एनसीएचएल र भायानेटको डेटा सेन्टर पनि जले, कसरी चलिरहेका छन् बैंकका सिस्टम ?
काठमाडौं । जेनजी आन्दोलनमा प्रदर्शनकारीहरूले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को डेटा सेन्टरमा आगजनी गरेका छन् । भदौ २४ गते जेनजी आन्दोलनकारीहरूले कान्तिपुर मिडिया रहेको भवनमा आगजनी गर्दा एनसीएचएलको डेटा सेन्टरमा समेत आगो लागेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेशमान सिंह प्रधानले जानकारी दिए । ‘हाम्रो मल्टिपल डेटा सेन्टर छन् । एउटा डेटा सेन्टर कान्तिपुर भवनमा छ । कान्तिपुर भवनमा आगलागी हुँदा हाम्रो डेटा सेन्टर प्रभावित भएको छ । के कति क्षति भएको हो स्पष्ट हुन सकिएको छैन,’ उनले भने, ‘हाम्रो मल्टिपल साइट भएकाले सञ्चालनमा केही असर गरेको छैन । हाम्रो मल्टिपल साइटबाट चलिरहेको छ । हाम्रो ४ वटा साइटबाट सिस्टमहरू चल्छन् ।’ सीईओ प्रधानका अनुसार ४ वटा डेटा सेन्टरमध्ये एउटामा प्रभाव परे पनि अन्यबाट प्रणाली चलिरहन्छ । एउटा डेटा सेन्टर क्षति हुँदैमा अप्रेशन र ब्याकअपमा केही असर नगर्ने उनको भनाइ छ । ‘कान्तिपुर भवन पुरै जलेको छ । अब हाम्रो डेटा सेन्टरमा के कति क्षति भएको भनेर क्षतिको विवरण संकलनको काम भइरहेको छ,’ उनले भने, ‘उक्त डेटा सेन्टर कहिलेदेखि पुनः सञ्चालनमा आउला त्यसमा भएका सबै सामग्रीहरुको संकलन भइरहेको छ । काम लाग्ने जति सबै लिइरहेका छौं ।’ एनसीएचएल स्रोतका अनुसार कान्तिपुर भवन पुरै जलेको भएपनि ब्याकअप सर्भरमा भने हल्का मात्रै क्षति भएको छ । यस्तै समस्या निम्तिने सक्ने आँकलन गर्दै एनसीएचएले भैरहवा, हेटौंडा, कान्तिपुर भवन, एनसेल भवन, चाबहिल, सिंहदरबारमा ब्याकअप राखेको स्रोतको भनाइ छ । सिंहदरबारमा रहेको डेटा सेन्टर मुख्य रहेको उनले बताए । ‘एनसीएचएलको मुख्य डेटा सेन्टर सिंहदरबारभित्र छ । तर, त्यो डेटा सेन्टरमा केही क्षति भएको छैन । यदि त्यो डेटा सेन्टर जलेको भए बर्बाद हुने थियो । तर, त्यहाँ केही पनि भएन । एनसेलको टावर, कान्तिपुर भवनमा ब्याकअप थियो । कान्तिपुरमा जलेपछि अन्य ब्याकअपबाट प्रणाली सुचारु गरियो,’ उनले भने, ‘जलेको सर्भर लगायतको संकलनको काम भइरहेको छ । खासै धेरै ठूलो क्षति भएको देखिएको छैन । तारहरु जलेको छ । अरु सबै रिकोभरको काम भइरहेको छ ।’ एनसीएचएल स्रोतका अनुसार एउटा डेटा सेन्टर बनाउन २/३ करोड रुपैयाँ लागत लाग्छ । कान्तिपुरमा रहेको डेटा सेन्टर बनाउन पनि सोही अनुसारको लागत लागेको उनले बताए । एनसीएचएलको कान्तिपुर भवनमा रहेको डेटा सेन्टरमा क्षति पुगेको भएपनि बैंक तथा वित्तीय संस्थाहरूको डेटा सेन्टरमा केही असर नपुगेको बैंकरहरू बताउँछन् । यदि विगतको जस्तो कागजी रूपमा बैंक चलेकाे थिए भने सबै ध्वस्त भइसकेको हुने उनको भनाइ छ । ‘यदि कागज पत्र थियो भने ठूलो जोखिम निम्तिन्थ्यो । तर, अचेल सबै बैंकहरू पूर्ण रूपमा डिजिटल भइसकेका छन् । धेरै ठाउँमा डेटा सेन्टर राखेका हुन्छन् । प्राइमरी डेटा र सेकेण्डरी डेटा सेन्टर राखिएका हुन्छन् । जेनजीको आन्दोलनले कुनै पनि बैंकको डेटा सेन्टरमा क्षति पुगेको छैन,’ एक बैंकरले भने, ‘बैंकको डिजिटल प्रणाली स्मुथ तरिकाले चलिरहेका छन् । तर, हाम्रो सिस्टम मात्रै चलेर हुँदैन, इकोसिस्टम चल्नका लागि विभिन्न निकायका सिस्टम पनि चल्नुपर्छ ।’ जेनजी आन्दोलन अघि सिल्भर लाइनमा समस्या आउँदा ८/१० वटा बैंक समस्यामा परेको थियो । तर, आन्दोलनमा कुनै पनि बैंकको डेटा सेन्टर जलेको वा क्षति भएको नसुनेको उनले बताए । साथै, यदि कुनै एउटा डेटा सेन्टरमा असर गरेको भए ब्याकअपबाट सेवा तत्काल सुचारु हुने उनको भनाइ छ । ‘बैंकहरुले मल्टिपल लोकेसनमा सुरक्षित ठाउँमा डेटा सेन्टर राखेका हुन्छन् । जस्तो मेरो बैंकले तीन वटा ठाउँमा डेटा सेन्टर राखेको छ । प्राय: बैंकले २ वटा डेटा सेन्टर राखेका हुन्छन् । तर, कुनै कुनै बैंकले ३ वटासम्म डेटा सेन्टर राखेका हुन्छन्,’ उनले भने, ‘एउटा सेन्टरमा केही समस्या आयो भने अर्काे सेन्टरबाट काम हुन्छ । यदि सबै डेटासेन्टर जले भने समस्या आउँछ ।’ उनका अनुसार अधिकांश बैंकले काठमाडौं उपत्यकाभित्र नै डेटा सेन्टर राखेका छन् । तर, पछिल्लो समय उपत्यका बाहिर पनि पूर्वाधार विकास भइसकेको हुँदा हेटौंडा, पोखरा, बुटवल, चितवन लगायत ठाउँमा पनि डेटा सेन्टर राख्ने गरिएको उनको भनाइ छ । भायानेट कम्युनिकेशनका प्रबन्ध सञ्चालक विनय बोहरा कान्तिपुर भवन जल्दा भायानेटको ब्याकअपमा क्षति पुगेको बताउँछन् । क्लाउड हिमालय डेटा सेन्टर भाडामा लिए काम गरेको भएपनि त्यहाँ भएका संरचनामा क्षति पुग्दा भायानेटलाई पनि असर गरेको उनको भनाइ छ । ‘हाम्रो ७० प्रतिशत संरचना रहेको कान्तिपुर भवनमा आगलागी हुँदा भायानेटमा पनि क्षति भएको छ । भवनभित्र रहेका विभिन्न कार्यालयनमध्ये क्लाउड हिमालयको डेटा सेन्टर पनि थियो । त्यो डेटा सेन्टरमा भायानेटको पूर्वाधार थुप्रै थियो । गुगल, फेसबुक, टिकट, स्वीच, अकाउन्टिङ सफ्टवेयर लगायत सिस्टम त्यहाँ थियो,’ उनले भने, ‘हामीसँग ब्याकअप पनि हुन्छ । तर, मुख्य ठाउँमा नै क्षति हुँदा ब्याकअपले धान्न नसक्ने हुँदो रहेछ ।’ उनका अनुसार स्लो इन्टरनेट बाहेक अरु सबै समस्या समाधान भइसकेको छ । जेनजी आन्दोलनका कारण भायानेटलाई करिब ५ करोड रुपैयाँ बराबरको क्षति पुगेको उनको भनाइ छ । उनका अनुसार एउटा राम्रो डेटा सेन्टर बनाउन १०/१५ करोड रुपैयाँ लाग लाग्छ । ‘स्लो किन भयो भन्दा सर्भर बन्द गर्दैछौं । अहिले बाहिरिबाट कन्टेन्ट आइरहेको छ । आजसम्म समस्या समाधान गर्न सकियो भने अबको २४ घण्टामा सामान्य हुन सक्छ,’ उनले भने, ‘के कति क्षति भएको छ त्यसकाे गणना हुन समय लाग्छ । यदि सर्भर ठिकै छ भने खासै असर पर्दैन । तर, समय र जुन तनाव भयो जनताले ४/५ दिन नेट नचलाउन पाउनु नै ठूलो घाटा हो ।’ इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)को नेतृत्वमा सुधीर पराजुली भायानेट र सिजी नेटको डेटा सेन्टरमा क्षति पुगेको र ठाउँ ठाउँमा आगजनी हुँदा तारहरु पनि जलेको बताउँछन् । ‘चौधरी समूहको सतुङ्गलमा आगजनी गर्दा सीजी नेटको डेटा सेन्टर जलेको छ । भायानेटको कान्तिपुरमा रहेको क्लाउड हिमालय डेटा सेन्टर जल्दा क्षति पुगेको छ । अरु ठाउँमा आगजनी हुँदा तारहरु जलेका छन् । त्यो मर्मतको काम भइरहेको छ,’ उनले भने, ‘अधिकांश इन्टरनेट कम्पनीको तार जलेका छन् । हाम्रो पनि तार जलेर अवरोध भएको छ । त्यो बनाउने काम भइरहेको छ ।’
जेनजी आन्दोलनले होटल क्षेत्रमा २५ अर्बको नोक्सान भएको अनुमान, पर्यटकले बुकिङ रद्द गर्न थाले
काठमाडौं । देशभर भएको जेनजी प्रदर्शनले हिंसात्मक रुप लिँदा त्यसको प्रत्यक्ष असर पयर्टन क्षेत्रमा पनि परेको छ । पर्यटन व्यवसायीहरुले आन्दोलनले यो क्षेत्रमा ठूलो क्षति भएको बताएका छन् । होटल एसोसिएसन अफ नेपालका अध्यक्ष विनायक शाहले अहिलेको अवस्थाले पर्यटन क्षेत्रमा विकराल अवस्था आएको बताए । उनले भने, ‘यो एउटा आकस्मिक अवस्था हो । जब देशभर कफ्र्यू लाग्छ, विमानस्थल बन्द हुन्छन्, पसलहरू बन्द हुन्छन्, तब देश नै ठप्प हुन्छ, यसको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा परेको छ ।’ उनका अनुसार पर्यटनको मुख्य सिजन सुरु हुनै लाग्दा आन्दोलन हुँदा थप ठूलो नोक्सान हुनेछ । उनले आन्दोलनकै कारण ‘बुकिङ भइसकेको होटल पनि रद्द हुने क्रम सुरु भएको बताए । जेनजी आन्दोलनका क्रममा देशैभरिका करिब दुई दर्जन होटलमा ठूलो क्षति पुगेको अध्यक्ष शाहको भनाइ छ । उनका अनुसार तोडफोड, आगजनी र लुटपाटबाट काठमाडौंमा रहेको हिल्टन होटलको मात्रै ८ अर्बभन्दा बढीको क्षतिसहित देशभर करिब २५ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ । जसकारण पर्यटन क्षेत्रमा नराम्रो असर परेको छ । काठमाडौंको लागि ठूलो लगानीको रूपमा विकास गरिएको हिल्टन होटल सञ्चालनमा आएको एक वर्ष नपुग्दै जलेर ध्वस्त भएको छ । २०७८ साल साउन १८ गतेदेखि औपचारिक रूपमा सेवा सुरु गरेको यो होटलमा जेनजी आन्दोलनका क्रममा अराजक समूहले आगो लगाएपछि पुरै ध्वस्त भएको हो । हिल्टन काठमाडौंको सबैभन्दा ठूलो होटल हो । यो होटल शंकर ग्रुपको हो । ८ अर्ब ३५ करोड रुपैयाँ लगानीमा होटल निर्माण भएको थियो । यस्तै, काठमाडौंको बालुवाटारमा रहेको वर्णवास होटलमा पनि आगजनी भएको छ । जसको सञ्चालक राजेन्द्र बजगाईं हुन् । पोखराको बगैचा रिसोर्ट र सरोवर होटलमा पनि ठूलो नोक्सानी भएको छ । अन्य नोक्सान हुने होटलहरूमा पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुल्सीपुर लगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्राण्डका होटलहरू रहेका अध्यक्ष शाहले बताए । उनले यी होटलहरू मर्मतसम्भार र पुनर्निर्माण नगरिकन सञ्चालनमा आउन नसक्ने भएकाले चाडपर्वको मुखमा करिब दुई हजारभन्दा बढी कामदार कर्मचारीको रोजीरोटीमा प्रत्यक्ष असर परेको बताए । जेनजी आन्दोलनले राष्ट्रिय सम्पदाको संरक्षणमा गम्भीर प्रश्न खडा गरेको छ । अध्यक्ष शाह