समृद्धि र पोखराको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति, यस्तो बन्नेछ सञ्चालक समिति

काठमाडौं । नेपाल राष्ट्र बैंकले समृद्धि फाइनान्स कम्पनी र पोखरा फाइनान्सलाई एक आपसमा गाभ्ने (मर्जर) प्रक्रियाका लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले दुवै संस्थाबीच भएको मर्जर सम्झौता तथा प्रक्रिया पूरा भएपछि वैशाख २९ गते अन्तिम अनुमति दिएको हो ।  अब मर्जरपछि पोखरा फाइनान्स लिमिटेडको नामबाट एकीकृत वित्तीय कारोबार सञ्चालन गर्नेछन् । राष्ट्र बैंकका अनुसार मर्जरपछि कायम हुने संस्थाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा सम्बन्धित विनियमावली र राष्ट्र बैंकका सम्पूर्ण निर्देशनहरूको पूर्ण पालना गर्नुपर्नेछ । त्यस्तै, दुवै संस्थाको सेयर स्वाप अनुपात १:१ रहने गरी पुँजी मिलान गर्नुपर्ने, धितोपत्र सूचीकरण प्रक्रिया पूरा गर्नुपर्ने तथा मर्जरपछि बनेको संस्थाको सेयर कारोबार एकीकृत रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्नेछ । मर्जरपछि पोखरा फाइनान्स लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौंको पुतलीसडकमा रहनेछ भने रजिष्टर्ड कार्यालय गण्डकी प्रदेशको पोखरा महानगरपालिका-९ मा रहनेछ । राष्ट्र बैंकले मर्जरपछि शाखा कार्यालयको व्यवस्थापन, स्थानान्तरण वा गाभ्ने विषयमा आवश्यकता अनुसार पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था पनि गरेको छ । त्यस्तै, मर्जर सम्बन्धी अन्तिम स्वीकृति प्राप्त भएको १५ दिनभित्र एकीकृत कारोबार सुरु हुने मिति सार्वजनिक गर्नुपर्ने र १ महिनाभित्र पूर्ण रूपमा एकीकृत कारोबार सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।  यस्तो बन्नेछ मर्जरपछि सञ्चालक समिति मर्जरपछि बन्ने पोखरा फाइनान्सको सञ्चालक समितिको टुंगो लागिसकेको छ । मर्जपछि बन्ने सञ्चालक समिति सात सदस्यीय हुनेछ । समृद्धि फाइनान्सबाट चार जना र पोखरा फाइनान्सबाट तीन जना सञ्चालक रहने सहमति भएको छ । समृद्धि फाइनान्सबाट अजय मिश्र, दुर्गा थापा, दिनेशकुमार बर्तौला र सुदीप घिमिरे सञ्चालक बन्नेछन् । हालका अध्यक्ष अजय मिश्र गाभिएपछि पनि अध्यक्ष बन्ने स्रोतले जनाएको छ । विनोद कुमार सुवेदी र रोशन पन्त भने बाहिरिने छन् । पोखरा फाइनान्सबाट प्रतीक गुरुङ, यमबहादुर सुर्खाली र तीलबहादुर गुरुङ सञ्चालक बन्नेछन् । हालका अध्यक्ष राजकुमार गुरुङ र गंगा घले भने बाहिरिनेछन् । मर्जरपछि कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश गुरुङ बन्ने सहमति भएको छ । कर्मचारी व्यवस्थापन आन्तरिक रूपमा भइरहेको कम्पनीले जनाएको छ । कर्मचारीहरू हाल जुन पदमा छन्, सोही पदमा रहने र सेवा-सुविधामा कुनै कटौती नहुने स्पष्ट पारिएको छ । कर्मचारी संख्या करिब ३ सय पुग्नेछ, जसमा पोखरा फाइनान्सका करिब २ सय र समृद्धिका करिब १ सय कर्मचारी समाहित हुनेछन् । मर्जरपछि शाखा सञ्जाल ३६ वटा पुग्नेछ । 

जीवन बीमाको नाफा साढे ४ अर्ब, १० कम्पनीको बढ्दा पनि ५.५५ प्रतिशत घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा जीवन बीमा कम्पनीहरूको नाफा करिब ५.५५ प्रतिशतले घटेको छ । सार्वजनिक भएका १४ वटा जीवन बीमा कम्पनीहरूको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कुल खुद नाफा ५.५५ प्रतिशतले घटेर ४ अर्ब ५९ करोड २० लाख रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा यी कम्पनीहरूले ४ अर्ब ८६ करोड १७ लाख रुपैयाँ नाफा कमाएका थिए । यस अवधिमा १० कम्पनीको नाफा बढेको छ भने ४ कम्पनीको नाफा घटेको देखिएको छ । नाफा वृद्धिका आधारमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल अगाडि रहेको छ । कम्पनीको नाफा ३५.७७ प्रतिशतले बढेर ३२ करोड ४ लाख ६७ हजार रुपैयाँ पुगेको छ, जुन गत वर्षको २३ करोड ६० लाख २२ हजार रुपैयाँभन्दा बढी हो । त्यस्तै सूर्यज्योति लाइफको नाफा ११.६९ प्रतिशतले बढेर ३३ करोड ३ लाख ३२ हजार रुपैयाँ पुगेको छ । एशियन लाइफले ३.७८ प्रतिशतले वृद्धि गर्दै ३४ करोड ७३ लाख ८६ हजार रुपैयाँ, सन नेपाल लाइफले ३.३५ प्रतिशतले बढेर ३४ करोड २३ हजार रुपैयाँ, नेशनल लाइफले १.९८ प्रतिशतले बढेर ४१ करोड ६६ लाख २९ हजार रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको १.६१ प्रतिशत बढेर २५ करोड ७० लाख ७० हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । यसैगरी रिलायबल नेपाल लाइफको नाफा ०.९९ प्रतिशतले बढेर ४७ करोड ४ लाख १७ हजार रुपैयाँ, सानिमा रिलायन्स लाइफको ०.९४ प्रतिशतले बढेर ३४ करोड ८ लाख ५८ हजार रुपैयाँ, सिटिजन लाइफको ०.६६ प्रतिशतले बढेर ३६ करोड ४४ हजार रुपैयाँ र आईएमई लाइफको ०.४३ प्रतिशतले बढेर ३६ करोड ७९ लाख १६ हजार रुपैयाँ पुगेको छ । तर केही कम्पनीको नाफा भने घटेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीको नाफा सबैभन्दा धेरै ७३.९४ प्रतिशतले घटेर ४० लाख १७ हजार रुपैयाँमा सीमित भएको छ । त्यस्तै हिमालयन लाइफको नाफा ४४.६५ प्रतिशतले घटेर २६ करोड १४ लाख ४४ हजार रुपैयाँ, नेपाल लाइफको २७.४० प्रतिशतले घटेर ४५ करोड ४८ लाख ९४ हजार रुपैयाँ र अमेरिकन मेट लाइफको १२.३३ प्रतिशतले घटेर ३० करोड २५ लाख ४६ हजार रुपैयाँमा सीमित भएको छ । 

हुलास फिनसर्भ हायर पर्चेजको नाफा ६५.३५ प्रतिशतले वृद्धि

काठमाडौं । हुलास फिन सर्भ हायर पर्चेज लिमिटेड (साबिक हुलास फिन सर्भ लिमिटेड) ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।  कम्पनीले प्रकाशित अन्तरिम वित्तीय विवरणअनुसार उल्लेखनीय व्यवसायिक विस्तार र प्रभावकारी कर्जा असुलीका कारण नाफा तथा कर्जा लगानी दुवैमा उत्साहजनक वृद्धि हासिल गरेको जनाएको छ । कम्पनीले समीक्षा अवधिसम्म २४ करोड १३ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ६५.३५ प्रतिशतले बढी हो । यसै अवधिमा कम्पनीको कुल कर्जा पोर्टफोलियो १० अर्ब पुगेको छ । जुन व्यवसायको आकारमा ७५.१० प्रतिशतको वृद्धि हो । कम्पनीका अनुसार सशक्त व्यवसायिक विस्तार तथा प्रभावकारी रिकभरी व्यवस्थापनका कारण निष्क्रिय कर्जा (एनपीएल) अनुपात ४.२२ प्रतिशतबाट घटेर २.९४ प्रतिशतमा झरेको छ ।  कर्जा लगानी उल्लेखनीय रूपमा बढाउँदै लैजाँदा पनि सम्पत्ति गुणस्तर सुधार हुनु कम्पनीको वित्तीय व्यवस्थापनको सकारात्मक संकेत भएको कम्पनीले जनाएको छ । कम्पनीले आगामी दिनमा पनि सन्तुलित तथा दिगो व्यवसायिक वृद्धि, प्रभावकारी जोखिम व्यवस्थापन, कर्जा असुली सुदृढीकरण तथा सरोकारवालाको दीर्घकालीन हित संरक्षणमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरेको छ ।