शिक्षण अस्पतालले सम्पन्न गरेको उल्लेख गर्दै उक्त उपलब्धि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा प्रकाशित राष्ट्रिय संयुक्त वार्षिक समीक्षा प्रतिवेदन २०७९/८० मा समेत समावेश गरिएको जनाएको छ । कार्यक्रममा उपत्यकाका अधिकांश नगरप्रमुख तथा नेपाल सरकारका उच्च पदस्थ व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका नगरप्रमुख तथा उपत्यका मेयर फोरमका अध्यक्ष चिरिबाबु महर्जनले अंगदानलाई मानवताको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्दै अंगदाताहरू समाजका वास्तविक नायक भएको बताए ।  ‘कुनै व्यक्तिको अंगदानले अर्को व्यक्तिलाई नयाँ जीवन दिन सक्छ । यस्तो महान कार्यलाई समाजभर प्रोत्साहन गर्न आवश्यक छ,’ उनले भने ।  उनले किष्ट शिक्षण अस्पतालले निजी क्षेत्रमा प्रत्यारोपण सेवामार्फत उल्लेखनीय योगदान पु¥याएको समेत बताए । कार्यक्रममा उपत्यकाका अधिकांश नगरप्रमुख तथा नेपाल सरकारका उच्च पदस्थ व्यक्तित्वहरूको समेत उपस्थिति रहेको अस्पतालले जनाएको छ ।