भावुक हुँदै भन्छन्, ‘हाम्रो धरोहरमा आगलागी भएको छ । यस्तो हुनु हुँदैन, हामीलाई त यो भोलिको लागि पनि चाहिन्छ । ’ उनका अनुसार यस्तो अस्तव्यस्त अवस्थामा पर्यटकहरूले ठूलो असहजता भोगिरहेका छन् । एयरपोर्ट बन्द हुनु, आवतजावतमा रोक लाग्नु र आधारभूत आवश्यकता पूरा गर्न पनि समस्या हुनुले उनीहरूको नेपाल बसाइ कष्टकर बनेको छ । ‘अहिले क्षतिको मूल्याङ्कन गर्ने बेला होइन,’ शाह भन्छन्, ‘मेरो अगाडि पर्यटकहरू अलपत्र परेका छन्, उनीहरूलाई कसरी खानेकुरा र पानी पु¥याउने भन्ने चिन्ता छ । हामी अहिले त्यसैमा केन्द्रित छौं ।’ पर्यटन व्यवसायीहरूले अहिले सेनाको सहयोग र सहकार्यमा अलपत्र परेका पर्यटकहरूलाई सुरक्षित राख्न र उनीहरूको व्यवस्थापन गर्न हरसम्भव प्रयास गरिरहेको होटल एसोसिएसन अफ नेपालका महासचिव साजन शाक्यले बताए । उनका अनुसार क्षतिग्रस्त होटलहरूले बैंक तथा वित्तीय संस्था लगायतका आर्थिक दायित्व नियमित रूपमा भुक्तानी गर्न असमर्थ रहने अवस्था सिर्जना भएको छ । होटल एसोसिएसन अफ नेपालले यी होटलहरूलाई मर्मतसम्भार र पुनःनिर्माणका लागि राज्यबाट आर्थिक प्याकेज उपलब्ध गराएर पर्यटन विकासको क्षेत्रलाई अघि बढाउन माग गरेको छ । शाक्यका अनुसार घुम्ने र रमाइलो गर्ने उद्देश्यले आएका पाहुनाहरूलाई सुरक्षित र सहज वातावरण प्रदान गर्नुभन्दा अर्को ठूलो प्राथमिकता छैन । उनले भने, ‘यो संकटले नेपालको पर्यटन उद्योगमा दीर्घकालीन असर पार्ने निश्चित छ । अहिलेको तत्कालको प्राथमिकता भनेको सबै पर्यटकलाई सुरक्षित राख्नु र उनीहरूको आधारभूत आवश्यकता पूरा गर्नु हो ।’ भविष्यमा नेपालले पर्यटकहरूका लागि एउटा सुरक्षित र आकर्षक गन्तव्य हो भन्ने सन्देश कसरी दिन्छ भन्ने कुरामा ठूलो चुनौती रहेको उनको भनाइ छ । यसका लागि देशमा शान्ति स्थापना र क्षतिको पुनः निर्माण अपरिहार्य देखिएको महासचिव शाक्य बताउँछन् । पर्यटन विभागका निर्देशक हिमाल गौतम पनि जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पारेको बताउँछन् । उनका अनुसार हालैको परिस्थितिपछि नेपालको पर्यटन क्षेत्र बिस्तारै सामान्य अवस्थामा फर्किनेछ । पर्वतारोहणका लागि परमिट लिएका पर्यटकहरू गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन् भने अन्य पर्यटकहरूको आगमनको क्रम पनि जारी छ । उनले प्रिबुक गरिएका भ्रमणहरू रद्द वा क्यान्सिल नभएको र यस विषयमा खासै आपत्ति नरहेको स्पष्ट पारे । परिस्थिति बिस्तारै सामान्य हुने अपेक्षा उनको छ । यद्यपि पछिल्लो समय पर्यटकहरूले अनुभव गरिरहेको चुनौती र केही पसल तथा होटलहरूमा आगजनीजस्ता घटनाबारे प्रश्न गर्दा अधिकारीले सरकार र सम्बन्धित निकाय सक्रिय रहेको जनाए । उनले भने, ‘यस अवस्थामा पर्यटक प्रहरीको भूमिका बढाइएको छ र पर्यटन बोर्ड, पर्यटन विभाग, मन्त्रालय तथा पर्यटन प्रहरीहरूले समन्वय गरी स्वयंसेवक परिचालन गरिरहेका छन् ।’ विशेषगरी एयरपोर्टबाट होटलसम्म र होटलबाट विभिन्न स्थानसम्म पर्यटकलाई पुर्याउन पर्यटक प्रहरी र टुरिजम बोर्डले सवारीसाधनको व्यवस्था गरेको छ । अहिलेको अवस्थामा पर्यटकहरूको सुरक्षा र सहजीकरणमा विशेष ध्यान दिइएको गौतमको भनाइ छ ।
