डोल्पाको दुनैमा नेपाल बैंकको एटिएम सेवा सञ्चालन
डोल्पा । नेपाल बैंक लिमिटेडले डोल्पा सदरमुकाम दुनै बजारस्थित आफ्नो शाखा कार्यालयमा ‘एटिएम’ सेवा थालनी गरेको छ । बैकको ८९ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार दुनैमा आयोजित कार्यक्रममा बैंकका कर्णाली प्रदेश प्रमुख दिनेशप्रसाद पौडेलले सो सेवाको शुभारम्भ गर्दै स्थानीयसेवाग्राही र आन्तरिक पर्यटकलाई बैंकिङ सेवा सहज होस् भन्ने ध्येयले एटिएम सेवा सञ्चालन गरिएको जानकारी दिए । उनले भने, 'सूचना प्रविधिका युगमा डोल्पाका नागरिक र काठमाडौंका नागरिकले समान सेवा पाउनुपर्छ भन्ने बैंकको उद्देश्य रहेको छ ।' डोल्पा शाखाले २०३२ सालदेखि सेवा प्रदान गर्दै आएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेले डोल्पाका बैंकमा एटिएम छैन भन्ने युगको अन्त्य भएको भनाइ राखे । ठूलीभेरी नगरपालिका– ३ का वडाध्यक्ष भक्तबहादुर भण्डारी, उद्योग वाणिज्य सङ्घ डोल्पाका अध्यक्ष लालीमान बुढा लगायतले नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा आरम्भ गरेकामा धन्यवाद व्यक्त गरे । उनहरुले आगामी दिनमा घरजग्गा धितो राखेर सहजै व्यवसायको लागि ऋण लिने व्यवस्था गर्न माग गरेका छन । बैंकका शाखा प्रमुख भवि भण्डारीले ग्राहकलार्ई एटिएम कार्ड उपलब्ध गराउने जानकारी दिए ।
स्वावलम्बन लघुवित्तले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरूलाई वितरण हुने लाभांश घोषणा गरेको छ । मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम १ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजीकाे कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांशमध्ये ५.६३६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.३६३५ प्रतिशत नगद लाभांश रहेका छन् । लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्नुपर्छ । आवश्यक स्वीकृति प्राप्त भएपछि सेयरधनीहरूले बोनस सेयर र नगद लाभांश दुवै प्राप्त गर्नेछन् ।
शिखर इन्स्योरेन्सको २१औं वार्षिकोत्सवमा ३० कर्मचारीले पाए चाँदीको सिक्का
काठमाडौं । शिखर इन्स्योरेन्सले आफ्नो २१औं वार्षिकोत्सव सम्पन्न गरेको छ । कार्यक्रमका अवसरमा कम्पनीले २० वर्ष सेवा पूरा गरेका ११ जना कर्मचारीलाई सुनको सिक्का र १० वर्ष सेवा अवधि पूरा गरेका ३० जना कर्मचारीलाई चाँदीको सिक्का तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरेको छ । कर्मचारीको समर्पण र मेहनतलाई कदर गर्दै सम्मान गरेको कम्पनीले जनाएको छ । साथै कम्पनीले देशभर आयोजित रक्तदान कार्यक्रममार्फत १४३९ युनिट रगत संकलन गरेको छ । आगामी दिनमा प्रविधिमैत्री सेवा विस्तार, ग्राहक–मैत्री सेवा प्रवाह र सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमहरूलाई अझ सुदृढ गर्दै उत्कृष्ट, भरपर्दो तथा नवप्रवर्तनयुक्त बीमा सेवा उपलब्ध गराउने प्रतिबद्धता शिखर इन्स्योरेन्सले व्यक्त गरेको छ । शिखर इन्स्योरेन्स नेपाल वित्तीय प्रतिवेदन मानक (एनएफआरएस- १७) अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकको संक्षिप्त वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बीमा कम्पनीसमेत हो । शिखर इन्स्योरेन्सले २०६१ मंसिर २ गतेबाट औपचारिक रूपमा बीमा सेवा शुभारम्भ गरेको थियो । १० करोडको चुक्ता पुँजीबाट स्थापना भएको यस कम्पनीको हाल २ अर्ब ६५ करोडको चुक्ता पुँजी रहेको छ । साथै ७ अर्ब ६५ करोड भन्दा बढी नेटवर्थ सहित निजि क्षेत्रबाट प्रवर्द्धित बीमा कम्पनीहरूमध्ये सबैभन्दा बढी नेटवर्थ रहेको निर्जीवन बीमा कम्पनीका रूपमा स्थापित हुन सफल भएको छ । नेपालमा बीमाको पहुँच अभिवृद्धि गर्न शिखर इन्स्योरेन्सले जुम्ला, हुम्ला, कालिकोट, मुगु, मुस्ताङ, बझाङ, दैलेख, डोटी, डोल्पा, ताप्लेजुङ, संखुवासभा जस्ता दुर्गम भेगमा समेत गरी ११२ शाखा कार्यालय मार्फत बीमा सेवा प्रदान गर्दै आएको छ । यस कम्पनीले हिमाली क्षेत्रमा पहिलो पटक मौषममा आधारित स्याउ बीमा गरेर किसानहरूलाई राहत समेत प्रदान गरेको छ । त्यस्तै, कम्पनीले चितवनमा गरेको केरा बीमा समेत उत्कृष्ट र नमुना बीमाको रूपमा परिचित छ। २०६१ साल जेठ १५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको शिखर इन्स्योरेन्स कम्पनीले २०६१ साल कार्तिक २६ गते बीमा समितिबाट निर्जीवन बीमा सेवा प्रवाह गर्ने लाइसेन्स पाएको थियो । बीमा समितिबाट लाइसेन्स पाएको १ साताभित्रै अर्थात् मंसिर २ गतेबाट औपचारिक रूपमा बीमा सेवा शुरू गरेको थियो ।