अस्पतालमा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, एक हजार बढी घाइते

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेनजी’ आन्दोलनमा परी अहिलेसम्म अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार बढी घाइतेहरुको उपचार भएको जनाएको छ ।  मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार देशभरका ४१ अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार ३६८ जनाको उपचार भएको छ । मन्त्रालयले जेनजी आन्दोलनका क्रममा मृत्यु र घाइते भएकाको विवरण विभिन्न अस्पतालमा सम्पर्क गरी सार्वजनिक गरेको जनाएको छ ।  निजामती कर्मचारी अस्पतालमा छ, राष्ट्रिय ट्रमा सेन्टरमा आठ, एभरेष्ट अस्पतालमा तीन, काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा दुई, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक, बयोधा अस्पतालमा दुई, फ्रन्टलाइन अस्पतालमा तीन, बी एन्ड सी अस्पताल विर्तामोडमा एक, विर्तासिटी अस्पतालमा एक, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई र भेरी अस्पतलालमा पाँच गरी ३४ जनाको निधन भएको जनाइएको छ ।  त्यसैगरी अहिले ३२१ जना घाइतेको भर्ना भई उपचार भइरहेको छ ।  सचिव डा. विकास देवकोटाका अनुसार अहिले पनि निजामती कर्मचारी अस्पतालमा ४८, ट्रमा सेन्टरमा ५८, त्रिवि शिक्षण अस्पतालमा २५ र काठमाडौं मेडिकल कलेजमा ३५ र वीरेन्द्र सैनिक अस्पतालमा २६ जनाको उपचार भइरहेको छ । उनका अनुसार ९४९ जना उपचारपश्चात् घर फर्किसकेका छन् । रासस  

अस्पतालहरूमा भ्याइनभ्याइ उपचार, घाइते प्रदर्शनकारीलाई प्राथमिकता

काठमाडौं । जेन-जी पुस्ताले देशव्यापी रुपमा गरेको प्रदर्शनका कारण मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्र प्रभावित भएको छ ।  दुई दिनअघिको काठमाडौं केन्द्रित प्रदर्शन देशव्यापी फैलिएर सबैजसो क्षेत्र प्रभावित भएको देखिन्छ । विशेषगरी पहिलो दिन नयाँबानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा घाइते भएका विरामीको उपचार गर्न अस्पतालहरूलाई भ्याइनभ्याइ भएको अवस्था छ ।   मीनभवनस्थित सिभिल अस्पतालले विरामीको चाप अध्यधिक भएसँगै आकस्मिक सेवाबाहेकका अरु सेवा अहिले बन्द गरेको छ ।  अस्पतालका निर्देशक डा मोहनचन्द्र रेग्मीका अनुसार बिरामीका लागि खानालगायत अत्यवश्यक सेवा पुर्याउन कठिन भएको छ ।  ‘स्रोतसाधनको समस्या छ, जनशक्ति व्यवस्थापन पनि त्यत्तिकै चुनौतीपूर्ण छ । चिकित्सक तथा नर्सहरु ‘डबल ड्युटी’ गरेर भए पनि अहोरात्र खटिनुभएको छ, तर हाललाई ‘ओपिडी’ र ‘ओटी’ सेवा बन्द गरिएको छ”, उनले भने, “हिजोदेखि ड्युटीमा आएका आजमात्र घर फर्किँदै हुनुहुन्छ ।” हाल सो प्रदर्शनमा  घाइते ४६ जनाको उपचार भइरहेको छ । त्रिवि शिक्षण अस्पतालले पनि प्रदर्शनमा घाइतेहरूलाई उच्च प्राथमिकता दिइ उपचार गरिरहेको अस्पतालका निर्देशक डा सुवास आचार्यले जानकारी दिए ।   अत्यावश्यक र ‘रेफर’ भएर आएका बिरामीको भने उपचार रोकिएको छैन । ‘ओपिडी’ सेवा सञ्चालनमै छ, तर बिरामीहरू अस्पतालसम्म आइपुग्न सकेका छैनन् । 'डबल ड्युटीमा खटेर हामीले काम गरिरहेका छौँ । घर जाने अवस्था नभएकाले स्वास्थ्यकर्मीहरू अस्पतलामै रही काम गरिरहनुभएको छ', उनले भने, 'हाल ५३ जना घाइतेको यस अस्पतालमा उपचार भइरहेको छ ।' निर्देशक आचार्यका अनुसार ‘ओपिडी’ नियमित रूपमा सञ्चालन भइरहेको, आकिस्मक सेवामा चाप रहेको, मुख्य शल्यक्रिया भने हाललाई बन्द गरिएको र यातायात नियमित रूपमा चले भोलिबाट सबै सेवा सञ्चालन गरिने छ ।  'राष्ट्रिय ट्रमा सेन्टरमा हाल ४० जना घाइतेको उपचार भइरहेको छ । जसमा चार जनालाई शल्यक्रियापछि ‘आइसीयु’मा राखिएको छ । अहिले त अवस्था ठिकै छ । तर एउटा एम्बुलेन्स नै तोडफोड गरेका छन्', अस्पतालका निर्देशक डा बद्री रिजालले भने, 'चिकित्सक र नर्स ल्याउन भने केही समस्या छ । स्रोतसाधन अभावका बीच पनि उपचार सेवा रोकेका छैनौँ ।' परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा पनि २४सै घण्टा सेवा सञ्चालनमा छ । जस्तोसुकै परिस्थितिमा पनि आफ्नो सेवालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै सो अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले भने, 'ओपिडी नियमित नै सञ्चालन छ, आकस्मिक सेवा चलिरहेकै छ । शुल्क लिएर दिइने सेवा (पेइड सर्भिस) बन्द गरिएको छ ।' रासस

मंगलबारको प्रदर्शनमा घाइते भएका ३३ जना त्रिवि शिक्षण अस्पतालमा भर्ना

काठमाडौं । मंगलबारको ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका ३३ जना प्रदर्शनकारीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा घाइते भएकामध्ये पाँच जनाको अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जनाएको छ । यसअघि सोमबार र मंगलबार देशभर भएको प्रदर्शनमा २१ जनाले ज्यान गुमाएका छन् । तीमध्ये १९ जनाको काठमाडौंमै प्रहरीको गोली लागेर मृत्यु भएको हो । हालसम्म प्रदर्शनका कारण ५०० भन्दा बढी घाइते भएको अनुमान छ । घाइतेहरूलाई त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, सिभिल अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।