जेनजी प्रदर्शनमा मृत्यु हुने ३० जनाको पहिचान, कुन अस्पतालमा कति ?
काठमाडौं । भदौ २३ र २४ गते देशभर भएको जेनजीको प्रदर्शनबाट ठूलो धनजनको क्षति भएको छ । राजनीतिक नेतृत्वको गलत कार्यशैली र देशमा व्याप्त भ्रष्टाचार अन्त्यको एजेण्डा बोकेर सडकमा उत्रिएको दोस्रो दिनमै देशले ठूलो जनधनको क्षति बेहोर्नु पर्यो । यो प्रदर्शनले हिंसात्मक रुपमा लिँदा देशभर ३० जनाको मृत्यु भएको छ भने ९ सय ६० जना घाइते भएको विवरण प्राप्त भएको छ । केही व्यक्ति भने सामान्य उपचारपछि घर फर्किएका छन् । काठमाडौं उपत्यकाका सातवटा अस्पताल र उपत्यका बाहिरका केही अस्पतालमा उपचारका लागि पुगेका ३० जनाको मृत्यु भएको ती अस्पतालले जानकारी दिएका छन् । विकासन्युजले देशभरका ११ वटा अस्पतालबाट पाएको सूचना अनुसार हालसम्म ३० जनाको मात्रै मृत्यु भएको छ । राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा रहेको राष्ट्रिय ट्रमा सेन्टरमा जेनजी प्रदर्शनमा १ सय ७१ जनालाई उपचारको लागि ल्याइएको थियो । ती मध्ये ८ जनाको मृत्यु भएको छ भने पाँच जनाको आइसीयूमा उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार २७ जनाको अहिले पनि उपचार भइरहेको छ । मृतक ८ जनामध्ये अहिलेसम्म दुई जनाको ठेगाना खुल्न सकेको छैन । अस्पतालका अनुसार मृत्यु हुनेमध्ये ग्लोबल कलेजमा अध्ययनरत १९ वर्षका श्रीयाम चौलागाई, बाँकेको धुम्वुजी गाउँपालिका २ का २५ वर्षिय शुलभराज श्रेष्ठ, कीर्तिपुरका ४२ वर्षका बुद्धि तामाङ, सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाका ६ का २९ वर्षका योग बहादुर श्रेष्ठ, काठमाडाैंको बनस्थलीका २६ वर्षका ईश्वत बहादुर अधिकारी, उदयपुरको बेलका नगरपालिका ४ बेलकका २९ वर्षका सन्तोष बिक, काठमाडौंको टोखा नगरपालिका ८ का १९ वर्षका आयुष थापा र ठेगाना नखुलेका करिब २९ वर्षका गौरब जोशी रहेका छन् । मृतक ८ जनाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पुर्याएको अस्पतालले जनाएको छ । सिभिल अस्पताल प्रर्दशन भएको ठाउँबाट सबैभन्दा नजिकको अस्पतालमा पर्छ निजामती कर्मचारी अस्पताल (सिभिल) । काठमाडौंको मीनभवनमा रहेको निजामती कर्मचारी अस्पतालमा उपचारका लागि पुगेका ६ जनाको मृत्यु भएको छ । अस्पतालका अनुसार ३ सय ५४ जना सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ भने ४८ जना अस्पतालमा भर्ना भएका छन् । अस्पतालले ४१ जनाको शल्यक्रिया गरेको छ भर्ना भएका घाइतेमध्ये १५ जनालाई डिस्चार्ज गरेको छ । अस्पतालले चार जना घाइतेको फेरि शल्यक्रिया गर्नुपरेको र ४४ जनालाई अन्य अस्पतालमा रिफर गरिएको बताएको छ । सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेहरूमा अर्घाखाँचीका १८ वर्षका मिशल सारु मगर, गोरखाका २२ वर्षिय विमल भट्ट, ठेगाना नखुलेका २४ वर्षका काशीआलम ठाकुर, सिराहका ३२ वर्षका विजय चौधरी रहेका छन् । यस्तै, दोलखाका २१ वर्षीय अभिषेक चौलागाईं र धनकुटाका ६० वर्षका छत्रमान कुथुमीको मृत्यु भएको अस्पतालले जनाएको छ । उनीहरू सबैको शव पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले बताएका छन् । फ्रन्टलाइन हस्पिटल पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालले जेनजी प्रदर्शनमा घाइते १७ जनाको उपचार गरेको जनाएको छ । जसमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ भने १३ जनाको उपचारपछि डिस्चार्ज गरेको जानकारी दिएको छ । घाइते एक जना भने अहिले पनि उपचाररत रहेको अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार उपचारको क्रममा मृत्यु भएका तीन जनामा संखुवासभाका २१ वर्षका प्रविन कुलुङ, चावहिलका २१ वर्षका उमेश महत र गौशालाका १७ वर्षीया निकिता गौतम रहेका छन् । मृतकको शवलाई भने पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पुर्याइएको अस्पतालले जनाएको छ । केएमसी अस्पताल सिनामंगलमा रहेको केएमसी अस्पतालले ७३ जनाको उपचार गरेको जानकारी दिएको छ । जसमध्ये २ जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको अस्पतालका सूचना अधिकारी नारायण दाहालले बताए । अस्पतालमा अहिले पनि ३५ जना उपचाररत छन् भने ३३ जनालाई उपचार पछि डिस्चार्ज गरिएको छ । दाहालका अनुसार उपचारको क्रममा ठेगाना नखुलेका सुभाष बोहोरा र सौरम किशोर श्रेष्ठको रहेका छन् । बयोधा अस्पताल बल्खुमा रहेको बयोधा अस्पतालले पनि जेनजीहरूले गरेको आन्दोलनमा घाइते भएका २१ जना उपचार गरेको बताएको छ । अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै २१ जनाको उपचार गरेको जनाएको छ । जसमा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइतेहरू उपचारपछि घर फर्किएका छन् । ९ जनाको अहिले पनि अस्पतालमा उपचार भइरहेको छ । एक जनालाई भने अस्पतालले रिफर गरेको छ । मृत्यु हुनेमा २८ वर्षका अर्जुन भट्ट र २३ वर्षका देवकुमार सुवेदी रहेको अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार २४ वर्षका दीपक साउँदको भने रिफर गरिएको छ । एभरेष्ट अस्पताल नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालमा तीनजनाको मृत्यु भएको छ । अस्पतालका अनुसार ललितपुरका २४ वर्षिय योगेन्द्र न्यौपाने, ललितपुर महानरपालिका ७ का ३४ वर्षका विनोद महर्जन र काभ्रेको तेमाल गाउँपालिका ७ का ४३ वर्षीय दिलनारायण तामाङको उपचारको क्रममा मृत्यु भएको छ । अस्पतालले १ सय २१ जना घाइते उपचारका लागि अस्पतालमा आएका मध्ये तीनजनाको मृत्यु भएको र गम्भीर घाइते ८ जनाको उपचार भइरहेको जानकारी दिएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान देशको पूर्वी भेगमा भएको जेनजी प्रदर्शनमा घाइते दुई जनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उपचारका लागि पुगेका चार जनामध्ये दुई जनालाई मृत अवस्थामा अस्पताल पुर्याएको अस्पतालले जानकारी दिएको छ । अस्पतालका प्रवक्ता प्रा.