जीवन बिमा कम्पनीको ८१ अर्ब वित्तीय संस्थाको मुद्दती निक्षेपमा , ८६ मुद्दती निक्षेपमा
काठमाडौं २४, कात्तिक । लगानीको अन्य विकल्प नहुँदा जीवन बिमा कम्पनीहरूको ठूलो रकम बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा थुप्रिएको छ । बिमा समितिको तथ्यांकअनुसार गत आर्थिक वर्ष ९२०७२/७३० को अन्त्यसम्ममा कम्पनीहरूले ८१ अर्ब ३४ करोड रुपैयाँ वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गरेका छन् । यो रकम कम्पनीहरूको कुल लगानीको ८६.५९ प्रतिशत हो । बिमा समितिले बिमा कम्पनीहरूलाई लगानी गर्न निश्चित क्षेत्र तोकिदिएको छ । त्यस्तै, उक्त क्षेत्रमा सीमित लगानी गर्न समेत निर्देशन दिएको छ । समितिको प्रावधानअनुसार वाणिज्य बैंकको मुद्दती निक्षेपमा तथा अल्पकालीन लगानीमा कम्पनीहरूले कुल लगानी रकमको ३५ प्रतिशतमा नघट्ने गरी लगानी गर्नुपर्नेछ । तर, यस्तो बैंकमा लगानी गर्दा बैंक कम्तीमा ५ वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्नेछ । त्यस्तै, नियमित लेखा परीक्षण गराई घटीमा ३ वर्षसम्म नाफामा रहेको वाणिज्य बैंकमा कम्पनीहरूले कुल लगानी रकमको बढीमा १५ प्रतिशतसम्म लगानी गर्न पाउँछन् । सञ्चालनमा आएको ५ वर्ष नपुगेका वाणिज्य बैंकको हकमा भने औचित्यको आधारमा कुल लगानी रकमको बढीमा ५ प्रतिशतसम्म एउटै वाणिज्य बैंकको मुद्दती निक्षेप तथा अल्पकालीन लगानीमा लगानी गर्न सकिनेछ । कम्पनीहरूले कुल लगानी रकमको १५ प्रतिशतमा नबढ्ने गरी विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्नुपर्छ । लगानी गर्दा कम्तीमा ५ वर्षसम्म सञ्चालनमा आई नियमित लेखा परीक्षण गराई घटीमा ३ वर्षसम्म नाफामा रहेको विकास बैंकमा कुल लगानी रकमको बढीमा ५ प्रतिशतसम्म लगानी गर्न सक्नेछन् । सञ्चालनमा आएको पाँच वर्ष नपुगेका विकास बैंकको हकमा औचित्यको आधारमा कुल लगानी रकमको बढीमा २ प्रतिशतसम्म एउटै विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्न सक्दछन् । वित्त कम्पनीको मुद्दती निक्षेपमा भने कम्पनीले आफ्नो कुल लगानी रकमको १० प्रतिशतमा नबढ्ने गरी लगानी गर्नुपर्नेछ । यसका लागि कम्पनी कम्तीमा पाँच वर्षदेखि सञ्चालन रहेको संस्थामा कुल लगानी रकमको बढीमा ३ प्रतिशतसम्म र पाँच वर्ष नपुगेका वित्त कम्पनीको हकमा औचित्यको आधारमा कुल लगानी रकमको बढीमा १ प्रतिशतसम्म एउटै वित्त कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न गर्नुपर्नेछ । जीवन बिमा कम्पनीले बिमितबाट आर्जन गरेको बिमा शुल्कलाई नै विभिन्न क्षेत्रमा लगानी गर्दछन् । यसरी लगानी गरिएको क्षेत्रबाट प्राप्त भएको प्रतिफलको आधारमा नै विमितहरूले प्रतिफल प्राप्त गर्दछन् । कारोबार दैनिकबाट ।
सिद्धार्थ इन्स्योरेन्सले ३० प्रतिशत बोनस सेयर दिने, १० लाख ३४ हजार कित्ता बोनस सेयर दिने प्रस्ताव
काठमाडौं २२, कात्तिक । सिद्धार्थ इन्स्योरेन्सले ३० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको यही कात्तिक १९ गते बसेको संचालक समितिको बैठकले वोनस सेयर दिने निर्णय गरेको छ । यो बीमा कम्पनीले दिने बोनस सेयरको जानकारी सोमबार नै नेपाल स्टक एक्सचेन्जलाई दिएको छ । सिद्धार्थ इन्स्योरेन्सको नेप्सेमा ३४ लाख ४८ हजार ५ सय कित्ता शेयर सूचिकृत छ । यो कम्पनीको प्रति कित्ता शेयर बजारमा २५ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । यो कम्पनीले १० करोड ३४ लाख ५५ हजार रुपैयाँ बराबारको १० लाख ३४ हजार ५५० कित्ता बोनस सेयर दिने भएको छ । कम्पनीले गत आर्थिक बर्ष २० करोड रुपैयाँ नाफा गरेको थियो । सोही नाफाबाट बोनस सेयर दिएर चुक्ता पूँजी बढाउने भएको छ ।
विजय लघुवित्तको २० प्रतिशत लाभांश राष्ट्र बैंकबाट स्वीकृत
काठमाडौं, १८ कात्तिक । विजय लघुवित्त वित्तिय संस्थाको २० प्रतिशत लाभांश दिने प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृत दिएको छ । कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ५ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने प्रश्ताव राखेको थियो । राष्ट्र बैंकले स्वीकृति दिएको कम्पनीको सो प्रस्तावलाई कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्नेछ ।