काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा प्रदान गरिने नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५ अन्तर्गत ‘सर्टिफिकेट अफ मेरिट’ प्राप्त गरेको छ ।
काठमाडौंस्थित होटल याक एण्ड यतीमा असार १६ गते आयोजित विशेष समारोहमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो । कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, प्रमुख वित्त अधिकृत रञ्जु लम्साल तथा वित्त विभागकी जिना लामा सहभागी थिए ।
आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, नेपाल वित्तीय प्रतिवेदन मापदण्ड तथा अन्य प्रचलित लेखा मापदण्डको प्रभावकारी पालना र संस्थागत सुशासनप्रतिको प्रतिबद्धताको मूल्याङ्कन गर्दै आईक्यानले कम्पनीलाई उक्त सम्मान प्रदान गरेको हो ।
सम्मान ग्रहणपछि निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले यो उपलब्धि सम्पूर्ण सन नेपाल लाइफ परिवारका लागि गर्व र खुसीको विषय भएको बताए। उनका अनुसार यस सम्मानले कम्पनीलाई वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादनलाई अझ सुदृढ बनाउन थप प्रेरणा र जिम्मेवारी दिएको छ ।
फुयालले यस उपलब्धिमा योगदान पुर्याउने सञ्चालक समिति, बीमित ग्राहक, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे ।
हाल सन नेपाल लाइफले देशभर १५० शाखा तथा उपशाखामार्फत जीवन बीमा सेवा प्रदान गर्दै आएको जनाएको छ । कम्पनीले शिक्षा, स्वास्थ्य र जोखिम व्यवस्थापनका क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।