वातावरण दिवसमा कुमारी बैंकको पहल, इलाममा ३०० बिरुवा रोपियो

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसर पारेर कुमारी बैंक लिमिटेडले इलाम जिल्लामा ३०० वटा बिरुवा रोपेको छ । बैंकको फिक्कल शाखामार्फत इलाम नगरपालिका र लुम्बिनी विश्व शान्ति मञ्चसँग सहकार्य गरी इलाम नगरपालिकाको स्वामित्वमा रहेको चियाबगान क्षेत्रभित्र वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको हो । उक्त वृक्षरोपण कार्यक्रमले भविष्यमा प्राकृतिक सन्तुलन संरक्षण, हरियाली प्रवर्द्धन तथा वातावरणीय सुधारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ । साथै, यसले जैविक विविधताको संरक्षण र जलवायु परिवर्तनप्रति उत्तरदायित्वपूर्ण कदमका रूपमा समेत सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । हरियाली विस्तारसँगै इलामजस्तो पर्यटकीय क्षेत्रको आकर्षण थप वृद्धि भई दिगो पर्यटन विकासमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले देशभर रहेका आफ्ना २८६ शाखा सञ्जाल तथा ४१ एक्सटेन्सन काउन्टरमार्फत 'समुदायका लागि कुमारी बैंक' अवधारणाअन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसअन्तर्गत विपन्न तथा आवश्यकतामुखी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, विद्यालय पूर्वाधार विकासमा सहयोग, सरसफाइ सामग्री वितरण, अनाथालय सहयोग तथा वित्तीय एवं डिजिटल साक्षरता अभिवृद्धिका कार्यक्रमहरू नियमित रूपमा सञ्चालन हुँदै आएका छन् । बैंकले आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।     

इभी बीमा दाबी विवाद व्यवस्थापन सम्बन्धी तालिम आयोजना हुँदै

काठमाडौं । नेपाल इन्स्योरेन्स सर्भेयर्स एसोसिएसन (निशा) ले विद्युतीय सवारी साधन (इभी) बीमा दाबी विवाद व्यवस्थापन सम्बन्धी तालिम आयोजना गर्ने भएको छ । इभी सम्बन्धी बीमा दाबी विवादहरूको प्रभावकारी व्यवस्थापन तथा नवीन प्रवृत्तिबारे ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले 'ह्यान्डलिङ इभी क्लेम्स डिस्प्युडस् : करेन्ट च्यालेन्जेज् एण्ड इमर्जिङ ट्रेन्ड्स' विषयक विशेष तालिम आयोजना गर्न लागेको एशोसिएनले जनाएको छ । एसोसिएनका अनुसार तालिम जेठ ३१ गते आइतबार दिउँसो १ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने छ । तालिम ललितपुर स्थित होटल कुटुम्बमा सञ्चालन हुने छ ।  उक्त तालिममा विद्युतीय सवारी साधन विश्लेषक, सर्भेयर तथा लस एसेसर एवं विद्युतीय इन्जिनियर इ. प्रेमलाल तामाङले प्रशिक्षण प्रदान गर्ने एसोसिएशनले जनाएको छ । एशोसिएनका अनुसार तालिममा इभी बीमा दाबीका क्रममा देखिने प्राविधिक जटिलता, विवाद समाधानका उपाय, ब्याट्री तथा विद्युतीय प्रणालीको क्षति मूल्याङ्कन, तथा अन्तर्राष्ट्रिय अभ्यासलगायत समसामयिक विषयहरू समेटिने छन् ।  कार्यक्रममा अधिकतम २५ जना सहभागीको मात्र सहभागिता रहनेछन् ।  इच्छुक व्यक्तिहरूलाई समयमै दर्ता गरी आफ्नो सहभागिता सुनिश्चित गर्न संघले ले आग्रह गरेको छ । एसोसिएशनले तालिम शुल्क निशा सदस्यहरूका लागि तीन हजार रुपैयाँ र गैर–सदस्यहरूका ५ हजार रुपैयाँ निर्धारण गरेको छ । 

सेयरधनीले नकिनेको सेयर बेच्दै यूनाइटेड अजोड, १०० रुपैयाँबाट बोलकबोल सुरु

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले बिक्री नभई बाँकी रहेको हकप्रद सेयर गोप्य शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशनपछि अवितरित रहेको ७० हजार ४८० कित्ता सेयर बिक्री गर्ने भएको हो ।  कम्पनीका अनुसार बिक्री हुन बाँकी रहेको सेयरमध्ये संस्थापक समूहको ६३ हजार ८४७ कित्ता र सर्वसाधारण समूहको ६ हजार ६३३ कित्ता रहेको छ । उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले जेठ २९ गतेदेखि असार ८ गतेसम्म आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि लगानीकर्ताले आफूले कबुल गरेको मूल्य उल्लेख गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । कम्पनीले न्यूनतम बोलकबोल मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरेको छ । कम्पनीको सेयर बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले लक्ष्मी सनराइज बैंकका विराटनगर, वीरगन्ज, जनकपुर, हेटौंडा, नारायणघाट, पोखरा, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर र धनगढी शाखाबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।