स्वस्तिक आयलको आम्दानीमा १३० प्रतिशतले उछाल, निर्यात मात्रै ६.९० अर्ब

काठमाडौं । स्वस्तिक आयल इन्डस्ट्रिजले एक वर्षमै साढे १४ अर्ब रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा १४ अर्ब ३६ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो, जुन अघिल्लो वर्षको तुलनामा १३०.३८ प्रतिशत अर्थात् ८ अर्ब १२ करोड ८० लाख रुपैयाँले बढी हो । कम्पनीले सन् २०२४ मा ६ अर्ब २३ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीले मुख्य रूपमा सनफ्लावर तेल, सोयाबिन तेल, तोरीको तेल, पाम आयल तथा वनस्पति घ्यू बिक्रीमार्फत आम्दानी गर्दै आएको छ । सन् २०२५ मा सञ्चालन आम्दानी उल्लेखनीय रूपमा बढ्नुको प्रमुख कारण भारतले खाद्य तेलमा आयात महसुल बढाएपछि नेपालको प्रतिस्पर्धात्मक क्षमता वृद्धि हुनु र भारततर्फ निर्यात बढ्नु रहेको कम्पनीले जनाएको छ । कम्पनीको निर्यात बिक्री सन् २०२५ मा ६ अर्ब ९२ करोड ५० लाख रुपैयाँ पुगेको छ, जुन सन् २०२४ मा ३५ करोड ८० लाख रुपैयाँ र सन् २०२३ मा ६२ करोड ७० लाख रुपैयाँ थियो । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामै कम्पनीले ६ अर्ब १५ करोड १० लाख रुपैयाँ आम्दानी बुक गरिसकेको छ, जसले कुल निर्यात बिक्रीको करिब ४७ प्रतिशत हिस्सा ओगटेको कम्पनीको दाबी छ । उत्पादन क्षमताको उपयोग सन् २०२५ मा ३६ प्रतिशत पुगेको छ, जुन सन् २०२४ मा १८ प्रतिशत मात्र थियो। यसले कम्पनीको सञ्चालन दक्षतामा उल्लेखनीय सुधार आएको संकेत गर्दछ । स्वस्तिक आयल इन्डस्ट्रिज सन् १९८४ डिसेम्बरमा स्थापना भएको हो । यसको उत्पादन प्लान्ट विराटनगर–९ मोरङमा सञ्चालनमा छ । कम्पनीको कुल स्थापित उत्पादन क्षमता वार्षिक १ लाख ३५ हजार मेट्रिक टन रहेको छ । यसका अतिरिक्त तोरीको तेल उत्पादनका लागि वार्षिक १० हजार मेट्रिक टन क्षमता समेत रहेको छ ।  स्वस्तिक आयल इन्डस्ट्रिज केएल दुगड ग्रुपद्वारा प्रवर्द्धित उद्योग हो । समूहले खाद्यान्न, प्याकेजिङ, जडीबुटी प्रशोधन, जलविद्युत्, सिमेन्ट, निर्माण तथा बैंकिङ तथा वित्तीय सेवा जस्ता विभिन्न क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि व्यवसाय गर्दै आएको छ । समूहको औद्योगिक अनुभव र व्यवस्थापन क्षमताले स्वस्तिक आयललाई खाद्यतेल उद्योगको एक महत्त्वपूर्ण उत्पादकका रूपमा स्थापित गरेको छ । कम्पनीका अध्यक्ष विकास दुगडसँग व्यापार तथा उद्योग क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव रहेको छ । उनी केएल दुगड ग्रुपका प्रबन्ध निर्देशकसमेत हुन् र अन्य विभिन्न कम्पनीहरूमा निर्देशकको भूमिकामा संलग्न छन् ।  केएल दुगड समूहले आफ्ना सहायक कम्पनीहरूमार्फत १८० भन्दा बढी उत्पादनहरू बजारमा आपूर्ति गर्दै आएको छ । यसमा चामल, दाल, अन्न, शिशु आहार, मसला, चिया, पीठो, खाद्यतेल तथा अन्य खाद्यान्न सामग्रीहरू समावेश छन्। समूहका बिक्री डिपोहरू देशका विभिन्न भौगोलिक क्षेत्रमा सञ्चालनमा छन् । स्वस्तिक आयल इन्डस्ट्रिजले आफ्ना खाद्यतेल उत्पादनहरू स्वस्तिक, धारा, सनफ्लो, संगम र बिगुल ब्रान्डमार्फत आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको छ ।  खाद्यतेलको बढ्दो आन्तरिक मागलाई सम्बोधन गर्दै स्वस्तिक आयल इन्डस्ट्रिजले स्वदेशी उत्पादन प्रवर्द्धन तथा आयात प्रतिस्थापनमा योगदान पुर्याउँदै आएको छ । कम्पनीले सन् २०२३ मा ७ अर्ब २ करोड ३० लाख, सन् २०२२ मा १२ अर्ब ५१ करोड २० लाख, सन् २०२१ मा ११ अर्ब १० करोड र सन् २०२० मा ८ अर्ब २ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनी कच्चा खाद्य तेल तथा तोरीजस्ता कच्चा पदार्थका लागि अन्तर्राष्ट्रिय बजारमा निर्भर रहनुका साथै खाद्यतेल कच्चा पदार्थहरू कृषिजन्य तथा मौसमी उत्पादन भएकाले मूल्यमा उच्च उतारचढाव हुने जोखिम कायमै रहेको कम्पनीले जनाएको छ । साथै संगठित र असंगठित धेरै कम्पनीहरूको उपस्थितिका कारण उद्योग अत्यन्त प्रतिस्पर्धी रहेको बताइएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १० अर्ब ६ करोड रुपैयाँ ऋण लिएको छ । जसमा १ अर्ब ४५ करोड ४१ लाख रुपैयाँ दीर्घकालीन र ८ अर्ब ६० करोड ६ लाख रुपैयाँ अल्पकालीन ऋण रहेको कम्पनीले जनाएको छ ।

शीर्ष १० धनाढ्यमा वाल्टन परिवारका ३ जनाको इन्ट्री, एलिस बनिन् विश्वकै धनी महिला

काठमाडौं । दुनियाँका शीर्ष धनीहरूको सूचीमा हालै उल्लेखनीय फेरबदल देखिएको छ । वारेन बफेट र स्टिभ बाल्मरजस्ता दिग्गजहरू शीर्ष १० बाट बाहिरिएका छन् भने एउटै परिवारका तीन दाजुभाइ–दिदीबहिनीले सूचीमा स्थान बनाएका छन् । यी हुन्– जिम वाल्टन, उनका भाइ रोब वाल्टन र बहिनी एलिस वाल्टन ।  ब्लूमबर्ग बिलिनेयर इन्डेक्समा जिम आठौं, रोब नवौं र एलिस दशौं स्थानमा रहेका छन् ।  एलिस वाल्टन विश्वकै सबैभन्दा धनी महिला अर्बपति हुन् । यी तीनै जना वाल्टन परिवारसँग सम्बन्धित छन्, जुन राजस्वका आधारमा विश्वकै सबैभन्दा ठूलो कम्पनी वालमार्टको प्रवर्द्धक (प्रमोटर) परिवार हो । यस परिवारका अन्य दुई सदस्य पनि विश्वका शीर्ष १०० धनीहरूको सूचीमा परेका छन् । एलिस वाल्टन । वाल्टन परिवारलाई विश्वकै सबैभन्दा धनी परिवार मानिन्छ । वालमार्टमा वाल्टन परिवारको ४७ प्रतिशत हिस्सेदारी छ । यस कम्पनीको स्थापना सन् १९६२ मा साम वाल्टनले गरेका थिए ।  ब्लूमबर्ग बिलिनेयर इन्डेक्सअनुसार साम वाल्टनका छोरा जिम वाल्टन १५८ अर्ब डलर नेटवर्थसहित विश्वका धनीहरूको सूचीमा आठौं स्थानमा छन् । यस वर्ष उनको नेटवर्थमा २१.३ अर्ब डलरले वृद्धि भएको छ । उनका भाइ रोब वाल्टन १५४ अर्ब डलर नेटवर्थसहित नवौं स्थानमा छन्, जसको नेटवर्थ यस वर्ष २०.७ अर्ब डलरले बढेको छ । जिम र रोबकी बहिनी एलिस वाल्टन १५४ अर्ब डलर नेटवर्थसहित विश्वका धनीहरूको सूचीमा दशौं स्थानमा छन् । यस वर्ष उनको नेटवर्थमा २१ अर्ब डलरले वृद्धि भएको छ । साम वाल्टनका एक छोरा जोन वाल्टनको निधन भइसकेको छ । उनका छोरा लुकास वाल्टन ५३।