स्वास्थ्य बीमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल
चितवन । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले माघ १ गतेबाट स्वास्थ्य बीमा बन्द गर्ने निर्णय गर्यो । यसको प्रमुख कारण स्वास्थ्य बीमाबाट दाबी गरिएकोमध्ये आधा अस्वीकृत (रिजेक्सन) भएको र समयमा भुक्तानी नपाएको हो । त्रिवि शिक्षण अस्पतालकोभन्दा बढी सेवा दिने यहाँको सरकारी भरतपुर अस्पतालको भुक्तानी पाउनुपर्ने रकम त्रिविको भन्दा बढी छ । तर अस्वीकृत दुई प्रतिशत मात्रै छ । अस्पतालले स्वास्थ्य बीमाको दाबी भुक्तानी र व्यवस्थापनमा छुट्टै खालको व्यवस्थित संरचना बनाएर काम गरेको छ । यसका कारण स्वास्थ्य बीमा कार्यक्रम लागू भएका देशभरका अस्पतालका बीमा हेर्ने कर्मचारी र प्रशासक यहाँ अध्ययनका लागिसमेत आउने गर्दछन् । कतिपय अस्पतालले कर्मचारी पठाएर काम सिकाउने गर्दछन् । स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेस मल्लका अनुसार बोर्डमा रहेका अस्पतालहरूको सरदर अस्वीकृत दर २० प्रतिशत रहेको छ । त्रिविले ५० प्रतिशत रहेको भनेको जनाउँदै उनले सबै अस्पतालको छुट्याएर आफूले नहेरेको बताए । उनले भने, 'बीमा बोर्डको कार्यविधि र निर्देशिका अनुरूप काम नगरेकाले अस्वीकृत भएको हो ।' दाबी गर्न नमिल्ने भनी उल्लेख गरेका क्षेत्रमासमेत उपचार गरी दाबी गरिएको उनको भनाइ छ । जुन अस्पतालले बोर्डको कार्यविधि र निर्देशिका अनुसार काम गरेका छन्, उनीहरूको अस्वीकृत दर न्यून रहेको उनी बताउँछन् । निर्देशिका अनुसार काम गरेकै कारण भरतपुर अस्पतालको अस्वीकृत कम भएको हो । अस्पतालका बीमा कार्यक्रम प्रमुख लीलाधर पौडेलका अनुसार साउन, भदौ र असोज तीन महिनाको विस्तृत अध्ययन गर्दा अस्वीकृत दर दुई प्रतिशत हाराहारी हुन आएको हो । साउनमा १.५ प्रतिशत थियो, भदौमा २.८ र असोजमा ३.३ प्रतिशत अस्वीकृत दर रहेको छ । तीन महिनालाई सरदर मान्दा २.४ प्रतिशत अस्वीकृत दर हुन आउँछ । कार्यक्रम प्रमुख पौडेलले बोर्डको निर्देशिका र कार्यविधिलाई अक्षरम्स पालना गरी काम गरिएको बताए। सो क्रममा सेवाग्राहीलाई बुझाउन समय खर्चिनु परे पनि अस्वीकृत दर कम भएर अस्पतालको व्ययभार घटेको उनको भनाइ छ । उनले भने 'सेवाग्राही मैले यो सेवा किन नपाउने ? भनेर झगडा गर्न आउनुहुन्छ । हामी बोर्डको निर्देशिका देखाएर सम्झाएर पठाउँछौँ ।' अस्पतालको स्वास्थ्य बीमा शाखामा १८ जना कर्मचारीले २४ सैँ घण्टा आलोपालो काम गर्ने गरेको उनको भनाइ छ । बोर्डको दाबी भुक्तानीसम्बन्धी तोकिएको मापदण्डभित्र रहेर सेवा प्रवाह तथा सोही अनुरूपका कागजातबाट दाबी गर्ने गरिएको छ । बीमा विभागमार्फत चिकित्सक र स्वास्थ्यकर्मीलाई समय समयमा बोर्डका नयाँ निर्देशन जानकारी गराएर सोही अनुसार काम गर्न आग्रह गरिएकाले पनि न्यून अस्वीकृत भएको पौडेल बताउछन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलका अनुसार बिमामा