खुला प्रतिस्पर्धाबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति छान्ने, दरखास्त आह्वान
काठमाडौं । सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खुला प्रतिस्पर्धाका माध्यमबाट उपकुलपति छनोट गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि उपकुलपति खुला प्रतिस्पर्धाका माध्यमबाट नियुक्त गर्ने भएको हो । मन्त्रालयले सूचना प्रकाशित गर्दै योग्य र इच्छुक उम्मेदवारले ७ दिन भित्र आफ्नो आवेदन पेस गर्न आह्वान गरेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७४ तथा प्रतिष्ठानका विभिन्न निकाय र पदाधिकारीका कार्य, कार्यक्षेत्र र अधिकार सम्बन्धी नियमावली, २०७४ मा उल्लेखित योग्यता पूरा गर्ने व्यक्तिहरूले दरखास्त दिन सक्नेछन् । आवेदन सिंहदरबारस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पेश गर्नुपर्नेछ । आवश्यक कागजातहरूसहित कार्ययोजना तथा सम्बन्धित दस्तावेज संलग्न गर्नुपर्ने सूचनामा उल्लेख छ । आवेदन फारम मन्त्रालयको वेबसाइट बाट डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ । समितिले तोकिएको समयसीमाभित्र प्राप्त दरखास्तहरूको मूल्यांकनपछि योग्य उम्मेदवारहरूको सूची तयार गरी सिफारिस प्रक्रिया अघि बढाउने जनाएको छ ।
रमेश गुप्ता मेमोरियलले महालक्ष्मी डेभलपमेन्टसँगको सहकार्यमा क्यान्सर अस्पताललाई गर्यो सहयोग
काठमाडौं । नेपालमा बाल क्यान्सर उपचार सेवालाई सुदृढ बनाउने तथा उपचारलाई अझ सुलभ र पहुँचयोग्य बनाउन सञ्चालित प्रयास अन्तर्गत रमेश गुप्ता मेमोरियल ट्रष्टले महालक्ष्मी डेभलपमेन्ट बैंकसँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पताललाई विद्युतीय आईसीयू बेड उपलब्ध गराएको छ । यसले अस्पतालको बालक क्यान्सर सेवाहरूलाई सुदृढ बनाउनेछ र आईसीयू क्षमतालाई १५ बेडसम्म पुर्याउनेछ । साथै नेपालमा क्यान्सर उपचार गरिरहेका बालबालिकाका लागि आवश्यक उपचार अझ पहुँचयोग्य बनाउन मद्दत गर्नेछ । यो पहल देशभर बाल क्यान्सर हेरचाह प्रणाली सुलाव पार्न थालिएको ठूलो प्रयासको हिस्सा हो । यसका साथै, हाम्रो विश्वव्यापी साझेदार वर्ल्ड चाइल्ड क्यान्सको सहकार्यमा नेपालका सबै सातै प्रदेशमा स्थापना भएका साझा उपचार केन्द्रहरूलाई उपकरण, क्षमता र आवश्यक सहयोग प्रदान गर्दै ट्रष्टले जनाएको छ । यी केन्द्रहरूले उपचारलाई विकेन्द्रीकरण गर्न महत्वपूर्ण भूमिका खेल्छन्, जसले गर्दा बालबालिकाहरू आफ्नो घर नजिकै सुरक्षित र समयमै उपचार पाउन सक्छन् र बारम्बार लामो दुरीको यात्रा गरिराख्नु पर्ने आर्थिक र मानसिक तनावलाई पनि कम गर्दछ । उक्त ट्रष्ट बाल क्यान्सर उपचारको परिणाम सुधार गर्न ३६०–डिग्री दृष्टिकोणसहित कार्यरत स्वास्थ्यकर्मी तालिमदेखि जनचेतना अभिवृद्धि, क्षमता तथा दक्षता विकासदेखि परिवारलाई आर्थिक, भावनात्मक र मनोसामाजिक सहयोग प्रदानसम्म ट्रष्टको उद्देश्य नेपाली बालकहरूले क्यान्सरविरुद्धको लडाइँमा गुणस्तरीय उपचार, आशा र बाँच्ने निष्पक्ष अवसर प्राप्त गर्न सहयोग गर्नु हो । ट्रस्टका अनुसार नेपालमा बाल क्यान्सरको उपचार परिणाम सुधार गर्न सहकार्य, लगानी र दीर्घकालीन दृष्टिकोण अत्यन्तै आवश्यक छ । यसको जारी प्रयासले हरेक बालबालिकाले, चाहे जहाँ बसोबास गरे पनि, गुणस्तरीय क्यान्सर उपचार पहुँच पाउन र बाँच्ने र जीवन सफल बनाउन उचित अवसर पाउन सक्ने प्रणाली निर्माण गर्ने प्रतिबद्धता देखाउँछ ।
सर्वोत्तम सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर, ४०८ जनाले सेवा लिए
काठमाडौं । सर्वोत्तम सिमेन्टले मंसिर २० गते झापा जिल्लाको भद्रपुर नगरपालिका–९ स्थित आफ्नै कारखाना परिसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । 'सुखद जीवनका लागि हौँ निरोगी' भन्ने सन्देशसहित गरिएको यस कार्यक्रममा ४०८ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । सहभागीहरूलाई कम्पनीले निःशुल्क औषधि पनि वितरण गरेको जनाएको छ । शिविरमा वरिष्ठ फिजिसियन, स्त्रीरोग विशेषज्ञ (गाइनोकोलोजिस्ट), नेत्ररोग विशेषज्ञ र छालारोग विशेषज्ञ (डर्माटोलोजिस्ट) सहित २२ जना स्वास्थ्यकर्मीले निःशुल्क सेवा प्रदान गरेका थिए । उद्योगका उपमहाप्रबन्धक नेत्रप्रसाद घिमिरेको नेतृत्वमा सम्पन्न कार्यक्रममा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, वडा नं. ९ का वडा अध्यक्ष राम प्रसाद दाहाल, तथा प्रगति टोल विकास समितिका अध्यक्ष टेक बहादुर रोक्का अतिथिका रूपमा उपस्थित रहेका थिए । उपमहाप्रबन्धक घिमिरेले कम्पनीले सामाजिक उत्तरदायित्वलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको उल्लेख गर्दै यस्ता निःशुल्क स्वास्थ्य शिविरहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने लक्ष्य रहेको बताए । साथै, सामाजिक उत्तरदायित्वअन्तर्गत अन्य विविध कार्यक्रमहरू पनि निरन्तर सञ्चालन गर्दै जाने कम्पनीको प्रतिबद्धता व्यक्त गरे ।