सिद्धार्थ गोल सेभर एकाउन्टः सानो सुरुवात, ठूला सपनाको साथ
काठमाडौं । जीवनमा हरेक व्यक्तिको आफ्नै सपना हुन्छन्, कसैलाई राम्रो शिक्षा हासिल गर्ने, कसैलाई आफ्नै घर बनाउने, त कसैलाई विदेश घुम्ने । तर धेरैजसो अवस्थामा ती सपना चाहनामा मात्र सीमित रहन्छन् । किनभने योजनाबद्ध बचतको अभावले ती लक्ष्यहरू पछाडि धकेलिँदै जान्छन् । यही वास्तविकतालाई सहज र व्यवस्थित बनाउन सिद्धार्थ बैंकले ल्याएको छ ‘सिद्धार्थ गोल सेभर एकाउन्ट’ । यो त्यस्तो आधुनिक बचत योजना हो, जसले सानो–सानो रकमलाई जोड्दै ठूला लक्ष्य पूरा गर्ने बाटो देखाउँछ । जसले व्यक्तिका सपना क्रमशः निर्माण गर्ने वित्तीय यात्रा तयार गर्छ । बैंकका अनुसार यो योजना विशेष गरी त्यस्ता व्यक्तिहरूका लागि डिजाइन गरिएको हो, जसले आफ्नो आम्दानी अनुसार नियमित रूपमा बचत गर्दै भविष्य सुरक्षित बनाउन चाहन्छन् । सिद्धार्थ बैंकमा बचत खाता भएका सबै व्यक्तिगत ग्राहकहरूले यो सुविधा सहज रूपमा उपयोग गर्न सक्ने बैंकले जनाएको छ । यसले बचतलाई जटिल प्रक्रियाबाट हटाएर सरल, डिजिटल र लक्ष्य केन्द्रित बनाउने बैंकको भनाइ छ । बैंकका अनुसार यो योजना पूर्ण रूपमा डिजिटल भएकाले ग्राहकले शाखामा नगई घरमै बसेर मोबाइल बैंकिङमार्फत खाता खोल्न र व्यवस्थापन गर्न सक्नेछन् । यस योजनाअन्तर्गत ग्राहकले बैंकले प्रकाशित गरेको १ वर्षे मुद्दती खाताको ब्याजदरअनुसार प्रतिफल प्राप्त गर्नेछन् । हाल १ वर्षे मुद्दती खाताको ब्याजदर ३.२५ प्रतिशत रहेको बैंकले जनाएको छ । ग्राहकहरूले मासिक न्यूनतम १ हजार रुपैयाँदेखि अधिकतम १ लाख रुपैयाँसम्म बचत गर्न सक्ने व्यवस्था गरिएको छ । आम्दानीअनुसार बचत गर्न सकिने भएकाले यो योजना सबै वर्गका ग्राहकका लागि उपयोगी हुने बैंकको विश्वास छ । त्यस्तै, ग्राहकले आफ्नो लक्ष्यअनुसार १ वर्षदेखि १० वर्षसम्मको अवधि छनोट गर्न सक्नेछन् । यसले छोटो तथा दीर्घकालीन दुवै वित्तीय योजना बनाउन सहज बनाउने बताइएको छ । मोबाइल बैंकिङ एपमा लगइन गरी ‘ईजी बैंक’ भित्रको ‘गोल सेभर’ विकल्पमार्फत लक्ष्य निर्धारण गरेर बचत सुरु गर्न सकिने व्यवस्था गरिएको छ । विवरण पुष्टि गरेपछि बचत प्रक्रिया तुरुन्तै सुरु हुन्छ । योजनामा स्वचालित रिमाइन्डर सुविधा पनि राखिएको छ, जसले किस्ता तिर्नु अघि ग्राहकलाई जानकारी गराउँछ । साथै, स्ट्यान्डिङ इन्स्ट्रक्सन सेट गरी तोकिएको मितिमा रकम स्वतः खाताबाट कटौती हुने सुविधा उपलब्ध छ । अवधि पूरा भएपछि संचित रकम स्वतः खातामा जम्मा हुने व्यवस्था गरिएको बैंकले जनाएको छ । सिद्धार्थ बैंकका अनुसार ‘सिद्धार्थ गोल सेभर एकाउन्ट’ केवल बचत गर्ने माध्यम मात्र नभई ग्राहकको सपना पूरा गर्ने दीर्घकालीन वित्तीय सहयात्री हो । बैंकले सानो सुरुवातबाट ठूला लक्ष्य हासिल गर्न आजैबाट योजनाबद्ध बचत सुरु गर्न आग्रह गरेको छ ।
स्वास्थ्य बीमामा सक्रिय बीमित २०.५ प्रतिशतमात्रै