दक्षजनशक्तिको समूह परिचालन भएको र प्रविधिको उच्चतम प्रयोग गरिरहेका कारण अस्वीकृत दर कम भएको हो । उनका अनुसार अहिले पनि बोर्डबाट रु ६० करोडभन्दा बढी भुक्तानी पाउन बाँकी छ । आर्थिक वर्ष २०७४/७५ बाट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो । गत आर्थिक वर्षको अन्त्यसम्म अस्पतालले १४ लाख ७६ हजार ९०३ पटक सेवा प्रवाह गरेको छ । जस बापत रु दुई अर्ब ४७ करोड ४८ लाख २२ हजार ३२९ अस्पतालले प्राप्त गरिसकेको छ । उनका अस्पतालमा खर्च हुने भएकाले अस्वीकृत दर घटाउने र समयमा भुक्तानी दिने कुरामा बोर्ड सकारात्मक हुनुपर्ने बताउँछन् । भरतपुर अस्पताल स्वास्थ्य बिमा कार्यक्रमका हिसाबले नेपालका अस्पतालमा नमूना रहेको भन्दै उनले अझ व्यवस्थित बनाउने कुरामा आफूहरू लागिरहेको बताउँछन् । नेपालका ५१० अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको छ । दैनिक रु १० करोडभन्दा बढीको दाबी बीमा बोर्डमा ती अस्पतालले गर्ने गरेका छन् । बोर्डको तथ्यांक अनुसार एक करोड नागरिक बिमामा जोडिएको भए पनि ६८ लाख मात्रै सक्रिय छन् । बोर्डले रु १०.५ अर्ब रकम अस्पताललाई भुक्तानी गर्न बाँकी छ । जसका कारण अस्पतालहरूले बीमा कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको गुनासो गर्दै आएका छन् । रासस
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक काफ्लेले दिए राजीनामा
काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले आफ्नो पदबाट राजीनामा दिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कार्यकारी निर्देशक डा काफ्लले राजीनामा बुझाएको जानकारी दिए । उनको राजीनामाबारे छलफल गरिरहेको प्रवक्ता डा बुढाथोकीले बताए । ‘आवश्यक निर्णयका लागि राजीनामाको ब्यहोरा मन्त्रिपरिषद्मा पेश गर्छाैं,’ उनले भने । डा काफ्ले गत फागुनमा बोर्डका कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।
जब ‘भगवान’ मानिएका डाक्टर नै भगवान पुकार्छन्
काठमाडौं । अस्पतालको मूल गेटअघि सानो मन्दिर हुन्छ । अस्पतालभित्र पस्नुअघि बिरामी त्यहीँ रोकिएर ढोग्छ । शरीर विज्ञानको जिम्मा लगाउनुअघि मन विश्वासको ढोकामा झुक्छ । शल्यक्रिया विज्ञानले गर्छ । तर, डर हटाउने काम विश्वासले गर्छ । यही विश्वास र विज्ञानको दोसाँधमा उभिएको छ एउटा नाम, एउटा जीवन र एउटा गम्भीर प्रश्न । डा. ज्ञानेन्द्रमान सिंह कार्कीको जीवनले अहिले यही प्रश्नलाई अझ गहिरो बनाइदिएको छ । बिरामीका लागि चिकित्सक ठूलो कि भगवान ? डा. ज्ञानेन्द्रमान सिंह कार्की नेपाली स्वास्थ्य क्षेत्रका परिचित नाम हुन् । प्रसूति तथा स्त्री रोग विशेषज्ञका रूपमा उनले दशकौं बिताए । थापाथली अस्पतालदेखि कोशी अस्पतालसम्म, सरकारीदेखि निजी अस्पतालसम्म उनले सेवा गरे । हजारौं शल्यक्रिया उनका लागि प्रक्रिया थिएनन्, ती जीवनसँगको साक्षात्कार थिए । धेरै महिलाका पाठेघर जोगिए, धेरै परिवारमा