४२.५ मेगावाट क्षमताको साञ्जेन जलविद्युतको बिजुली राष्ट्रिय प्रणालीमा जोडियो

काठमाडौं । चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको छ । शुक्रबार साँझ उक्त आयोजनाको पहिलो युनिटबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको हो । रसुवाको आमाछोदिङ्मो-५ मा निर्माण भएको सो आयोजनाको क्षमता ४२.५ मेगावाट रहेको छ । सबै प्राविधिक परीक्षण सम्पन्न भई पहिलो युनिटबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाका सब इञ्जिनियर रबिन कोइरालाले जानकारी दिए । उनका अनुसार शुक्रबार एक युनिटबाट ५ मेगावाट बिजुली उत्पादन भएको छ । सो आयोजनाको बाँकी रहेको दुई युनिटको पनि आइतबारसम्म परीक्षण गरेर केन्द्रीय प्रणालीमा जोडिने तयारी गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्पणबहादुर सिंहले जानकारी दिए । ‘क्यास्केड मोडल’ मा निर्माण गरिएका अर्धजलाशय प्रकृतिको दुई आयोजनामध्ये साञ्जेन (माथिल्लो) जलविद्युत् आयोजना २०८० भदौ मसान्तमा सम्पन्न गरी विसं २०८० असोज २१ गतेदेखि राष्ट्रिय प्रणालीमा बिजुली उपलब्ध गराउँदै आएको थियो । कुल ११ केभी क्षमताको आपत्कालीन प्रसारण लाइनमार्फत व्यापारीक रुपमा बिजुली प्रवाह गरिरहेको छ । सो आयोजनाको विद्युत् प्रवाहका लागि कम्पनी आफैँले ८ किलोमिटर ११ केभी डबल सर्किट प्रसारणलाइन तथा १३२/११ केभी सबस्टेसन निर्माण कार्य सम्पन्न गरेको थियो । चिलिमे त्रिशूली ६६ केभी प्रसारण लाइनमार्फत क्षमताको सीमितताका कारण करिब ८.५ मेगावाट विद्युत् वैकल्पिक रुपमा बिक्री गरी हालसम्म करिब ३० करोड रुपैयाँ आम्दानी गरिसकेको छ । साञ्जेन तथा साञ्जेन (माथिल्लो) दुवै आयोजना २०७२ सालको भूकम्प, कोभिड-१९, नाकाबन्दी, राष्ट्रिय प्रसारण लाइन उपलब्ध नहुनु लगायत कारणले निर्धारित समयमा सम्पन्न हुन सकेको थिएन । हालै चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन सम्पन्न हुने बित्तिकै ती आयोजनाबाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्न सफल भएको कम्पनीले जनाएको छ । नेपालमा निर्माणाधीन अर्धजलाशययुक्त आयोजनामध्ये नमूना आयोजना रहेको कम्पनीले जनाएको छ । साञ्जेन माथिल्लो जलविद्युत् आयोजनाको बाँधस्थलमा करिब ४४ हजार घनमिटर क्षमताको पानी जम्मा गरी राष्ट्रिय विद्युत् प्रणालीलाई ७० मिनेट सहज गर्न सकिने ‘पिकिङ पोखरी’ निर्माण गरिएको छ । उक्त पोखरीको पानी सञ्चय गरी साँझको समयमा थप बिजुली उत्पादन गरी राष्ट्रिय विद्युत् प्रणालीमा उल्लेखनीय योगदान गर्न सकिने आयोजनाका प्रमुख कार्यकारी अधिकृत