काठमाडौं । महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ६३औं वार्षिक प्रतिवेदनले स्वास्थ्य बीमा कार्यक्रमप्रति नागरिकको आकर्षण अपेक्षाअनुसार बढ्न नसकेको देखाएको छ । महालेखा परीक्षक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ६३ औं वार्षिक प्रतिवेदनअनुसार हाल स्वास्थ्य बीमामा सक्रिय बीमित कुल जनसंख्याको २० प्रतिशत मात्रै रहेको छ । महालेखको प्रतिवेदनअनुसार सक्रिय रूपमा स्वास्थ्य बीमामा आबद्ध परिवार कुल परिवारको ३० प्रतिशत मात्रै रहेको छ । महालेखको प्रतिवेदनले बीमा बोर्डको संरचना अस्थायी प्रकृतिको रहेको, स्रोत साधन र जनशक्तिको प्रर्याप्त व्यवस्था हुन नसकेको औंल्याएको छ । त्यस्तै, बीमितहरूको बढ्दो दाबीसँगै दाबी परीक्षण कार्य त्रुटिरहित र समयभित्र सम्पन्न गर्न चुनौतीपूर्ण रहेको देखिएको छ । प्रतिवेदनले दाबी भुक्तानीमा प्रिमियमको योगदान न्यून रहेको र सेवा प्रदायक संस्थाहरूबाट गरिएको दाबी समयमै पूर्णरूपमा भुक्तानी हुन नसकेको पाइएको छ । त्यस्तै सबै बीमितले औषधी पर्याप्त रूपमा प्राप्त गर्न नसकेको, बीमा कार्यक्रममा दोहोरोपना देखिएको, दाबी अस्वीकृति दर वृद्धि हुँदै गएको उल्लेख गरेको छ । प्रतिवेदनअनुसार सबै उमेर समूहमा बीमाको दायरा विस्तार हुन नसकेको देखिएको छ भने राष्ट्रसेवक तथा प्रतिष्ठानमा कार्यरत सबै कर्मचारीलाई बिमामा आबद्ध गर्न नसकिएको प्रतिवेदनले औंल्याएको छ । प्रदेशगत रूपमा बीमामा सहभागिता असन्तुलित रहेको लगायतका बेहोरा प्रतिवेदनमा देखिएको छ ।
कृषि बीमामा १० करोड अनुदान, ८७ लाखमात्रै भुक्तानी
काठमाडौं । बाली तथा पशुधन बीमाको अनुदान वितरणमा ढिलाइ भएको पाइएको छ । महालेखा परीक्षक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ६३ औं वार्षिक प्रतिवेदनले अनुदान वितरणमा ढिलाइ भएको पाइएको हो। प्रतिवेदनअनुसार बाली तथा पशुधन बीमा प्रिमियम अनुदान बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने निर्देशिका, २०८१ बमोजिम एक बीमा कम्पनीले ७ हजार ७०८ बीमालेखबाट ४ अर्ब ७२ करोड ४३ लाख ५६ हजारको बिमा दाबी गरेको थियो । त्यसमा कृषि विभागले रुजु गर्दा १ अर्ब ८७ करोड ७८ लाख १ हजार बीमांक कायम गरेको छ । कायम भएको बीमांकका आधारमा १२ करोड ४८ लाख ७५ हजारको ८० प्रतिशतले हुने ९ करोड ९९ लाख रुपैयाँ अनुदान दिनुपर्नेमा ८७ लाख ९० हजार मात्र दाबी भुक्तानी गरेको छ । बिमा प्रिमियम रकम सम्बन्धी कागजात समयमै रुजु गरी दाबी भुक्तानी दिनुपर्दछ । विभागले बिमा प्रिमियम अनुदानवापत यो वर्ष नेपाल बीमा प्राधिकरणलाई .१ अर्ब ४३ करोड १० लाख भुक्तानी दिएको छ । यस वर्ष पशुधन, माछा र पन्छीतर्फको बीमांक रु.३४ अर्ब ९१ करोड ६३ लाख ७३ हजार रुपैयाँ र वार्षिक बिमा शुल्क .३४१ अर्ब ५८ करोड ८३ लाख ९८ हजार रहेको छ । प्रतिवेदनअनुसार बीमा शुल्कको अनुपात बीमांक रकमको ४.५५ प्रतिशत देखिन्छ । पशुपन्छी बीमाको क्षेत्र र बीमा शुल्क बढ्दै जाँदा नेपाल सरकारको आर्थिक दायित्व बढ्दै जाने देखिएकाले बिमा शुल्क निर्धारणलाई वैज्ञानिक र अनुमान योग्य बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।