सेयर बजारमा ९ अर्ब १० करोड रुपैयाँको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ अंकले घटेर २६९४ बिन्दुमा झरेको हो । नेप्सेका अनुसार ५० कम्पनीको सेयर मूल्य बढ्दा २०९ कम्पनीको मूल्य घटेको हो । ९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  आइतबार ३२९ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १० करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै एसवाई प्यानलको ५३ करोड, राधी विद्युतको ३८ करोड, युनियन हाइड्रोपावरको ३६ करोड र शिव श्री हाइड्रोपावरको ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  

आरविवि मर्चेन्ट बैंकिङ ११औँ वर्षमा प्रवेश, ईपीएस २८.८७ रुपैयाँ पुग्यो

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापित आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले १०औँ वर्ष पूरा गरी ११औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा बिहीबार वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष सरस्वती अधिकारीको सभापतित्वमा माघ १५ गते यल्लो पगोडा होटल, काठमाडौंमा सम्पन्न कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले स्वागत मन्तव्य दिँदै कम्पनीको संक्षिप्त वित्तीय विवरण प्रस्तुत गरे । उनका अनुसार आरविवि मर्चेन्ट बैंकिङको प्रतिशेयर आम्दानी (ईपीएस) आर्थिक वर्ष २०७३/७४ मा ०.३५ रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा २८.८७ रुपैयाँ पुगेको छ । त्यसैगरी नेटवर्थ पनि २०७३/७४ मा १००.७५ रुपैयाँ रहेकोमा २०८१/८२ मा १३७.८५ रुपैयाँ कायम भएको छ । कुल आम्दानीमा आर्थिक वर्ष २०७३/७४ देखि २०८१/८२ सम्म आइपुग्दा २,२२१.६५ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ । आर्थिक वर्ष २०८१/८२ मा २० प्रतिशत नगद लाभांशसहित कुल ७३.६६ प्रतिशत नगद लाभांश राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई प्रदान गरिएको जानकारी पनि कार्यक्रममा दिइयो । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कोष प्रवर्द्धक तथा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड कोष व्यवस्थापक रहेको आरविवि म्युचुअल फन्ड अन्तर्गत हाल आरविवि म्युचुअल फन्ड–१, आरविवि म्युचुअल फन्ड–२ र आरविवि फोकस–४० गरी तीन सामूहिक लगानी योजना सञ्चालनमा छन् । आर्थिक वर्ष २०८१/८२ मा आरविवि म्युचुअल फन्ड–१ ले २० प्रतिशत र आरविवि म्युचुअल फन्ड–२ ले १३ प्रतिशत नगद लाभांश इकाइधनीहरूलाई वितरण गरेको छ । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्याकुरेलले कम्पनीका भावी योजना र चुनौतीबारे समेत प्रस्तुति दिएका थिए । सो अवसरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका शाखामध्ये उत्कृष्ट हितग्राही खाता खोल्ने सुर्खेत, कीर्तिपुर, बानेश्वर, सल्लेरी र इटहरी शाखाका प्रमुखहरूलाई सम्मान गरिएको थियो । साथै आरविवि मर्चेन्ट बैंकिङको लगानी व्यवस्थापन सेवामार्फत उत्कृष्ट लगानी गर्ने दुई जना ग्राहकलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा कम्पनीका सञ्चालकहरू दुर्गा कुमारी कँडेल, रामकुमार थापा, भीमप्रसाद घिमिरे, कृष्ण श्रेष्ठ र नरेशजंग थापा सहभागी थिए । विशेष अतिथिका रूपमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल तथा सिडिएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रविण पन्दाक उपस्थित थिए । यसका साथै सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक तथा आरविवि मर्चेन्ट बैंकिङका पूर्व अध्यक्ष कबिराज अधिकारी, पूर्व अध्यक्ष किरणकुमार श्रेष्ठ, पूर्व प्रमुख कार्यकारी अधिकृत डा. रमेश कुमार भण्डारी, आरविवि म्युचुअल फन्डका कोष सुपरिवेक्षक सीए मधुवीर पाण्डे, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी युनियनका अध्यक्षहरू, केन्द्रीय कार्यालयका विभागीय प्रमुख तथा उपप्रमुख, काठमाडौं उपत्यकाभित्रका सम्पूर्ण शाखा प्रमुखहरू तथा इटहरी र सुर्खेत शाखाका प्रमुखहरू सहित कम्पनीका कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सकंटमा

