नवौं वर्षमा सानिमा रिलायन्स लाइफ, रक्तदान र सामाजिक कार्यक्रम गरियो
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले नवौं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न सामाजिक तथा संस्थागत कार्यक्रमहरू आयोजना गरी वार्षिकोत्सव मनाएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष, सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत तथा उच्च पदाधिकारीहरूको सहभागितामा कम्पनीको प्रधान कार्यालयसहित देशभरका क्षेत्रीय तथा प्रादेशिक कार्यालयहरूमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । मानव जीवनको संरक्षण गर्ने उद्देश्यसहित नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ । यसै अवसरमा काठमाडौंको शान्तिनगरस्थित असहाय वृद्धवृद्धाहरूलाई विशेष आश्रय प्रदान गर्दै आएको निःसहाय सेवा सदनमा ‘आहार–विहार’ कार्यक्रममार्फत सामाजिक उत्तरदायित्वसम्बन्धी गतिविधिहरू पनि सञ्चालन गरिएको थियो । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहज बनाउने, ग्राहक सम्पर्क प्रणाली सुदृढ गर्ने तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी तथा भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको जनाएको छ । हाल कम्पनीले देशभर १६८ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २४ अर्ब रुपैयाँभन्दा बढी लगानी परिचालन गरेको छ । साथै, कम्पनीमा २२ हजारभन्दा बढी अभिकर्ता कार्यरत रहेका छन् ।
हिल्टन होटलले बीमा दाबीबापतको ३ अर्ब मात्रै पाउने
काठमाडौ । गत भदौमा जेनजी प्रदर्शनका क्रममा आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त हिल्टन होटलले बीमा दाबीबापत ३ अर्ब रुपैयाँ मात्रै पाउने भएको छ । होटलले ८ अर्बको दाबी गरेपनि बीमा रकम ५ अर्ब मात्रैको गरेको पाइएको छ । जसअनुसार होटलले बीमाअन्तर्गत ३ अर्ब रुपैयाँ मात्रै पाउने भएको हो । हिल्टन होटलको बीमा दि ओरियन्टल इन्स्यारेन्समा रहेको छ । होटलमा आगजनी भएको ७ महिना बितिसक्दा पनि कम्पनीले बीमा भुक्तानी गर्न सकेको छैन । भुक्तानी रोकिनुको मुख्य कारण दाबी विवाद हो । अनुसन्धानका क्रममा दि ओरियन्टल इन्स्यारेन्स र हिमालायन पुनर्बीमा कम्पनीले हिल्टनको ‘हुलदंगा तथा आतंकवाद जोखिम’ पुनर्बीमा प्रावधान विपरीत काम गरेको पाइएको छ । भर्खरै मात्रै प्राधिकरणले कारवाहीसमेत गरेको छ । यसमा एलियन्ट ब्रोकर कम्पनी पनि संलग्न रहेको पाइएपछि उक्त ब्रोकरको लाइसेन्स तीन महिनाका लागि निलम्बन गरिएको छ । बीमा ऐनअनुसार हुलदंगा तथा आतंकवाद जोखिमको पुनर्बीमा सरकारी कम्पनी नेपाल रि–इन्स्योरेन्समा गर्न सकिने प्रावधान भए पनि, बीमा कम्पनी र ब्रोकरले प्राधिकरणको निर्देशन उल्लङ्घन गर्दै पुनर्बीमा हिमालयन रिमा गराउन खोजेका थिए । यसकारण नेपाल बीमा प्राधिकरणले सम्बन्धित कम्पनीहरूलाई कारबाही गरेको हो। बीमा जानकारहरूका अनुसार पुनर्बीमा विवाद् होस् या आन्तरिक अन्य कुनै विवाद बीमितलाई दाबी दाबीबापतको भुक्तानी बीमा कम्पनीले तिर्नैपर्छ । यस अर्थमा ओरियन्टल इन्स्याेरेन्सले जसरी पनि हिल्टन होटलको दाबी बापतको भुक्तानी गर्नुपर्ने हुन्छ ।
आर्थिक सचेतना बढाउन मेरोमाइक्रोफाइनान्सको अन्तरक्रिया कार्यक्रम
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको आयोजनामा वित्तीय साक्षरता अभिवृद्धि तथा ग्राहक गुनासो सुनुवाइ कार्यक्रम चितवनमा सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, संस्थाका पदाधिकारी तथा सेवाग्राहीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि खैरहनी नगरपालिका–८ का वडा अध्यक्ष शंकर कडेलले वित्तीय साक्षरताले नागरिकलाई आत्मनिर्भर बनाउने उल्लेख गर्दै यस्ता कार्यक्रमलाई अझ विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए । उनले स्थानीय तह र वित्तीय संस्थाबीच सहकार्यमार्फत आर्थिक सशक्तीकरणलाई अगाडि बढाउन सकिने धारणा व्यक्त गरे । कार्यक्रमका विशेष अतिथि इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक सागर पन्तले वित्तीय कारोबारलाई सुरक्षित र पारदर्शी बनाउन सबै सचेत हुनुपर्नेमा जोड दिए । उनले ठगी तथा वित्तीय अपराधबाट जोगिन सचेतना अत्यन्त आवश्यक रहेको बताए । त्यसैगरी, मेरोमाइक्रोफाइनान्सका बागमती तथा गण्डकी प्रदेश प्रमुख जितेन्द्र काजी थापा र अनुगमन कार्यालय चैनपुर, चितवनका प्रमुख कृष्ण प्रसाद उप्रेतीले संस्थाले सञ्चालन गर्दै आएका कार्यक्रमहरू र सेवाबारे जानकारी गराउँदै वित्तीय अनुशासन र जिम्मेवार ऋण प्रयोगमा जोड दिएका थि ए। कार्यक्रममा सहभागी सेवाग्राहीहरूलाई बचत, ऋण व्यवस्थापन, आय–व्यय सन्तुलन तथा योजनाबद्ध लगानीका विषयमा जानकारी प्रदान गरिएको थियो । ग्राहक गुनासो सुनुवाइ सत्रमा सेवाग्राहीहरूले आफ्ना समस्या, जिज्ञासा तथा सुझावहरू राखेका थिए । ग्राहकको तर्फबाट मन्तव्य राख्दै सदस्यहरू सुस्मा सिवाकोटी र विद्या महतोले यस्ता कार्यक्रमले आफूहरूलाई आर्थिक रूपमा सचेत र सक्षम बन्न मद्दत पुगेको बताएका थिए । कार्यक्रमले सेवाग्राही र संस्थाबीच आपसी विश्वास अभिवृद्धि गर्नुका साथै वित्तीय सचेतना विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ ।