प्रभु इन्स्योरेन्सको ९.१५ प्रतिशत लाभांश घोषणा
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको फागुन १७ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्ता पुँजी १ अर्ब ७० करोड ९ लाख ५५ हजार ९१९ रुपैयाँको कुल ९.१५७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । घोषित लाभांशमध्ये ८.७ प्रतिशतले हुन आउने १४ करोड ७९ लाख ८३ हजार १६५ रुपैयाँबराबरको बोनस सेयर तथा कर प्रयोजनार्थ ०.४६७९ प्रतिशतले हुन आउने ७७ लाख ८८ हजार ५८८ रुपैयाँबराबरको नगद लाभांश रहेको कम्पनीले जनाएको छ । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ ।
यस्तो छ मंगलबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ छ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २८ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०३ रुपैयाँ ८८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११५ रुपैयाँ ३३ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३१ पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ २२ पैसा र बिक्रीदर २१ रुपैयाँ ३१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३९ रुपैयाँ सात पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४० रुपैयाँ १३ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६४ पैसा र बिक्रीदर चार रुपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ दुई पैसा र बिक्रीदर १० रुपैयाँ छ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ दुई पैसा र बिक्रीदर १६ रुपैयाँ नौ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९३ पैसा र बिक्रीदर २३ रुपैयाँ दुई पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८ रुपैयाँ ७५ पैसा, कुवेती दिनार एकको खरिददर ४७७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४७९ रुपैयाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर ३८७ रुपैयाँ दुई पैसा र बिक्रीदर ३८८ रुपैयाँ ६१ पैसा, ओमनी रियाल एकको खरिददर ३७९ रुपैयाँ १३ पैसा र बिक्रीदर ३८० रुपैयाँ ६९ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
सक्रिय जीवन बीमालेखको संख्या १४.५७ प्रतिशतले वृद्धि, सबैभन्दा धेरै हिस्सा लघु जीवन बीमाको
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को माघसम्ममा जीवन बीमा कम्पनीहरूमा सक्रिय बीमालेखको संख्या १ करोड ६२ लाख ५३ हजार वटा रहेका छन् । गत आवको यही अवधिमा सक्रिय जीवन बीमालेखको संख्या १ करोड ४१ लाख ५३ हजार वटा थियो । चालु आवको ७ महिनासम्ममा सक्रिय जीवन बीमालेखको संख्या १४.५७ प्रतिशतले वृद्धि भएको छ। पछिल्लो समय बीमा कम्पनीहरूले विगतको तुलनामा समयमै नवीकरण गर्ने प्रवृत्तिमा केही सुधार भएसँगै सक्रिय बीमालेखेको संख्या बढ्न थालेको बीमा कम्पनीहरू बताउँछन् । कम्पनीहरूका अनुसार बीमासम्बन्धी ज्ञान विस्तारै बीमितमा बढ्दै गएको छ । जसको कारण पनि समयमै बीमा नवीकरण गर्ने बीमितको संख्या बढ्दै गएको हो । जीवन बीमा कम्पनीहरूले विभिन्न प्रकारका बीमालेख जारी गर्दै आइरहेका छन् । माघ मसान्तसम्ममा सक्रिय जीवन बीमालेखहरूको संख्याको आधारमा सबैभन्दा बढी हिस्सा लघु जीवन बीमा बीमालेखको रहेको छ । लघु जीवन बीमालेखको हिस्सा ३५.१६ प्रतिशत रहेको छ । गत आवको तुलनामा लघु जीवन बीमालेखको संख्या ४१.४२ प्रतिशतले वृद्धि भएको छ । गत आवको माघसम्ममा लघु जीवन बीमालेखको संख्या ४० लाख ३१ हजार रहेकोमा चालु आवको सोही अवधिमा सो संख्या वृद्धि भएर ५७ लाख पुगेको छ । लघु जीवन बीमापछि दोस्रो धेरै हिस्सा म्यादी जीवन बीमाको रहेको छ । म्यादी जीवन बीमालेखको हिस्सा २१.१४ प्रतिशत रहेको छ । सात महिनाको अवधिमा कम्पनीले ३४ लाख २७ हजार ७६२ वटा बीमालेख रहेको छ । गत आवको सोही अवधिमा म्यादी जीवन बीमालेखको संख्या २४ लाख ४ हजार वटा थियो । गत आवको तुलनामा म्यादी जीवन बीमालेखको संख्या ४.३४ प्रतिशतले वृद्धि भएको देखिन्छ । वैदेशिक रोजगार म्यादी जीवन बीमालेखको संख्या गत आवको तुलनामा २.४३ प्रतिशतले बढेको छ । बीमा प्राधिकरणको अनुसार गत आवमा वैदेशिक रोजगार म्यादी जीवन बीमालेखको संख्या २३ लाख ४६ हजार रहेकोमा चालु आवमा २४ लाख ४ हजार रहेको छ । सात महिनाको अवधिमा उक्त बीमालेखको हिस्सा १४.४७ प्रतिशत छ । सावधिक जीवन बीमालेखको संख्या २१ लाख ८९ हजार, बालबच्चासम्बन्धी सावधिक जीवन बीमालेखको संख्या १० लाख ८९ हजार, रूपान्तारिक सावधिक जीवन बीमालेखको संख्या ६ लाख, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखको संख्या ४ लाख ५७ हजार, आजीवन जीवन बीमालेखको संख्या १ लाख ७० हजार, अन्य जीवन बीमालेखको संख्या १ लाख २३ हजार र एकल बीमा शुल्क बीमालेखको संख्या १ लाख ११ हजार रहेको छ । गत आवको तुलनामा सावधिक जीवन बीमालेखको संख्या ६.६७, बालबच्चासम्बन्धी सावधिक जीवन बीमालेखको संख्या ७.२५, रूपान्तारिक सावधिक जीवन बीमालेखको संख्या १२.१४, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखको संख्या २.९५ प्रतिशले वृद्धि भएको छ । त्यस्तै, आजीवन जीवन बीमालेखको संख्या ३.८८ र अन्य जीवन बीमालेखको संख्या ०.२२ प्रतिशतले घटेको छ ।