सिंहले जानकारी दिए । उक्त पिकिङ पोखरीका कारण आयोजना मर्मतसम्भार गर्न र ‘इमर्जेन्सी ब्रेकडाउन’मा समेत पावरहाउस सञ्चालन गर्न सकिने उनको भनाइ छ । नेपालमा भएका क्यासकेड आयोजनामध्ये विशेष प्रविधि जडान गरी साञ्जेन माथिल्लो आयोजना मर्मतसम्भार गर्दा पनि तल्लो आयोजना निरन्तर विद्युत् उत्पादन गर्न सकिने नेपालकै पहिलो आयोजना रहेको कम्पनीका सचिव घनश्याम श्रेष्ठले बताए । नेपालमा नमूना प्रविधिका रुपमा पहिलोपटक जडान गरिएको उक्त प्रविधि आगामी दिनमा अन्य क्यासकेड आयोजनाले जडान गरी क्यासकेडको तल्लो आयोजना माथिल्लो आयोजनामा रहने निर्भरता कम गर्न सकिने उनले बताए । जर्मनीमा निर्माण भएको एक प्रकारको अत्याधुनिक प्रविधिको उपकरणका कारण कम्पनीलाई आयोजना मर्मतसम्भार समयका कारण हुने क्षति रोकी आर्थिक रुपमा ठूलो राहत दिने सकिने श्रेष्ठले बताए । सोही विशेषताका कारण काठमाडौं विश्वविद्यालयले उक्त आयोजनाको नमूना आफ्नो प्रयोगशालामा समेत सञ्चालन गरेको छ । हाल नेपालमा विकास गरिएका क्यास्केड आयोजनामध्ये यो नमूना आयोजना रहेकाले जलविद्युत् विकास, नवीकरणीय ऊर्जा, हाइड्रोलोजी, दिगो विकास लगायतका विषयमा अध्ययनरत विद्यार्थीको प्रयोगात्मक अध्ययन-अनुसन्धानका लागिसमेत उपयोग गर्न सकिने कम्पनी सचिव श्रेष्ठको भनाइ छ । साञ्जेन (माथिल्लो) जलविद्युत् आयोजनको सिभिल निर्माण कार्य इसिआई बर्जगुरु, इलेक्ट्रोमेकानिकल निर्माण कार्य विश्वकै ठूलो टर्वाइन निर्माणकर्तामध्ये एक चिनियाँ कम्पनी डोङफोङले गरेको हो भने हाइड्रो मेकानिकल निर्माण स्वदेशी कम्पनी नेपाल हाइड्रोले गरेको हो । कम्पनीले निर्माणाधिन ४२.५  मेगावाट क्षमताको साञ्जेन जलविद्युत् आयोजनाको समेत सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी परीक्षण उत्पादन सुरु गरेको हो । यसबाट हिउँद महिनामा हुने प्रणालीको असन्तुलन केही हदसम्म समाधान गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

गण्डकीमा बैंकको निक्षेप साढे ५ खर्ब र कर्जा साढे ३ खर्ब, क्याम्पसको सङ्ख्या २.८२% घट्यो

काठमाडौं । गण्डकी प्रदेशमा कृषि क्षेत्र क्रमशः घट्दै गएको नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनमा पाइएको छ । केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको ‘वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८०/८१’ मा गण्डकी प्रदेशका ११ जिल्लामा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा करिब ७.