ग्लोबल आइएमई बैंक र मेटलाईफ इन्सोरेन्सबीच बैंकाइन्सोरेन्स सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेड र मेटलाईफ इन्सोरेन्स कम्पनीबीच बैंकाइन्सोरेन्स सम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई जीवन बीमा सेवा दिने उद्धेश्यले उक्त इन्सोरेन्ससंग सो सम्झौता गरेको हो । सो सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल तथा मेटलाईफ इन्सोरेन्स कम्पनीको तर्फबाट उपाध्यक्ष एंव कार्यकारी निर्देशक निर्मल काजी श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात ग्लोबल आइएमई बैंकका ग्राहकहरुले बैंकका सम्पूर्ण शाखा मार्फत छिटो, छरितो तथा सहजरुपमा बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् । बैंकले हाल १०८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२५ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५३ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् । त्यस्तै, बैंकले अत्याधुनीक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि, बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा कान्तिपथमा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंको कान्तिपथमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन कम्पनीको अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपजंग पाण्डेले गरेका हुन् । यस शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग पुग्ने कम्पनीको विश्वास रहेको छ । हालसम्म यस कम्पनीले आफ्ना २५ वटा शाखा सञ्जाल मार्फत ग्राहकहरुलाई जीवन बीमा सेवा प्रदान गरिरहेको छ । हाल कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । यस कम्पनीले निकट भविष्यमा ७५ करोड रुपैयाँको सर्वसाधारणको लागी सेयर जारी गरी चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने जनाएको छ ।

सानिमा लाइफ इन्स्योरेन्सको कारोबार शुरु, ६० करोडको साधारण सेयर निष्काशन गर्ने साधारणसभाको निर्णय

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले मंसिर २२ गते औपचारिक रुपमा जीवन बीमा व्यवसाय शुभारम्भ गरेको छ । बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईले सो कम्पनीको उद्घाटन गरेका छन् । सानिमा बैक तथा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा व्यवसायिक अनुभव हासिल गरेका प्रतिष्ठित गैर आवसिय नेपालीहरुको समूहले सानिमा लाईफ इन्स्योरेन्सको प्रबद्र्धन गरेका छन् । कम्पनीको कार्य शुभारम्भसँगै सानिमा दीर्घायु (सावधिक तथा आजीवन) जीवन बीमा योजना, सानिमा धनपति (अग्रिम भुक्तानी) जीवन बीमा योजना शुरु गरेको छ । भविष्यमा वीमा विशेषज्ञ बीमांकीबाट तर्जुमा गरिएका सर्वसाधारणले रुचाएका नविनतम जीवन बीमा योजनाहरु जन समक्ष प्रस्तुत गरि जीवन बीमाको क्षेत्रमा अग्रणी भुमिका निभाउने लक्ष्य लिएको कम्पनीले जनाएको छ । यस कम्पनीको अधिकृत पुँजी ३ अर्व र जारी पुजी २ अर्ब रुपैयाँ रहेको छ । जारी पुजी मध्ये १ अर्ब ४० करोड चुक्ता भैसकेको छ । निकट भविष्यमा जारी पुजीको ३० प्रतिशत अर्थात रु ६० करोड सर्वसाधारणमा सेयर बिक्री गरी चुक्ता पुजी रु २ अर्व कायम गरिने कम्पनीले जनाएको छ । त्यसैगरी २२ गते नै सम्पन्न कम्पनीले आफनो प्रथम वार्षिक साधारण सभाबाट कुमारप्रसाद कोइरालाको अध्यक्षतामा चार सदस्यीय सञ्चालक समिति चयन भएको छ । कम्पनीको सदस्यहरुमा घनश्याम थापा, डा. सुवर्णदास श्रेष्ठ र बद्री विशाल घिमिरे रहेका छन् ।