९ अर्ब डलर नेटवर्थसहित सूचीको ३३औं स्थानमा छन्। जोन वाल्टनकी विधवा क्रिस्टी वाल्टन २५.४ अर्ब डलर नेटवर्थसहित सूचीको १००औं स्थानमा छन् । जोन वाल्टनको सन् २००५ मा हवाई दुर्घटनामा मृत्यु भएको थियो, जसपछि क्रिस्टी वाल्टनले वालमार्टमा करिब २ प्रतिशत हिस्सेदारी पाएकी थिइन् । शीर्ष १०० धनीहरूमा परेका वाल्टन परिवारका पाँच सदस्यहरूको कुल नेटवर्थ ५४५ अर्ब डलर पुगेको छ, जुन ग्रीस, हंगेरी र इरानजस्ता धेरै देशहरूको जीडीपीभन्दा बढी हो । वालमार्टका विश्वका १९ देशमा १० हजार ५०० भन्दा बढी स्टोर सञ्चालनमा छन् ।  वाल्टनको व्यवसाय पूर्ण रूपमा ‘डिस्काउन्ट कल्चर’मा आधारित थियो, जसका कारण मन्दीका समयमा पनि यसको सेयर सधैं मजबुत देखिएको छ । राजस्वका आधारमा वालमार्ट विश्वकै सबैभन्दा ठूलो कम्पनी हो ।  गत वर्ष कम्पनीको राजस्व ७०३.०६ अर्ब डलर रहेको थियो । बजार पूँजीकरणका हिसाबले भने १.०६७ ट्रिलियन डलरसहित यो विश्वमा १२औं स्थानमा रहेको छ ।

सञ्चालनका लागि चिटिक्क बन्यो देशकै पहिलो सुरुङमार्ग {भिडियो स्टोरी}

काठमाडौं । दशकौंदेखि नागढुंगाको घुमाउरो र जामले भरिएको सडकले अब केही महिनामै राहत पाउने छ । मुलुककै पहिलो र आधुनिक सवारी सुरुङमार्ग नागढुंगा सुरुमार्ग निर्माणको अन्तिम चरणमा छ । आधुनिक इन्जिनियरिङ प्रविधि प्रयोग गरी निर्माण गरिएको यो सुरुङमार्ग अबको डेढ महिनाभित्रै सर्वसाधारणका लागि खुला हुने निर्माण कम्पनीको भनाइ छ । नागढुंगा सुरुङमार्ग नेपालका लागि गौरवको विषय पनि हो । निर्माण कम्पनीका अनुसार यसले देशलाई सयौं वर्षसम्म सेवा दिनेछ । सुरुङलाई लिएर आमजनता निकै उत्साहित भएको आयोजनाका प्रमुख परामर्शदाता रमेश कोइराला बताउँछन् । उनले यो स्वाभाविक पनि भएको दाबी गरे । सुरुङमार्ग सञ्चालनमा भएको ढिलाइ निर्माणका कारण नभई प्रशासनिक प्रक्रियाका कारण भएको कोइराला स्पष्ट पारे ।  आयोजनाका प्रमुख परामर्शदाता रमेश कोइराला । ‘सुरुङसँग सम्बन्धित निर्माण कार्य सम्पन्न भइसकेको छ । पश्चिम पोर्टलमा पहिरोका कारण केही ढिलाइ भयो । अब पहिरो पन्छ्याउने काम अन्तिम चरणमा छ,’ उनले भने, ‘अहिलेको ढिलाइ अपरेटर छनोट प्रक्रियाका कारण हो । नेपालमा यस्तो प्रक्रिया पहिलो पटक हुँदैछ । हामी सुरुदेखि नै सबै कुरा सही र व्यवस्थित ढंगले होस् भन्न चाहन्छौं ।’ २.७ किलोमिटर लामो सुरुङमार्ग दुई लेनको छ । यसलाई अत्याधुनिक जापानी प्रविधिबाट डिजाइन गरिएको छ । ‘सुरुङमार्गमा गाडीबाट निस्कने धुवाँ बाहिर फाल्न र ताजा हावाका लागि १५ वटा शक्तिशाली जेट फ्यानसहितको अत्याधुनिक भेन्टिलेसन प्रणाली जडान गरिएको छ । हरेक ५० मिटरको दूरीमा आगो निभाउने फायर हाइड्रन्ट राखिएको छ । जुन आपतकालीन अवस्थामा यात्रुले समेत प्रयोग गर्न सक्छन्,’ उनले भने । सम्पूर्ण सुरुङमार्गको क्षेत्रलाई सीसीटीभी क्यामेरा र विशेष सेन्सरहरूले निगरानी गर्ने तथा धुवाँ र भिजिबिलिटी (दृश्यता) मापन गरी कुनै पनि असामान्य अवस्थामा स्वचालित रूपमा सुरक्षा प्रणाली सक्रिय गर्ने कोइरालाको भनाइ छ ।  