नेपाल फाइनान्सको ६.३२ लाख सेयर बिक्रीमा, मूल्य १ सय रुपैयाँ
काठमाडौं । नेपाल फाइनान्सले हकप्रद संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले हकप्रद सेयर निष्कासनपछि बाँकी रहेका संस्थापक समूहका सेयर लिलाम बिक्रीमा राखेको हो । कम्पनीले अवितरित ६ लाख ३२ हजार ९७१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । कम्पनीको उक्त सेयर आज जेठ २९ गतेदेखि बिक्री खुला भई असार १२ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको उक्त सेयरको मूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको छ । खरिद गर्न इच्छुक लगानीकर्ताहरूले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । प्रभु क्यापिटल, नेपाल फाइनान्सको केन्द्रीय कार्यालय कमलादी, बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा शाखा र प्रभु बैंकको विराटनगर, विरगंज, पोखरा, नेपालगंज, सुर्खेत र धनगढी शाखाबाट सेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
डाटामा आधारित कर्जा प्रणाली ल्याउँदै लक्ष्मी सनराइज बैंक, आइएमएससँग सहकार्य
काठमाडौं । लक्ष्मी सनराइज बैंकले साना तथा मझौला उद्यम (एसएमई) लक्षित डिजिटल कर्जा सुविधा विस्तार गर्ने उद्देश्यले आइएमएस सफ्टवेयर प्रालिसँग सहकार्य गरेको छ । नेपाल राष्ट्र बैंकको डिजिटल लेन्डिङ मार्गदर्शनअनुसार गरिएको यस सहकार्यपछि बैंकका एसएमई ग्राहकहरूले छिट्टै अनलाइन प्रक्रियामार्फत कर्जाका लागि आवेदन दिन र स्वीकृति प्राप्त गर्न सक्नेछन् । बैंकका अनुसार उक्त सुविधा लिनका लागि उद्यमहरूले आफ्नो व्यवसायमा इन्टरप्राइज रिसोर्स प्लानिङ प्रणाली प्रयोग गरेको हुनुपर्नेछ । साथै, आइएमएस सफ्टवेयरमा आबद्ध भई आवश्यक मापदण्ड पूरा गरेका व्यवसायहरू मात्रै यस योजनामा सहभागी हुन सक्नेछन् । सहकार्यअन्तर्गत आइएमएस सफ्टवेयरले प्राविधिक सेवा प्रदायकका रूपमा डिजिटल लेन्डिङ प्लेटफर्म उपलब्ध गराउनेछ । यस प्लेटफर्ममार्फत उद्यमहरूले आफ्नो इरपी प्रणालीमा रहेको व्यावसायिक तथ्यांकका आधारमा कर्जा आवेदनदेखि स्वीकृतिसम्मको प्रक्रिया डिजिटल माध्यमबाट पूरा गर्न सक्नेछन् । यस व्यवस्थाले कर्जा प्रक्रिया थप सरल, छरितो र पारदर्शी बन्ने अपेक्षा गरिएको बैंकले जनाएको छ । साथै, व्यवसायहरूलाई आवश्यक वित्तीय स्रोतमा सहज पहुँच दिलाउने विश्वास गरिएको छ । बैंकका अनुसार यो पहलले एसएमई क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्नुका साथै व्यवसायहरूलाई डिजिटल प्रणाली अपनाउन प्रेरित गर्नेछ । डाटा-आधारित मूल्याङ्कन प्रणालीमार्फत कर्जा स्वीकृति प्रक्रिया अझ प्रभावकारी बन्ने भएकाले यसले उद्यमहरूको दिगो विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ । लक्ष्मी सनराइज बैंकको बैंकिङ अनुभव र आइएमएस सफ्टवेयरको प्राविधिक क्षमताको संयोजनले कर्जा पहुँचलाई अझ सहज, छिटो र पारदर्शी बनाउँदै नेपालको डिजिटल अर्थतन्त्र सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
राष्ट्रिय वाणिज्य बैंकको डिजिटल फड्को : धितो सेवा अब अनलाइनमै
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले धितो बन्धक रोक्का तथा फुकुवा सम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ । नेपाल सरकारको शासकीय सुधारसम्बन्धी कार्यसूची अन्तर्गत नतिजामा आधारित शासकीय व्यवस्थापन लागू गर्दै नागरिकलाई छिटो, सहज तथा पूर्वानुमानयोग्य समयभित्र सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले उक्त सेवा सुरु गरेको हो । यस प्रणालीले सेवा प्रक्रियालाई मुहारविहीन, समयबद्ध र पूर्ण रूपमा डिजिटल बनाउने लक्ष्य राखेको बैंकले जनाएको छ । बैंकका अनुसार हालसम्म ८०० भन्दा बढी धितो बन्धक रोक्का तथा फुकुवा कार्य यही अनलाइन प्रणालीमार्फत सम्पन्न भइसकेका छन् । यसअघि भूमि व्यवस्थापन तथा अभिलेख विभाग र बैंकबीच यससम्बन्धी समझदारी भएपछि सेवा कार्यान्वयनमा ल्याइएको हो । अनलाइन प्रणालीमार्फत धितो रोक्का तथा फुकुवा गर्दा प्रक्रिया छिटो, पारदर्शी र सहज हुनुका साथै समय र खर्च बचत हुने तथा ग्राहक सन्तुष्टि बढ्ने अपेक्षा गरिएको छ । वि.सं. २०२२ सालमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल सातै प्रदेशका ७७ जिल्लामा ३१५ शाखा कार्यालयमार्फत कर्जा, निक्षेप, एटिएम, मोबाइल बैंकिङ लगायतका आधुनिक डिजिटल सेवा प्रदान गर्दै आएको छ ।