७ प्रतिशतले घटेको उल्लेख छ । अध्ययनअनुसार सो प्रदेशमा ४ लाख ३७ हजार ९७२ हेक्टर मात्रै कृषि बालीले ढाकेको क्षेत्र रहेको उल्लेख छ । त्यसमा तरकारीखेतीले ढाकेको क्षेत्रफल भने २.०७ प्रतिशतले वृद्धि भएको छ । अत्याधुनिक खेती प्रणालीका कारण उत्पादनमा केही बढोत्तरी भएको अध्ययनले देखाएको छ । त्यस्तै, मसला, फलफूलखेती र खाद्य, नगदे तथा अन्य बालीले ढाकेको क्षेत्रफल क्रमशः ०.४१ प्रतिशत, ८.२३ प्रतिशत र ८.३८ प्रतिशतले कमी आएको छ । प्रमुख कृषि बालीको उत्पादनमा भने ४.७७ प्रतिशतले वृद्धि भएको उक्त अध्ययनमा उल्लेख छ । खाद्य तथा अन्य बालीको उत्पादनमा ४.७१ प्रतिशत, तरकारी उत्पादनमा ५.४४ प्रतिशत, फलफूल उत्पादनमा ३.८० प्रतिशत र मसला उत्पादनमा ४.५२ प्रतिशतले वृद्धि भएको छ । समीक्षा वर्षमा पशुजन्य उत्पादनतर्फ दूधको उत्पादन ३.३८ प्रतिशत, अण्डाको उत्पादन १५.२९ प्रतिशत र मासुको उत्पादन १ प्रतिशतले ह्रास आएको छ भने माछाको उत्पादनमा ४.९९ प्रतिशतले वृद्धि भएको छ । वनजन्य उत्पादनतर्फ काठको उत्पादनमा २६.१९ प्रतिशतले वृद्धि भएको छ भने दाउरा उत्पादनमा ३.१४ प्रतिशतले कमी आएको छ । सो प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुले कृषि, वन र माछापालन क्षेत्रमा २८ अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । यो रकम यस प्रदेशमा प्रवाहित कुल कर्जाको ८.१४ प्रतिशत रहेको छ । त्यस्तै, अध्ययनमा समेटिएका उद्योगको औसत उत्पादन क्षमता उपयोग ३९।२ प्रतिशत रहेको छ । गत आर्थिक वर्षमा यस्तो अनुपात ४२.४ प्रतिशत रहेको थियो । सिमेन्ट, औषधि, बिस्कुट, प्रशोधित दूध, तोरीको तेल र चुरोटको उत्पादनमा वृिद्ध भएको छ भने इँटा, चकलेट, चाउचाउ, ड्राई सिरप औषधि, वियर, ट्याब्लेट औषधि, तरल औषधि र क्याप्सुल औषधिको उत्पादनमा कमी भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले गण्डकी प्रदेशमा प्रवाहित कुल कर्जाको ८.८८ प्रतिशत अर्थात् ३१ अर्ब १ करोड रुपैयाँ कर्जा औद्योगिक क्षेत्रतर्फ प्रवाह गरेका छन् । सो प्रदेशमा पर्यटक आगमनको सङ्ख्या ६.०१ प्रतिशतले वृद्धि भई ५५ हजार १४९ रहेको छ । त्यस्तै होटलको शय्या सङ्ख्या बिक्री २४.३ प्रतिशतले वृद्धि भई ७३ हजार १२६ रहको छ भने होटलहरुको अकुपेन्सी ३०.७३ प्रतिशत छ । जुन गत वर्ष २४.६१ प्रतिशत थियो । आन्तरिक तथा बाह्य पयर्टनमा व्यापक सुधार आएकाले सेवा क्षेत्रमा तदनुरुपको सकारात्मक प्रभाव देखिएको हो । प्रदेशमा २१ हवाई कम्पनीमार्फत उडान भई ११ हजार ४८५ पटक उडान भएको छ भने हवाई कम्पनीको सिट उपयोग क्षमता ७७.८५ प्रतिशत रहेको छ । गत वर्षको हवाई कम्पनीको सिट उपयोग क्षमता ७४.