उनका अनुसार मुख्य सुरुङमार्गसँगै समानान्तर रूपमा एउटा सानो छुट्टै सुरुङमार्ग बनाइएको छ, जुन आपतकालीन सुरुङमार्ग हो ।  आयोजनाका ल्याब टेक्निसियन प्रकाश पौडेल भन्छन्, ‘यो सुरुङ नियमित यातायातका लागि होइन । यसको एकमात्र उद्देश्य आपतकालीन अवस्थाका लागि हो । यदि मुख्य सुरुङमा कुनै दुर्घटना, आगलागी वा अन्य कुनै घटना भयो भने यो सुरुङ प्रयोग हुनेछ ।’ उनका अनुसार यी दुई सुरुङमार्गहरूलाई ७ वटा क्रस–प्यासेज (वारपार जाने ढोका) ले जोडेको छ । यदि कुनै सुरुङभित्र समस्या आएको खण्डमा एम्बुलेन्स र दमकलसहितको उद्धार टोलीले यो समानान्तर मार्ग प्रयोग गर्ने उनले विकासन्युजसँग बताए ।  यसका साथै सुरुङ मार्गभित्रको कुनै पनि अवरोधलाई बाइपास गर्दै घटना भएको स्थानमा तुरुन्तै पुगिने पौडेलको भनाइ छ । ‘यसले मुख्य सुरुङमा जस्तोसुकै घटना भए पनि उक्त स्थानमा सजिलै पुगिन्छ,’ उनले भने ।  आयोजनाका अनुसार चुनौतीपूर्ण भू–भागमा यस्तो आयोजना निर्माण गर्नु सजिलो थिएन । आयोजना टोलीले पश्चिमी पोर्टलमा देखिएको निरन्तर पहिरोदेखि बजेटमा असर पार्ने मुद्रास्फीतिसम्मका अनेकौं चुनौतीहरूको सामना गरेको छ ।  आयोजनाको सुरुवाती ठेक्का सम्झौता लगभग १४.५ अर्ब नेपाली रुपैयाँमा भएको थियो । जसमा नेपाल सरकारले जग्गा अधिग्रहणका लागि थप ७ अर्ब लगानी गरेको थियो । तर, आयोजनाको एक दशक लामो अवधिमा मुद्राको अवमूल्यन लगायतका विभिन्न कारणले अन्तिम लागत बढ्ने देखिएको आयोजनाले जनाएको छ ।  ‘जब तपाईं सयौं वर्ष टिक्ने संरचना बनाउनुहुन्छ, तपाईंले चुनौतीहरूसँग सामना गर्नैपर्ने हुन्छ,’ कोइराला भन्छन्, ‘हामीले स्थानीय विवादहरूलाई पनि समाधान गर्‍यौं । जुन अहिले समुदायको पूर्ण सहयोगमा सफलतापूर्वक टुंगिएको छ ।’ जग्गा मुआब्जा (७ अर्ब) र निर्माण लागतसहित यस आयोजनाको कुल बजेट करिब २२/२३ अर्ब रुपैयाँ पुगेको छ । डलरको भाउ बढेकाले सुरुको ठेक्का रकममा २०/३० प्रतिशतले वृद्धि भएको छ । स्थानीयसँगका विवादहरू छलफल र नियम अनुसार समाधान गरिएको आयोजनाले बताएको छ । सञ्चालनका लागि कम्पनी छनाेट गरिँदै नेपालमा पहिलो पटक सडक सुरुङमार्ग बनेकाले यसलाई सञ्चालन गर्न वैदेशिक अनुभव भएको कम्पनीसँग ‘ज्वाइन्ट भेन्चर’ मा काम गरिने आयोजनाले जनाएको छ । जसमा १० वटा विदेशी कम्पनीहरूले आवेदन दिएका छन् भने छनौट प्रक्रिया जारी छ ।  आवेदन दिनेहरूमा चीनका ६, भारतका ३ र टर्कीको १ कम्पनी रहेको छ । बोलपत्रअनुसार सबैले कम्तीमा एक नेपाली कम्पनीसँग संयुक्त (ज्वाइन्ट भेन्चर) रूपमा आवेदन दिएका छन् । छनोट हुने कम्पनीले ५ वर्षसम्म सुरुङ सञ्चालन गर्नेछ । सञ्चालनमा आएपछि सुरुङमार्गमा शुल्क (टोल) लाग्नेछ । शुल्क संरचना तार्किक र न्यायोचित हुने गरी डिजाइन गरिएको छ । यो गाडीको प्रकार र यात्राको दिशाअनुसार फरक हुने कोइरालाले बताए ।  ‘तराईबाट उकालो आउँदा ओरालो जाँदाभन्दा धेरै इन्धन खपत हुन्छ,’ कोइरालाले भने, ‘एउटा कार काठमाडौंबाट बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्छ भने भित्रिँदा ७५ रुपैयाँ तिर्नुपर्छ ।’ सुरुङमार्गको कुल लम्बाई करिब २.७ किमी छ । मुख्य सुरुङको उचाइ ८.५ मिटर र चौडाइ ११ मिटर छ । सुरुङभित्र गाडीको गति प्रतिघण्टा ६० किमी तोकिएको छ । ओभरटेक गर्न सामान्यतया निषेध गरिनेछ । प्रक्रियालाई सहज बनाउन प्रिपेड मोबाइल जस्तै (रेडियो फ्रिक्वेन्सी ट्याग) मा आधारित स्वचालित शुल्क प्रणाली पनि उपलब्ध हुने उनको भनाइ छ । मोटरसाइकललाई सुरुङमार्ग प्रयोग गर्न निषेध गरिएको छ ।  आयोजनाका अनुसार सुरुङमार्ग सञ्चालनमा १०/१२ जना इन्जिनियर, टोल कलेक्सन कर्मचारी, चालक, अग्नि नियन्त्रण (फायर फाइटिङ) टिम, रेस्क्यु टिम तथा अन्य प्राविधिक जनशक्ति राखिनेछन् ।  देशकै पहिलो फ्लाईओभर  सुरुङमार्गलाई पूर्णता दिन नेपालकै पहिलो फ्लाईओभर बलम्बु फ्लाईओभर पनि निर्माण गरिएको छ । यसले सुरुङबाट भित्रिने वा बाहिरिने ट्राफिकलाई तलको स्थानीय ट्राफिकसँग नजुधाई सहज बनाउन मद्दत पुग्ने आयोजनाले जनाएको छ ।  आयोजनाका अनुसार यसलाई ग्रेड सेपरेसनको नाम दिइएको छ । ‘फ्लाईओभर र सुरुङ एकसाथ सञ्चालन हुनेछन्,’ कोइराला भने, ‘फ्लाईओभर तयार छ । जुन दिन सुरुङ खुल्छ । त्यही दिन फ्लाईओभर पनि सञ्चालनमा आउनेछ ।’ फ्लाइओभर १८० मिटर लम्बाइ र ७ मिटर चौडाइको रहेको आयोजनाले जनाएको छ । यो फ्लाइओभर हुँदै अब दुई हजार ६६७ मिटर लामो नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गमा सहजै पुग्न सकिनेछ ।  बलम्बु–सिस्नेखोला सुरुङमार्गलाई त्रिभुवन राजमार्गसँग जोड्न निर्माण गरिएको उक्त संरचनामा कालोपत्रे, ट्राफिक लाइट, सडक बत्ती, ट्राफिक चिह्न र डिभाइडरलगायत सम्पूर्ण काम सम्पन्न भइसकेको छ । सञ्चालनमा आएपछि बलम्बु क्षेत्रमा पृथ्वीराजमार्गको दुई लेन फ्लाइओभरका लागि छुट्याइनेछ । राजमार्गको बीच भागका २ लेनबाटै फ्लाइओभर जोडिने व्यवस्था गरिएको छ । आयोजनाका अनुसार फ्लाइओभरबाट करिब ३ किलोमिटर पहुँचमार्ग हुँदै सुरुङमार्गको काठमाडौं पोर्टलसम्म पुग्न सकिन्छ । सुरुङको पश्चिमी पोर्टलमा निर्माणाधीन ‘टोल बुथ’ बाहेक आयोजनाको शतप्रतिशत काम सकिएको आयोजना जनाएको छ ।  यस संरचना निर्माणका लागि राइट अफ-वेभित्र पर्ने १२ रोपनी जग्गा अधिग्रहण गरिएको थियो भने पक्की र टहरासहित ५७ वटा संरचना हटाइएको थियो । प्रभावित जग्गाधनीलाई प्रतिआना ५० लाख रुपैयाँका दरले मुआब्जा प्रदान गरिएको आयोजनाले जनाएको छ । सुरुङमार्ग जापानी कम्पनी हाज्मा-आन्दो कर्पोरेसन लिमिटेडले निर्माण गरिरहेको छ । सुरुङमार्ग सञ्चालनमा आएपछि घण्टौंको जामको समस्या समाधान हुनेछ ।