आमा सुरक्षित भइन्, धेरै घरमा खुसी फर्कियो । विदेशमा पढेपछि उतै बस्ने अवसर उनका लागि पनि खुला थियो । तर, उनले स्वदेश फर्कने निर्णय गरे । ‘नेपालीले नेपालमै गुणस्तरीय उपचार पाउनुपर्छ’ भन्ने सोच उनको जीवन दर्शन बन्यो । यही सोचले विराटनगरमा विराट नर्सिङ होम र विराट मेडिकल कलेज स्थापना गरे । करिब हजार बेड क्षमताको अस्पताल, आधुनिक उपकरण र दक्ष जनशक्तिसहितको संरचना केवल व्यवसाय होइन, एउटा सपना थियो उनको । तर, जीवन सधैं योजनाअनुसार चल्दैन । एकाएक उनको मुटुमा समस्या देखियो र भल्भ ब्लकेज भयो । जोखिमपूर्ण अवस्था आयो । समय कम थियो, निर्णय तुरुन्त लिनुपर्ने अवस्था बन्यो । काठमाडौंमै रहँदा समस्या देखिएपछि उनी भारतको दिल्लीस्थित मेदान्त अस्पताल पुगे । त्यहाँ उनको मुटुको जटिल वाइपास सर्जरी गरियो। एकसाता अघि गरिएको शल्यक्रियापछि उनी अहिले आराम गरिरहेका छन् । अस्पतालका अनुसार डा. कार्कीको स्वास्थ्य अवस्था क्रमशः सुधार हुँदैछ । उनी अहिले पनि भारतमै चिकित्सकीय निगरानीमा छन् । तर, उनको उपचारभन्दा पनि बढी चर्चा एउटा प्रश्नले पायो । आफ्नै हजार बेडको अस्पताल सञ्चालन गरिरहेका डाक्टर किन उपचारका लागि भारत जान बाध्य भए ? हजारौंको पुनर्जन्म दिएका उनी आफैले किन पुकारे भगवान ? बिरामी निको हुने काम चिकित्सकको कार्यशैली र क्षमताले हो भगवानको आर्शीवादले ? बिरामीले चिकित्सकलाई भगवानको उपमा दिन्छन् । तर, तिनै चिकित्सकले आफूलाई बचाउनमा भगवानको भूमिका देखे । शल्यक्रियापछि सार्वजनिक भएको डा. कार्कीको भिडियो सन्देशमा उनले पटक–पटक भगवान स्मरण गरेका छन् । ‘अचानक मुटुमा समस्या भएपछि म अचानक दिल्ली आउनुपर्यो, अहिले मेरो जटिल शल्यक्रिया सफल भएको छ, भगवानको कृपाले मलाई राम्रो हुँदैछ ,आशा गरौं यहाँहरूको प्रार्थनाले, यहाँको आर्शीवादले सञ्चो भएपछि तपाईंहरूको सेवाका लागि आउनेछु ।’ ‘प्रभु ईश्वरभन्दा ठूलो कोही छैन, न जीवन हाम्रो हातमा छ न मृत्यु । सबै ईश्वरको हातमा छ,’ उनले थपेका छन् । बिरामीले चिकित्सकलाई भगवानको उपमा दिन्छन् । तर, तिनै चिकित्सकले आफूलाई बचाउनमा भगवानको भूमिका देखे । विराट मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रमेशराज देवकोटाका अनुसार डा. कार्कीलाई आवश्यक पर्ने सेवा विराट मेडिकल कलेजमा उपलब्ध छैन । उनी भन्छन्, ‘डाक्टर साबलाई जे समस्या देखियो त्यो सेवा हाम्रो आफ्नै अस्पताल पनि नभएको र नेपालका अन्य अस्पतालमा भए पनि भरपर्दो नहोला कि भनेर भारत जानु भएको हो ।’ देवकोटाका अनुसार काठमाडौंको गंगालालदेखि विभिन्न अस्पतालमा वाइपास सर्जरी हुने गरे पनि अझै अत्याधुनिक तरिकाले गरिने सर्जरी नेपालमा सीमित छ । ‘काठमाडौंको गंगालालदेखि विभिन्न अस्पतालमा वाइपास सर्जरी हुने भएपनि अझै एडभान्स तरिकाले गर्ने सर्जरी नभएको, र उहाँलाई गर्नुपर्ने सर्जरी निकै जटिल भएकाले कहाँ गर्ने भनेर पारिवारिक छलफल गर्दा बाहिर लिनुपर्ने अवस्था आएको हो,’ उनले भने । देवकोटाका अनुसार उपचार उपलब्ध हुनु र उपचार सुरक्षित हुनु फरक कुरा हो । ‘कतिपय उपचार नेपालमा हुँदैन, कतिपय भएकै सेवा मध्येबाट पनि सुरक्षित कहाँ हुन्छ भन्ने हिसाबले हेर्दा अझै सुरक्षित स्थान हेरिँदो रहेछ,’ देवकोटा भन्छन्, ‘शल्यक्रिया पनि निकै जटिल थियो, जुन डाक्टरलाई गरिएको सर्जरी छ, त्यो नेपालमा पनि नभएको होइन तर सफलता दर निकै कम छ, त्यसैले पनि बाहिर लिनु परेको हो ।’ भारतमा उपचार गराएका डा. कार्कीलाई २४ घण्टाभित्रै आईसीयूबाट क्याबिनमा सिफ्ट गरिएको थियो । यसले नेपालमा यस्ता जटिल शल्यक्रियाका लागि अझै पूर्ण रूपमा एडभान्स प्रविधि भित्रिन बाँकी रहेको संकेत गर्छ । तर मुटुरोग विशेषज्ञहरू नेपालमा सबै प्रकारका मुटुसम्बन्धी उपचार सम्भव रहेको दाबी गर्छन् । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार नेपालमा वाइपास सर्जरी सुरु भएको करिब २२ वर्ष भइसकेको छ । ‘नेपालमा वाइपास सर्जरी हुन थालेको करिब २२ वर्ष जति भयो । अहिले पनि यस्ता सर्जरी नेपालमै भइरहेका छन्,’ उनी भन्छन् । डा. रेग्मीका अनुसार समस्या उपचार नहुनु होइन, विश्वासको मनोविज्ञान हो । ‘नेपालमा उपचारप्रति विश्वास नभएर होइन कि राम्रो ठाउँमा जाँदा अझ राम्रो र सहज हुन्छ भन्ने प्राय:लाई लाग्छ, यही आशामा अहिले पनि उपचार गर्न बाहिर जानेहरूको संख्या धेरै छ,’ उनी भन्छन् । रेग्मीको अनुभव अझ कडा छ । ‘अरूलाई पर्दा यहीँ भइहाल्छ भन्दै सल्लाह दिनु बेग्लै कुरा हो, जब चिकित्सक आफैलाई पर्छ त्यसपछि के हो, के हो भन्ने हुन्छ, आफ्नो जिन्दगीको कुरो जब आउँछ, त्यसपछि सकेसम्म राम्रै ठाउँमा जाउ भन्ने हुन्छ, यस्ता थुप्रै घटना छन्,’ उनले भने । जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी संघीयतापछि सबैभन्दा राम्रो प्रगति भएको क्षेत्र स्वास्थ्य भएको बताउँछन् । ‘एक समय हातले चिरेर अप्रेशन गर्नुपर्ने अवस्था थियो अहिले रोबटमार्फत शल्यक्रिया हुन्छ । प्रविधिको पहुँच बढेको छ, अस्पतालको संख्या बढेको छ, चिकित्सकरू पनि दक्ष हुनुहुन्छ । यही निरन्तरता जारी रहने हो भने नेपालमा स्वास्थ्य क्षेत्रको भविष्य अझ सुन्दर देखिन्छ ।’ नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्की स्वास्थ्य क्षेत्रमा केही जटिलता भए पनि समग्र अवस्था सकारात्मक रहेको बताउँछन् । चिकित्सक र नर्सहरूको पीडा एकातिर भए पनि प्रविधिमैत्री स्वास्थ्य सेवाको विस्तार भइरहेको उनको भनाइ छ । उनी कुनै व्यक्ति विदेश उपचार गएको आधारमा नेपालमा उपचार असम्भव थियो भन्ने निष्कर्षमा पुग्न नहुने बताउँछन् । सर्वसाधारणले चिकित्सकलाई भगवान मान्छन् । अस्पताल पुग्दा जीवन नै चिकित्सकको हातमा सुम्पिन्छन् । तर, विज्ञान भगवान होइन । विज्ञान प्रमाण, परीक्षण र अवलोकनमा विश्वास गर्छ । चिकित्सक आफै पनि आफू भगवान नभई दक्ष जनशक्ति भएको दाबी गर्छन् ।