५४ प्रतिशत थियो । सो प्रदेशमा उच्च शिक्षाका लागि विदेश जाने प्रवृत्ति हाबी भएको, बसाइँसराईलगायत कारणले विद्यार्थी र शिक्षकको सङ्ख्यामा क्रमशः ३.४० प्रतिशत र ४.१६ प्रतिशतले कमी आएको छ । साथै, विद्यार्थी सङ्ख्यामा आएको कमीले गर्दा क्याम्पसहरु गाभिन गई क्याम्पसको सङ्ख्यामा समेत २.८२ प्रतिशतले कमी आएको छ । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालन १२.५ प्रतिशतले वृद्धि भई ५ खर्ब ३४ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । कुल कर्जा प्रवाह भने १.०७ प्रतिशतले ह्रास भई ३ खर्ब ४९ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । पर्यटन क्षेत्रमा प्रवाहित कर्जा रकम गत वर्षभन्दा ९.९० प्रतिशतले वृद्धि भई २३ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।

चीनमा इभीको वर्चश्व बढ्दै, अरू विदेशी कम्पनी टिक्न सकस

काठमाडौं । परम्परागत विदेशी अटोमोबाइल निर्माता कम्पनीहरूले चीनको विद्युतीय कार (इभी) बजारमा आफूलाई अनुकूल बनाउने समय सकिँदै गएको विश्लेषकहरू बताउँछन् । विश्लेषकहरू कम्पनीहरूले चीनमा आफ्नो स्थायित्व कायम राख्न स्थानीय कम्पनीसँग साझेदारी गर्नैपर्ने दावी गर्छन् । जीवाश्म इन्धन (डिजेल पेट्रोल) मा आधारित अटोमोबाइल निर्माताहरूले विश्वको सबैभन्दा ठूलो कार बजारमा आफ्नो पकड कायम राख्न संघर्ष गरिरहेका छन् । जहाँ तीव्र रूपमा नयाँ ऊर्जा सवारीसाधनहरू देशकाे आधाभन्दा बढी कार बिक्री कब्जा गर्ने ध्येयमा छन् । यदि विदेशी ब्रान्डहरूले ‘छिट्टै चीनको बजारमा प्रतिस्पर्धात्मक स्वच्छ ऊर्जा सवारीसाधनहरू ल्याउन सकेनन् भने कुनै पनि बजार हिस्सा बचाउनको लागि सम्भवतः स्थानीय कम्पनीसँगको साझेदारी नै एकमात्र उपाय हुनेछ,’ सिनो अटो इन्साइट्सका संस्थापक तथा प्रबन्ध निर्देशक टु लेले भने । तर यो सम्भवतः धेरै विदेशी ब्रान्डहरूका लागि निकै ढिला भएको उनी बताउँछन् । सन् २०१९ देखि २०२३ को अवधिमा अमेरिकी अटो निर्माता जनरल मोटर्स, जर्मनीको फोक्सवागन र जापानको निसानले चीनमा आफ्नो आम्दानी घटेको देखेका छन् । सन् २०२३ मा दक्षिण कोरियाको कियाले चीनमा २०२० भन्दा ३० प्रतिशतभन्दा कम बिक्री रिपोर्ट गरेकाे छ । यसको तुलनामा टेस्लाले २०१९ देखि २०२३ सम्म चीनको बिक्रीमा छ गुना वृद्धि भएको जनाएकाे छ । लगानीकर्ताहरूको चिन्ता बढ्दै जाँदा व्यवस्थापनले योजनाहरूमा विचार गरिरहेका छन् । जीएमकी सीईओ मेरी बर्राले चीनमा नाफा सुधार गर्न ‘पुनर्संरचना’को विषयमा सेयरधनी र संयुक्त उद्यमका बोर्ड सदस्यहरूसँग बैठकहरू तय गरिएको बताइन् । एक