पर्वत । लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा जिल्लाको एकमात्र सुविधासम्पन्न प्रदेश अस्पताल पर्वत संकटमा परेको छ । स्वास्थ्य बीमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र प्रदेश अस्पतालले रु तीन करोडभन्दा बढी भुक्तानी पाउन नसकेको हो । गत आर्थिक वर्षदेखिको स्वास्थ्य बीमा तथा ‘डायलायसिस’बापतको रु तीन करोड बढी रकम भुक्तानी लिन नसक्दा अस्पतालका क्रियाकलाप प्रभावित बनेको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डीराज पौडेलले जानकारी दिए ।  अस्पतालले स्वास्थ्य बीमा गरेका बिरामीहरूको परीक्षण गरेबापत सरकारले उक्त रकम भुक्तानी गर्नुपर्ने हुन्छ । तर सरकारले समयमा रकम भुक्तानी नदिँदा भुक्तानी रकम बढ्दै गएको उनले बताए । स्वास्थ्य बीमाको रकम भुक्तानी नपाँउदा औषधि तथा उपकरण खरिद, कर्मचारीहरूको तलब, भत्ता भुक्तानी तथा अन्य नियमित काम व्यवस्थापनमा समस्या परेको डा पौडेलले बताए । रकम भुक्तानीका लागि पटकपटक माग गर्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ । स्वास्थ्य बीमा गरेका बिरामीहरू सामान्य समस्या पर्दा पनि अस्पताल आइपुग्नुहुन्छ, उनीहरूलाई सेवा दिनै पर्छ, तर मन्त्रालयले भुक्तानी दिन ढिलाइ गर्दा ती सेवाग्राहीलाई आवश्यक औषधि, सहायता सामग्रीलगायत ल्याबसम्बन्धी सेवा दिन समस्या भइरहेको छ । अस्पताल व्यवस्थापन समितिको कोषवाट जेनतेन अहिलेसम्म व्यवस्थापन गरिएको भए पनि अब सङ्कट सृजना हुन थालेको उनको भनाइ छ ।  डा. पौडेलले भने, 'सरकारबाट बीमाको रकम भुक्तानी नआउँदा औषधि खरिद प्रक्रियासमेत अवरोध भइरहेको छ ।' जिल्लामा स्वास्थ्य बिमामा आवद्ध भएका झन्डै ४५ प्रतिशत नागरिकले अस्पतालबाट सेवा लिने गरेका छन् । सरकारले देशभरका सबै अस्पतालका लागि तोकेको दररेटको रकम दिने गरेको भए पनि त्यो रकम बर्सेनि भुक्तानी लिन समस्या पर्ने गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष याबहादुर परियारले बताए । स्वास्थ्य बिमा बोर्ड अस्पतालबाट प्राप्त बिल भर्पाइका आधारमा उक्त रकम स्वास्थ्य मन्त्रालयमा माग गरिएको भए पनि भुक्तानी नआउँदा अस्पताल सङ्कटमा पर्न थालेको उनको भनाइ छ । एक परिवारका लागि रु तीन हजार ५०० को प्रिमियम भुक्तानी गर्दा पाँच जनाका लागि सरकारले रु एक लाखबराबरको बिमा रकम भुक्तानी दिने गर्दछ । पाँच जनाभन्दा बढी सदस्य रहेका साधारण परिवारको हकमा प्रतिसदस्य थप रु ७०० योगदान रकम बुझाउनुपर्नेछ र उपचार सुविधामा रु एक लाखमा २० हजारका दरले थप्दै प्रतिवर्ष अधिकतम रु दुई लाखसम्मको उपचार सुविधा पाउने प्रावधान छ । केही दिनअघि अस्पताल निरीक्षणमा आएकी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमलाई बिमाको रकम भुक्तानी उपलब्ध गराउन ज्ञापनपत्र बुझाइएको थियो । सो अवसरमा मन्त्री गौतमले देशभरका अस्पतालहरू बिमाबापतको रकम भुक्तानी नपाएर समस्यामा परेको जनाउँदै सरकारले विभिन्न स्रोत खोजेर बजेट व्यवस्थापनमा लागेको जानकारी दिए ।