डा. अञ्जु प्रधानका अनुसार अस्पतालमा ल्याइएका चार जनामध्ये दुई जना मृत अवस्थामा पुर्याएको र दुई जनाको उपचार भइरहेको छ । मृत्यु हुनेमा २० वर्षका अभिषेक श्रेष्ठ र अर्को ठेगाना नखुलेका अन्दाजी ३० वर्षका पुरुष रहेको प्रधानले जानकारी दिइन् । घाइते गुमन सिंह शासंकको डेन्टल वार्ड र भूपेन्द्र खड्काको न्यूरो सर्जरी वार्डमा उपचार भइरहेको छ । त्रिवि शिक्षण अस्पताल त्रिवि शिक्षण अस्पतालमा पनि एक जना घाइतेको उपचारको क्रममा मृत्यु भएको छ । अस्पतालका अनुसार मृतकको अहिलेसम्म पनि पहिचान खुल्न सकेको छैन । अस्पतालका सूचना अधिकारी काली प्रसाद रोस्यारा भन्छन्, ‘एक जनाको उपचारकै क्रममा मृत्यु भयो । तर, उनको पहिचान खुल्न सकेको छैन, आफन्त पनि नआउँदा मृतक को हुन् भन्ने यकिन हुन सकेको छैन ।’ उनले २४ जना घाइतेको उपचार गर्दा एक जनाको मृत्यु भएको र अन्यको उपचार पछि डिस्चार्ज गरिएको बताए । भेरी अस्पताल, बाँके बाँकेमा रहेको भेरी अस्पतालले भने २१ जना घाइतेको उपचारपछि रिफर गरेको जानकारी दिएको छ । अस्पतालका मेडिकल सुपरिडेन्ट निराजन सुवेदीले प्रदर्शनकारी पाँच जनाको मृत्यु भएको भनिए पनि जेनजी प्रदर्शनकारी नरहेको बताए । उनले बाल सुधारगृहको प्रदर्शनमा पाँच जनाको मृत्यु भए पनि जेनजी प्रदर्शनका घाइतेको भने मृत्यु नभएको जानकारी दिए । ‘भेरी अस्पतालमा पाँच जना प्रदर्शनकारीको मृत्यु भन्ने हल्ला भएको रहेछ,’ उनी भन्छन्,‘ तर, ती प्रदर्शनकारी जेनजी आन्दोलनका होइनन् । उनीहरू बालसुधार गृहभित्रका प्रदर्शनकारी हुन् ।’ बीएनसी अस्पताल झापाको बीएनसी अस्पतालमा पनि ३ जनाको मृत्यु भएको छ । पोष्टमार्टममा समस्या जेनजी आन्दोलनमा मृत्यु भएका शवको पोष्टमार्टममा समस्या भएको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ । अस्पतालले क्षमता भन्दा बढी शव पोष्टमार्टम गर्नुपर्ने अवस्था आउँदा समस्या भएको बताएको हो । अस्पतालमा पोष्टमार्टमको लागि सय जनाको क्षमता भएपनि क्षमता भन्दा बढी शव हुँदा समस्या भएको अस्पतालले जानकारी दिएको छ । अस्पतालमा ८०/९० वटा शव पुरानै भएको अवस्थामा थप आन्दोलनका क्रममा मृत्यु भएको शव आउँदा पोष्टमार्टममा समस्या भएको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले बताए । उनी भन्छन्, ‘हामीकहाँ बेवारिसे शवदेखि अन्य देशबाहिरका शव पनि पोष्टमार्टमको लागि आउँछन् अहिले आन्दोलनका शवदेखि अन्य गरेर ४९ वटा शव थप आउँदा क्षमताभन्दा बाहिर गइसकेको अवस्था छ ।’ रोस्याराका अनुसार जेनजी आन्दोलनमा मृत्यु भएका केही शवको पहिचान नै नखुल्दा पनि समस्या देखिएको छ । ‘शव पोष्टमार्टमका लागि प्रहरीको रिपोर्ट र मृतकको परिचय खुल्नुपर्छ तर यहाँ न प्रहरीको रिपोर्ट छ न त व्यक्तिको परिचय खुलेको छ, जसका कारण शव त्यत्तिकै राखिएको छ,’ उनले भने । यी हुन् मृतक :