समय राजस्वको हिसाबले जीएम शीर्ष स्थानमा थियो । अमेरिकी, जर्मन र अन्य विदेशी अटोमोबाइल कम्पनीहरू जो दशकौं अगाडि चीनमा प्रवेश गरेका थिए, उनीहरू स्थानीय कम्पनीहरूसँग संयुक्त उद्यमका लागि साझेदारी हुन बाध्य पारिएका थिए । सन् २०२२ मा मात्र चिनियाँ अधिकारीहरूले विदेशी कार कम्पनीहरूलाई उनीहरूको स्थानीय उत्पादनको पूर्ण स्वामित्व लिन अनुमति दिएका थिए । तर यो एक आकर्षक बजार थियाे, जहाँ २०२२ सम्म पनि जीएम र फोक्सवागनले बजार हिस्साको शीर्ष दुई स्थान कब्जा गरेका थिए । त्यसपछि चीनको बीवाईडी र गीलीले क्रमशः बजारको पहिलो र दोस्रो स्थान लिएको चीनको यात्रु कार संघको अक्टोबरको तथ्यांकले देखाउँछ । ‘पश्चिमी [अटोमोबाइल निर्माता]हरू यस तथ्यप्रति जागरुक भैरहेका छन् कि उनीहरू अब चुपचाप बसेर आफ्ना बजार स्थिति खस्किँदै गएको हेर्न सक्दैनन् । उनीहरूले केही न केही गर्नुपर्छ, ठूलो केही गर्नु पर्छ,’ हङकङमा आधारित मर्जर र अधिग्रहण कानुनी विशेषज्ञ डेविड नर्मनले भने । गत वर्ष उनले नेदरल्यान्ड्सको स्टेललान्टिसको तर्फबाट चिनियाँ विद्युतीय कार कम्पनी लिपमोटरको २० प्रतिशत हिस्सामा झन्डै १.५९ अर्ब डलरको खरिदमा प्रतिनिधित्व गरेका थिए । ‘भविष्यको सम्भावना हेर्ने हो भने मलाई लाग्छ- थप साझेदारीहरू पक्कै पनि देखिनेछ,’ नर्मनले भने, ‘चिनियाँ नयाँ ऊर्जा सवारीसाधन कम्पनीहरूको प्राविधिक अग्रता उल्लेखनीय छ र अझ बढिरहेको छ ।’ चिनियाँ विद्युतीय कार कम्पनीहरूले तीव्र प्रतिस्पर्धी स्थानीय बजारमा टिक्न स्मार्टफोनजस्ता मनोरञ्जन डिस्प्ले, प्रोजेक्टर र ड्राइभर-सहायक प्रविधिजस्ता फिचर आफ्ना सवारीसाधनमा राखेका छन् । टेस्लाको ड्राइभर-सहायक संस्करणले अझै चीनमा पूर्ण अनुमोदन पाएको छैन, जबकि स्वदेशी कम्पनीहरूले आफ्ना संस्करणहरू विकास गरिसकेका छन् । एक्सपङ, बीवाईडी र अन्य स्थानीय कम्पनीहरूले एनभीडीया चिप प्रयोग गर्छन्, जबकि चिनियाँ दूरसञ्चार जायन्ट हुवावेले अन्य अटोमोबाइल निर्माताहरूका लागि ड्राइभर-सहायक र इन-कार मनोरञ्जन प्रणाली निर्माण गरेको छ । ‘चीनमा प्रतिस्पर्धात्मक सवारीसाधन बनाउनका लागि [विदेशी] कम्पनीहरूलाई उन्नत ड्राइभर प्रणाली चाहिन्छ, जुन केही चिनियाँ सवारीसाधनहरूमा देखिने सुविधासँग तुलनीय होस्,’ एलिक्सपार्टनर्सको एशिया अटोमोटिभ प्राक्टिसका स्टेफन डायरले भने । विदेशी अटोमोबाइल निर्माताहरूले ड्राइभर-सहायक प्रविधिका लागि चिनियाँ बजारका लागि मात्र नभइ विदेशी बजारका लागि पनि चिनियाँ कम्पनीहरूसँग साझेदारी गर्ने उनकाे अपेक्षा छ । फोक्सवागनले गत वर्ष चिनियाँ विद्युतीय कार स्टार्टअप एक्सपङमा ७०० मिलियन अमेरिकी डलर लगानी गरिसकेको छ, जसले चीनमा २०२६ सम्म वितरणका लागि मोडलहरू सिर्जना गर्नेछ । त्यसको अघिल्लो वर्ष जर्मन अटोमोबाइल निर्माताले आफ्नो कार सफ्टवेयर सहायक कम्पनी र चिनियाँ स्वचालित ड्राइभिङ चिप निर्माता होराइजन रोबोटिक्सबीच साझेदारीका लागि २.४ बिलियन युरो लगानी गर्ने योजना घोषणा ग‍रेको थियाे । उन्नत ड्राइभर-सहायक प्रविधिमा अन्य महत्त्वपूर्ण साझेदारीमा टोयोटाको गत वर्षको घोषणा पनि समावेश छ । यो साझेदारीले चिनियाँ स्वचालित ड्राइभिङ स्टार्टअप पोनी.एआईसँग कारहरूको ठूलो मात्रामा उत्पादन गर्न संयुक्त उद्यम स्थापना गर्नेछ । चिनियाँ कम्पनीसँग प्रतिस्पर्धा गर्न गाह्रो विदेशी अटोमोबाइल निर्माताहरूले उही बजारमा आफ्नै कार वा प्रविधि बेच्ने चिनियाँ कम्पनीहरूसँग साझेदारी गरेर प्रभावकारी लाभ बनाउन सक्ने वा नसक्ने भन्नेबारे अझै अन्याैल छ । ‘स्वदेशी नयाँ ऊर्जा सवारीसाधन ब्रान्डहरू धेरै प्रतिस्पर्धात्मक छन्,’ साङ्घाईमा रहेको मर्जर र अधिग्रहण साझेदार वेङ याजुनले चिनियाँ भाषामा भने, ‘तपाईंले सबै प्रयास गर्न सक्नुहुन्छ, तर पनि केही कारमात्र बेच्न सक्नुहुन्छ ।’ चीनका अटोमोबाइल निर्माताहरूले खरिदकर्तालाई आकर्षित गर्न मूल्य घटाएका छन्, साथै उनीहरूले एकै वर्षमा धेरै नयाँ मोडलहरू सुरु गरेका छन् । जबकि राज्य स्वामित्वका कार कम्पनीहरू पनि संघर्ष गरिरहेका छन् । यसले विदेशी अटोमोबाइल निर्माताहरूले कुनै पनि स्थानीय अधिग्रहणका लागि राज्य-स्वामित्वका कम्पनीहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने अर्थ लगाउँछ । विश्लेषकहरू चिनियाँ स्टार्टअपहरूले घाटामा काम गरिरहेका भए तापनि आफूलाई बेच्न चाहने अवस्थामा नभएकाे बताउँछन् । चीनको बजारमा विदेशी अटोमोबाइल निर्माताहरू र चिनियाँ विद्युतीय कार स्टार्टअपहरूबीच अहिलेसम्मकै सबैभन्दा चर्चित साझेदारी फोक्सवागनको एक्सपङमा रहेको हिस्सादारी हो । जर्मन कम्पनीले आफ्नो बजार हिस्सा पुनःस्थापित गर्न अन्य रणनीतिहरू पनि प्रयोग गर्दैछ । अडी ब्रान्डले चिनियाँ राज्य-स्वामित्वको अटोमोबाइल निर्माता एसएआईसीसँग मिलेर चीनमा नयाँ विद्युतीय कार ब्रान्ड सुरु गरेकाे छ, जसले चारवटा रिङ लोगो हटाएर गोलाकार ठूला अक्षरमा ‘अडी’ लेखेको छ । चीनमा विदेशी अटोमोबाइल निर्माताहरूको बजार हिस्सा अर्को वर्ष घट्नेछ र केही ब्रान्डहरू देशबाट मूलतः बाहिरिने फिच रेटिङ्सका एसिया-प्रशान्त कर्पोरेट रेटिङ्सकी निर्देशक जिङ याङले बताइन् । (एजेन्सीहरूको सहयोगमा)